विवादै विवादको हाम्रो समाजमा अर्का पात्र फेरि विवादमा छन्– तपस्वी भनेर चिनिएका रामबहादुर बम्जन । धार्मिक आस्थाका रूपमा अनुयायी बनाएर यौन हिंसा गरेको, ज्यान मारेको र मान्छे बेपत्ता बनाएको लगायत आरोपमा प्रहरीले खोजबिन सुरु गरेपछि चार वर्षदेखि फरार रहेका बम्जन मंगलबार पक्राउ परेका छन् भने बिहीबार उनलाई अदालतमा पेस गरिएको छ । संसारका सबै धर्मको मूल उद्देश्य मान्छे–मान्छेबीच स्नेह, सद्भाव र सम्मान बढाउनु हो ।
हिन्दु, बौद्ध, इस्लाम, किरात, इसाईलगायतका कुनै पनि धर्मले घृणा, अपमान र हिंसा सिकाउँदैन । तर, आफूलाई धर्मका प्रचारक भन्ने निश्चित व्यक्तिले अनुयायी बनाउँछन्, उनीहरूको आस्थाका आधारमा मान्छेको भावनामाथि शोषण गर्छन् । विभिन्न उपक्रमबाट सर्वसाधारणको विश्वास हात लिएका कथित धर्मगुरुले सर्वसाधारणको आस्थालाई दुरुपयोग गरेर अनाचार गर्छन् । यस्तो शृंखलाको पछिल्लो पंक्तिमा बम्जन प्रहरीद्वारा पक्राउ परेका छन् र अदालतमा उपस्थित गराइएका छन् ।
सर्वसाधारणको धार्मिक भावनालाई दोहन गरेर मोजमस्ती गर्ने मात्र होइन, आफ्नो आदेश नमान्ने आफ्नै अनुयायीमाथि नै अत्याचार गर्ने बम्जन पहिलो र सायद अन्तिम ‘धर्मगुरु’ होइनन् । धर्मलाई अघि सारेर आर्जन गरेको विश्वासलाई दुरुपयोग गर्दै प्रशंसक वा अनुयायीमाथि यौन शोषण गर्ने विभिन्न धर्मका विभिन्न व्यक्तिका हर्कत विभिन्न समयमा पर्दाफास हुँदै आएका छन् । तर, कतिपय अवस्थामा पीडितहरू बोल्न सक्दैनन् भने कतिपय अवस्थामा राज्यले पनि यस्ता आरोपी ‘गुरु’ लाई संरक्षण गर्दै आएको छ ।
वनवास बस्दै आएका बम्जन कहिले घाँस काट्न गएका महिलामाथि कुटपिट गरेको आरोपमा त कहिले आफ्नै आश्रमका आनीहरूमाथि यौन शोषण गरेको आरोपमा मुछिए । उनीमाथि आफ्नै अनुयायीको हत्या गरेको र शव बेपत्ता बनाएको सम्मका गम्भीर आरोप पनि लागे । तर, यी आरोपमाथि निष्पक्ष अनुसन्धान हुने वातावरण बनाउनुको सट्टा उनले अनुसन्धानलाई छल्दै आएका थिए । पीडितको उजुरीका आधारमा जसरी कानुनी प्रक्रिया अघि बढ्यो र ढिलै भए पनि उनी पक्राउ परे, यसले भने अपराध गर्ने जोकोही पनि उम्कन सक्दैन भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ ।
१७ वर्षअघि जंगलमा रूखमुनि ध्यानमग्न अवस्थामा भेटिएपछि चर्चामा रहेका बम्जन विवादित हुन थालेको २०६७ बाटै हो । त्यति बेला बाराको हलखोरियास्थित बुद्ध धर्मसँग मिल्दोजुल्दो भनिए पनि छुट्टै धर्म प्रवर्तन गर्ने भन्दै विभिन्न जिल्लामा आश्रम विस्तार गर्ने क्रममा बम्जनको समूहले सामुदायिक वनको जग्गा अतिक्रमण गरेको आरोप पनि छ । जंगलमा च्याउ टिप्न आएका सर्वसाधारणलाई उनी र उनका अनुयायीले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लागेको थियो । ‘लिटल बुद्ध’ का रूपमा बम्जनको चर्चा र अनुयायी बढिरहेका बेला अनुसन्धान र कानुनी कारबाही प्रक्रियामा प्रशासनले चासो दिएन ।
त्यही स्थितिको लाभ लिँदै बम्जन अनुयायीलाई यौन शोषण गर्ने, बेपत्ता पार्नेजस्ता आपराधिक काममा उद्यत भएको देखिन्छ । हलखोरियास्थित आश्रममा रहेकी आनीलाई बाल यौन शोषण गरेको उजुरीका आधारमा जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएको चार वर्षपछि मंगलबार बम्जन पक्राउ परेका हुन् । उनीविरुद्ध अरू अनुयायीलाई बेपत्ता पारेको उजुरीसमेत छ । प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट मंगलबार पक्राउ गर्ने क्रममा करिब ३ करोड ४ लाख रुपैयाँ र करिब ३१ लाख रुपैयाँ बराबर अरू १७ देशका मुद्रा बरामद गरेसँगै अवैध रूपमा विदेशी तथा नेपाली मुद्रा राखेको कसुर पनि आकर्षित भएको छ । यसबाट पनि धर्मका नाममा उनको ढोंग र वास्तविकताबीच फरक देखिएको छ ।
सार्वजनिक छवि बनाएको वा ठूलो समूहले सम्मानपूर्वक विश्वास गरिरहेको व्यक्तिले गैरकानुनी क्रियाकलाप गर्दा उजुरी गर्न हच्किने समस्या समाजमा छ । समाजले उल्टै लाञ्छना लगाउने हुनाले पीडितलाई बोल्न पनि चुनौतीपूर्ण मानिन्छ । ज–जसले हिम्मत जुटाएर आवाज उठाइरहेका छन्, उजुरी गरिरहेका छन्, तिनीहरूले भोग्नुपर्ने सामाजिक यन्त्रणको कथा छुट्टै छ । यस्ता समस्या आइपरे प्रहरीकहाँ जान अरूलाई पनि प्रेरित गर्नुपर्छ ।
जुनसुकै पन्थ वा मार्ग भए पनि धर्मले हिंसा र विभेदलाई स्विकार्दैन, सधैं सद्भाव र सहिष्णुतामा जोड दिन्छ । तर, कुत्सित नियतका व्यक्तिले धर्मलाई भजाएर भक्तजन/अनुयायीको आस्थामाथि चोट पुर्याइरहेका छन् । त्यसैले कुनै पनि धर्म सम्प्रदायले यस्ता अपराधलाई संरक्षण गर्नु हुँदैन । धर्मलाई भजाएर आपराधिक क्रियाकलाप गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाइँदा आफ्नो धर्म वा समूहमाथि आक्रमण भएको अर्थमा कसैले पनि बुझ्नु हुँदैन ।
व्यभिचारजनित होस् वा अरू कुनै पनि अपराध, धर्मको आवरणले छोप्न मिल्दैन, हुँदैन किनकि अत्याचारीका कुनै धर्म र समुदाय हुँदैनन् । राज्यले पनि त्यस्ता व्यक्तिविरुद्ध अनुसन्धान एवं कारबाहीका सिलसिलामा पक्षपातपूर्ण व्यवहार देखाउनु हुँदैन किनकि धर्मको सबैभन्दा ठूलो सन्देश व्यक्तिको आत्मसम्मान हो । कान्तिपुर

