लोकतन्त्र समाचारदाता—-
सर्लाही,फाल्गुन ११
मलंगवामा कारको ठक्करबाट एक भारतीय महिला घाइते भएकी छिन।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित विद्युत प्राधिकरण नजिकैको हुलाकी सडकमा ब्रम्हभुमी हस्पिटल आगाडी आज(शुक्रवार)बिहान करिब १० बजेको समयमा कारको ठक्करबाट १ जना भारतीय महिला गम्भीर घाइते भएकी हुन।
घाइते हुनेमा भारतको सोरवर्षा प्रखण्ड अन्तर्गत चक्की मयुरवा बस्ने जितेन्द्र रायकी श्रीमती अन्दाजी २८ वर्षकी पुनम देवी राय रहेकी छिन् ।निजको घटना स्थल नजिकैको ब्रम्हभुमी हस्पिटलमा उपचार भइरहेको छ । उनी सोही हस्पिटलमा आफ्नो छोराको उपचार गराउन आएकी थिइन ।
उपचारार्थ छोराको कुरुवा बस्दै आएकी पुनम बिहान दाँत माझ्नको लागि सडक छेउमा रहेको आँपको रुखबाट दतुवन टिप्न सडक छेउको नाला माथिको स्लैपमा उभिरहेकी थइन्। त्यतिकैमा पुर्व तर्फबाट(पद्मरत्न विद्यालय)तिब्र गतिमा आएको बा २० च ६७०८ नम्बरको कार एकाएक मोडेपछि नाला माथिको स्लैप माथि उभिरहेकी पुनमलाई ठक्कर दिएको महिलाका ससुरा शिवशंकर राय र प्रत्यक्षदर्शीहरुले बताएका छन् । कार दुई फन्का खाएर नालामा खसेको थियो।
दुर्घटना भए लगत्तै चालकसहित अर्का एक युवक पनि फरार भएकोले निजहरुको पहिचान हुन नसकेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
महिलाका पति जितेन्द्र रायले छोराको उपचार गराउन आएको अवस्थामा आफुपनि गम्भीर घाइते भएर सोही अस्पतालमा उपचार गराउनु परेको दुखेसो पोख्दै आफ्नो आर्थिक अवस्था राम्रो नभएको र मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकोले दोषीमाथि कडा कार्यवाही गरि क्षतिपूर्ति दिलाइ दिन प्रशासन सँग आग्रह गरेका छन्।

