लोकतन्त्र समाचारदाता-
सर्लाही, माघ ५ सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा एक दिनसम्म माछा-मासु तथा मदिरा बेच्न रोक लगाइएको छ ।
माघ ८ गते सोमबारका दिन मित्रराष्ट्र भारतको उत्तरप्रदेश राज्य अन्तर्गत आयोध्यामा नव निर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारेर सोही दिन मलंगवा नगरपालिकाले माछा-मासु तथा मदिरा बिक्री गर्न रोक लगाएको हो ।
राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन मलंगवा न.पा वडा न-१० स्थित तीन बिघे मैदानमा ११ हजार दिप प्रज्वलन ,सामुहिक हनुमान चालिसा पाठ,भजन किर्तन लगायतका धार्मिक कार्यक्रमहरु हुने भएकोले मलंगवा न.पा ले बिहीबार एक विज्ञप्ति जारी गर्दै माघ ८ गते सोमबार नगरपालिका क्षेत्र भित्र कुनै पनि पशुपंछी ,जिवजन्तु आदीको बध तथा माछा,मासु, मदिरा लगायतको बिक्री वितरणमा रोक लगाएको छ।
नगरपालिकाले जारी गरेको सूचनाको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही समेत गरिने नगरप्रमुख नागेन्द्र प्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

