Loktantra Khabar National Weekly
Ad

सडकमा लडेका दुई युवकको गाडीको ठक्करबाट मृत्यु

लोकतन्त्र खबर
९ फाल्गुन २०८०

घोराहीमा दुर्घटनापछि लडिरहेका दुई जना युवकको बोलेरोले ठक्कर दिँदा मृत्यु भएको खुलेको छ।

रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको बुधबार बिहान मृत्यु भएको थियो।

सुरूमा मोटरसाइकलले साइकललाई ठक्कर दिएपछि दुई जना सडकमा लडिरहेको र उनीहरूलाई विपरीत दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिएको खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले सेतोपाटीलाई बताए।

‘साइकललाई ठक्कर दिएपछि सडकमा लडिरहेका मोटरसाइकलमा सवार दुई युवालाई विपरीत दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिएको तथ्य अनुसन्धानबाट खुल्यो,’ डिएसपी मल्लले भने।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकलमा सवार पुन र भण्डारी घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर साइकल यात्रुलाई जोगाउन खोज्दा सकडमा लडेको र उनीहरूलाई घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर दिएको डिएसपी मल्लले जानकारी दिए।

बोलेरो चालक रोल्पाको त्रिवेणी गाउँपालिका–२ का २९ वर्षीय निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेलाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको केहीबेरमै पौने ७ बजेतिर दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकमध्ये भण्डारी रोल्पाको रुन्टिगढी गाउँपालिका वडा–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक हुन्। तुलसीपुरमा बिबिएसमा अध्ययनरत पुन शिक्षक भण्डारीलाई मोटरसाइकलमा घोराहीसम्म पुर्‍याउन गएको समयमा दुर्घटनामा परेका हुन्। स्रोतका अनुसार भण्डारी किनेको जग्गा पास गर्न दाङ आएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: