Loktantra Khabar National Weekly
Ad

महानगरका मेयर सिंहलाई कारबाही गर्न कांग्रेसको माग

लोकतन्त्र खबर
१२ फाल्गुन २०८०

मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अरुको छोरीलाई आफ्नो छोरी बनाई किर्ते कागज खडा गरी नागरिकता दिलाएको सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले शुक्रबार जारी गरेको विज्ञप्तिमा मेयर सिंहमाथि लगाइएको आरोप सहितको उजुरी उपर छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेस पर्साका प्रवक्ता पाण्डेयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘ देशको शासन व्यवस्था संविधान र कानुन बमोजिम चल्नु पर्दछ, कानुन भन्दा माथि कुनै संस्था वा व्यक्ति रहनु हुँदैन भन्ने मान्यता रहेको र कानुनको उल्लंघन गर्ने जो कोही पनि कानुन बमोजिम कारबाही र सजायको भागिदार हुनु पर्दछ, कानुन उल्लंघन गर्ने छुट कसैलाई हुनु हुँदैन ।’ झुठा विवरणको आधारमा मेयर सिंहले हुँदै नभएको छोरी भनेर एकजना किशोरी रुबिना श्रेष्ठको नागरिकता बनाई राहदानीसमेत बनाएर विदेश पठाएको आरोप सहित जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता गरिएको छ ।

मेयर सिंहकी कान्छी भनिएकी श्रीमती रीता भट्टराईले सम्बन्ध विच्छेदका लागि पर्सा जिल्ला अदालतमा दिएकी मुद्दामा संलग्न गरिएको छोरी श्रेष्ठको जन्मदर्ता किर्ते भएको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी उपर पनि कारबाही भएको छैन । प्रशासन र प्रहरीले नागरिकता र जन्मदर्ता सम्बन्धी किर्ते जालसाजी मुद्दालाई बेवास्ता गर्दै अनुसन्धान प्रकृयालाई अगाडि नबढाएको आरोप लागिरहेको बेला कांग्रेस पर्साले तत्काल सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ ,‘ नागरिकताको सम्बन्धमा सत्य तथ्य निष्पक्ष छानबिन गरी दोषी देखिएकालाई कानुनको दायरामा ल्याइ आवश्यक कारबाही प्रकृया अगाडि बढाउनका लागि नेपाली कांग्रस पर्सा सम्बन्धित सरोकारवाला सम्पूर्ण निकायहरुसंग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्: