काठमाडौं फागुन ७, नेपाल बास्केटबल संघ (नेबा)ले नेपाली राष्ट्रिय बास्केटबल टिम निर्माणका लागि खुल्ला खेलाडी छनोट गर्ने भएको छ ।
महिला र पुरुष दुवैको नयाँ राष्ट्रिय टिम निर्माण गर्नका लागि नेबाले मंगलबारदेखि खेलाडी छनोट प्रक्रिया सुरु गर्ने नेबाका अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए ।
पछिल्लो बास्केटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता कम भएको अवस्थामा राष्ट्रिय टिमका खेलाडीहरुले धेरै खेल खेल्न पाएका छैनन् ।
त्यसैले अब नयाँ टिम निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए । ‘राष्ट्रिय टिमका केही खेलाडीहरु अब करियरको अन्तिमतिर पुगिसकेका छन् । नयाँ युवा खेलाडीहरु पनि आएका छन् । सिनियर केही खेलाडी र यू१८ देखि यू२३ सम्मका खेलाडीहरुको मिश्रण गरेर नयाँ राष्ट्रिय टिम निर्माण गर्न लागेका छौँ ।’ अध्यक्ष गुरुङले भने, ‘त्यसैका लागि हामीले’ ओपन ट्राई आउट’ गर्न लागेका हौँ । जहाँ मुख्य प्रशिक्षक प्रशिक्षकहरुले खेलाडीको क्षमता हेर्नेछन् ।’
खुल्ला छनोट मंगलबारदेखि सुरु गरिने र केही दिन चल्ने गुरुङले जानकारी दिए । इच्छुक खेलाडीहरुले नाम दर्ता गरेर प्रशिक्षकमा सहभागि हुन सक्नेछन् ।
यसबाट पहिलो चरणमा महिला र पुरुष दुवैको करिब ३०-३० खेलाडी छान्ने नेबा अध्यक्ष गुरुङले बताए । ‘पहिलो चरणमै राष्ट्रिय छान्ने होइन ।त्यसमा हामी करिब ३० खेलाडी छनोट गर्नेछौँ । त्यसबाट उहीहरुको क्षमता हेर्दै राष्ट्रिय टिमको क्याम्पका लगि कम्तीमा १६-१७ खेलाडी छनोट गर्नेछौँ र उनीहरुलाई वर्षैभरी ट्रेनिङ दिने योजना छ ।’
यो छनोट प्रक्रिया फुल कोर्टको लागि मात्र हुनेछ । खेलाडीहरुको छनोट मंगलबार अपरान्ह ४ बजेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने नेबाले जनाएको छ ।
यस वर्ष २०२४ मा नेपालले कम्तीङ्गा २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारी गरिरहेको छ ।
बास्केटबलको अन्तर्राष्ट्रिय संस्थाले फिबाले आफ्नो सार्वजनिक गरे पनि नेपालले कुन प्रतियोगिता खेल्ने थाहा हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
यस्तै नेबाले थ्री बाई थ्री को राष्ट्रिय टिम निर्माणको लागि महिला र पुरुषको प्रतियोगिता गर्दैछ । राष्ट्रियस्तरको उक्त खुल्ला प्रतियोगिता महिला र पुरुष दुवैको हुनेछ । थ्री बाई थ्री प्रतियोगिता मार्च ९ देखि ११ सम्म राखेपको सेमिकभर्डहलमा हुनेछ ।
यस्तै यू१६ र यू१८ को राष्ट्रिय टिम पनि निर्माण गर्ने प्रक्रियामा रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
यसैगरी नेबाले आफ्नो वार्षिक क्यालेन्डरको आउटलाइन बनाएको र त्यसमा छलफल गरी मुर्तरुप दिएर छुटै सार्वजनिक गरिने पनि गुरुङले जानकारी दिए । अनलाइन खबर