Loktantra Khabar National Weekly
Ad

ठमेल कुटपिट घटनामा १० वर्षसम्म कैद सजाय माग गर्दै सानुभाइसहित ७ जनाविरूद्ध मुद्दा दायर

लोकतन्त्र खबर
३ फाल्गुन २०८०

सानुभाइसहित ५ जना अझै फरार

काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा रहेको प्लेब्वाई क्लबको पार्किङमा कुटपिट गरेको घटनामा सानुभाइसहितको समूहविरूद्ध अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सानुभाइ समूहका ७ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेको हो।

माघ ६ गते बिहान अन्दाजी साढे ३ बजे क्लबको पार्किङमा छमबहादुर पुनमाथि सानुभाइको समूहले कुटपिट गरेका थिए।

नुवाकोट घर भई टोखा सूर्यदर्शन हाइट बस्ने ३३ वर्षीय सानुभाइ भन्ने युवराज गुरूङ पटकपटक कुटपिटका घटनामा पक्राउ पर्दै आएका छन्।

उनीसँगै थोते एवं विश्व तामाङ भन्ने बिसु तामाङ, मार्शल भन्ने शैलेन्द्र तामाङ, कमल तामाङ, शेरबहादुर भन्ने शेरलाल पौडेल, बिनोद तामाङ र रघु तामाङविरूद्ध मुद्दा दायर भएको हो।

उनीहरूमध्ये विश्व र मार्शलमात्रै पक्राउ परेका छन्। अन्य प्रतिवादीहरू फरार छन्।

प्रहरीमा पीडित छमबहादुरले मुलुकी अपराध संहिता, २०७४ दफा १८३ बमोजिम ज्यान मार्ने उद्योग गर्न नहुने कसुरअनुसार सजाय मागदाबी गरेका हुन्।

उक्त कसुरअनुसार १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ। सरकारी वकिलले उनीहरूविरूद्ध क्षतिपूर्ति पनि भराउन मागदाबी गरेको छ।

त्यस्तै दफा ४४ अनुसार थप सजाय समेत मागदाबी गरेको हो। सानुभाइ लगायतको समूह यसअघि पनि कुटपिटको घटनामा संलग्न भइसकेका व्यक्ति हुन्। जसकारण सरकारी वकिलले थप सजायको मागदाबी गरेको हो।

‘जघन्य वा गम्भीर कसुरमा सजाय पाएको व्यक्तिले अर्को कसुरमा गरेका निजले पछिल्लो पटक गरेको कसुरमा हुने सजायको दोब्बरसम्म सजाय हुनेछ,’ दफा ४४ मा भनिएको छ।

पीडित छमबहादुरले दिएको जाहेरी तथा कागजमा सानुभाइसँग कुनै पनि रिसिइबी नरहेको बताएका छन्।

माघ ६ गते छमबहादुर साथीहरूसँग दोहोरी साँझबाट पुन: क्लबमा गएको र त्यहाँबाट फर्किनेबेलामा पार्किङ पुग्दा सानुभाइले बोलाएको बताएका छन्।

‘मैले नचिनेका पछि नामथर थाहा भएका प्रतिवादी सानुभाइ हामी भएको ठाउँमा आएर मलाई ओइ त यता आइज काम छ भनी धम्कीपूर्ण खालका भाषाले बोलाएर केही पर लगे,’ पीडित छमबहादुरले सरकारी वकिलसमक्ष गरेको कागजमा भनेका छन्, ‘उक्त सूमहले मलाई घेरा हालेर विभिन्न धाकधम्की देखाउँदै लात्ता मुक्का, हेल्मेट, नक समेतले प्रहार गरी कुटपिट गरेका हुन्।’ सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: