Loktantra Khabar National Weekly
Ad

भूमीहिनको माग सम्बोधन गर्न माग गर्दै लालबन्दी नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

लोकतन्त्र खबर
७ फाल्गुन २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,फाल्गुन ७

लालबन्दी नगरपालिकाले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गरि व्यवस्थित बसोबासको व्यवस्था मिलाइदिन माग गर्दै चार बुँदे ज्ञापनपत्र बुझाएको छ । लालबन्दीका नगर प्रमुख बासुदेव अधिकारीसहितको टोलीले आइतवार प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय सिंहदरबारलाई सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला मार्फत ज्ञापनपत्र बुझाइएको हो ।

वन ऐन र भूमी ऐन बासिन्दा जग्गा दर्ता कार्यमा ढिलासुस्ती भएको बुझिएकोले बाझिएका कानुनी व्यवस्थालाई खारेजी,भूमीहिन दलित,भूमीहिन सुकुम्बासीको कार्य अन्तर्गत लालबन्दी नगरपालिका वडा न-९ को स्थानीय तहले र नापी टोलीबाट पठाइएको कागजात राष्ट्रिय भूमी आयोग जिल्ला समिति सर्लाहीबाट जग्गाधनी दर्ता प्रमाणपुर्जा तयार गरि वितरण गर्न खोज्दा मधेस प्रदेश उद्योग पर्यटन तथा बन मन्त्रालयको मिति २०८० बैशाख ७ गतेको पत्र र मिति २०७९ साल चैत्र २९ गतेको टिप्पणी आदेश निर्णयबाट रोक्का गरिएको कार्य फुकुवा,अव्यवस्थित बसोबासीको जग्गा दर्ता प्रक्रिया अगाडी बढाउनुपर्ने र विगतका आयोग,समिति र कार्यदलका बाँकी कामहरु सम्पन्न गर्ने सम्बन्धि कार्यविधि २०७८ परिच्छेद २ मा बाँकी कामहरु सम्पन्न गर्ने गराउने सम्बन्धि (३,४,५,६,७)ले दिएको अधिकार प्रयोग गरि लालबन्दी नगरपालिकाको वडा न-६,८,९ र १० को अधुरा अपुराको कार्य अघि बढाउनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको नगर प्रमुख अधिकारीले बताए।

साथै सोही विज्ञप्ति मार्फत विगतमा भएका त्रुटि र कमिकमजोरीका कारण जनमानसमा पर्न गएको आसंका अन्त्य गर्न र करोडौं खर्च गरेर नगरपालिकाले सम्झौता बमोजिम तयार गरेका श्रेस्ता अनुसारका जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)वितरण गर्ने व्यवस्था शिघ्र मिलाउन यथोचित निर्देशन सरोकार मन्त्रालय तथा आयोगलाई दिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: