Loktantra Khabar National Weekly
Ad

दोलखामा घाइते फेला परेका युवकको मृत्यु, चार जना प्रहरीको नियन्त्रणमा

लोकतन्त्र खबर
१ फाल्गुन २०८०

दोलखामा घाइते अवस्थामा फेला परेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।

गएराति करिब १ बजेतिर भिमेश्वर नगरपालिका-८ गामनागीस्थित चरिकोट-काठमाडौं सडकखण्डमा अन्दाजी २५ वर्षीय सोनाम तामाङ घाइते फेला परेका थिए।

घाइते अवस्थामा फेला परेका उनलाई प्रहरीले उपचारका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट पठाएको थियो। त्यहाँ उपचारका क्रममा मंगलबार बिहान ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दिपक खड्काले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

सोनामको शरीरमा चोटहरू र बा ८४ प १११३ नम्बरको मोटरसाइकलमा रगत लागेको देखिएको थियो।

‘केहीबीच झगडा भएको पनि छ। झगडा परी हिँडेको बेलामा दुर्घटना भएको पनि हुनसक्छ। अहिले चार जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं घटनाबारे सबै खुलिसकेको छैन।’

सोनामको शव पोष्टमर्टमका लागि राखिएको छ। पोष्टमर्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रहरीले चार जनामाथि पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: