Loktantra Khabar National Weekly
Ad

किसानको जग्गा हडपनेलाई कार्यवाही गर्छौ – मिटर व्याज संघर्ष समिति

लोकतन्त्र खबर
४ फाल्गुन २०८०

सोम दियाली—-
सर्लाही फाल्गुन ४

सर्लाहीको चन्द्रनगरका किसान रामचन्द्र चौधरीले लेखनदासले हडपेको आफ्नो नम्बरी जग्गा फिर्ता दिलाई दिन माग गरेका छन् ।
उनले मालपोत कार्यालय सर्लाहीमा लेखनदासको काम गर्ने चन्द्रनगर गाउँपालिका ३ का हेमलाल महतो कोइरीले जालसाजी गरी हडपेको आफ्नो एक विगाह सात कट्ठा सात धुर नम्बरी जग्गा फिर्ता दिलाई दिन सबैसँग आग्रह गरेका हुन् ।

‘२०५५ सालमा मैले नगद तीस हजारमा १८ कट्ठा जग्गा कोइरीलाई सुतभर्नामा दिएको थिएँ । तर उनले २०५९ सालमा एकाएक मेरो अर्को कित्ताको एक विगाह सात कट्ठा सात धुर जग्गा तोत्न थाले । २०६६ सालमा मलाई थाहा भयो कि उनले सो जग्गा आफ्नो नाममा गरी सकेका रहेछन् । मेरो सहमति बेगर उनले कसरी सो जग्गा आफ्नो नाममा गरे म अचम्भित भएको छु ।’ पिडित रामचन्द्र चौधरीले भने, ‘मैले पहिला पनि पटक पटक पैसा बुझाउन खोज्दा उनले लिन मानेन् । म अहिले पनि उनको पैसा तिर्न तयार छु । मेरो जग्गा उनले फिर्ता गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘मैले पास गरेर नदिएको, नबेचेको जग्गा कसरी र क–कस्को संलग्नतामा कोइरीको नाममा पास भयो ? यसको छानविन गरी किर्तेमा संलग्नहरुलाई कानून बमोजिम कार्वाही समेत होस् ।’

उनले सो जग्गा फिर्ता गराई दिन गाउँमा पटक पटक पञ्चायत समेत गरेका थिए । पञ्चायतीबाट रामचन्द्रले हेमलालको पैसा फिर्ता गर्ने र हेमलालले रामचन्द्रको जग्गा फिर्ता गर्ने भद्र सहमतिलाई समेत हेमलालले अवज्ञा गर्ने गरेका छन् ।

हेमलालले रामचन्द्र चौधरी माथि अन्याय गरेको पटक पटक पञ्चायती समेत गराएका पूर्व बबरगञ्ज गाविस अध्यक्ष ठाकुर दयाल चौधरीले बताए । हेमलाल आफै लेखनदास भएकोले उल्टा सुल्टा आदि इत्यादी गरेर रामचन्द्रको जग्गा आफ्नो बनाएको बताए । ‘म आफैले दुबै जनालाई राखेर पञ्चायती गराएको थिएँ ।

भद्रसहमति अनुसार हेमलालले मुद्धा मामिला गर्न लागेको खर्चसहित एक लाख २० हजार रामचन्द्र चौधरीबाट लिने र हेमलालले हडपेको जग्गा फिर्ता गर्ने सहमति अनुसार म आफै पनि पिडितलाई लिएर पैसा बुझाउन भनेर अदालत गएँ । तर नागरीकता ल्याएको छैन । के छैन भन्दै हेमलाल सहमतिबाट भागे ।’ ठाकुर दयालले भने, ‘बेइमानी हेमलालकै हो । समाजमा कसैले कसैमाथि अन्याय गर्न हुँदैन । समाजमा यसरी अशान्ति फैलाउनेलाई कार्वाही हुनु पर्छ । हेमलाल कार्वाहीको लागि योग्य छन् ।’

पटक पटकको पञ्चायतीलाई पनि लत्याएपछि रामचन्द्र चौधरी न्याय खोज्दै मिटर व्याज संघर्ष समितिकी अध्यक्ष रुक्मणि चौधरीलाई हारगुहार गर्न पुगे । रामचन्द्र चौधरी वास्तविक पिडित भएको र उनले न्याय पाउनु पर्छ भन्ने लागेपछि रुक्मणिले एक पटक छलफल पनि गराईन् । त्यसपछि हेमलाल सम्पर्क मै आएनन् । आफूले पटक पटक फोन गर्दा फोन पनि उठाएनन् । उनलले रामचन्द्रको केशमा राजनीतिकरण भइरहेको आफूले महसुस गरेको तर यतिकैमा हेमलाल उम्किन नसक्ने आफूले घिसारेर ल्याएर भएपनि छलफल गराएर पिडितलाई न्याय दिलाएरै छाड्ने संघर्ष समितिकी अध्यक्ष चौधरीले बताईन् । उनले केही नेता र जनप्रतिििनसमेतले रामचन्द्रको केश नहेर्न दबाव दिएको बताईन् ।

उनले सिडियो र एसपीले समेत विभिन्न नेताहरुले फोन गरेर यो केस नहेर त्यो केस नहेर भन्ने गरेको आफूलार्य सुनाएको अध्यक्ष चौधरीले बताईन् । उनले जो जो अगाडि आएपनि आफू मिटर व्याज पिडित किसानको पक्षमा लड्न नछोड्ने भन्दै रामचन्द्रलाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यता यस घटनाका जानकार बडकुर्वाका स्थानीयले पनि यो घटनामा हेमलालले नै जालसाजी गरेको र रामचन्द्र अन्यायमा परेको बताएका छन् । रामचन्द्रका छोरा अनुरुद्ध चौधरीले त कहीं कतैबाट न्याय नपाएपछि हेमलाल विरुद्ध पर्चा नै प्रकाशन गरेका छन् । यति हुँदा पनि हेमलालले भने आफसँग प्रमाण रहेको बताएका छन् ।

चन्द्रनगर ३ का वडाअध्यक्ष सिताराम महतोले पनि पिडित रामचन्द्र चौधरीलाई न्याय दिलाउनुको सट्टा हेमलाललाई नै काखी च्यापेका छन् । उनले हेमलालले नियमपूर्वक नै रामचन्द्रसँग सो जग्गा लिएको दाबी गरे । उनले भने, ‘हेमलाल मेरो भाई हो । त्यसैले त्यो जग्गा मेरै हो भन्दा नि हुन्छ । जुन रामचन्द्रलाई पैसा तिरेर लिएको जग्गा हो ।’

प्रतिक्रिया दिनुहोस्: