Loktantra Khabar National Weekly
Ad

गाँजा मिसाएर केक बेचेको आरोपमा दुई जना पक्राउ

लोकतन्त्र खबर
२५ पुष २०८०

इन्स्टाग्रामबाट अडर लिएर अनलाइन डेलिभरी

गाँजा मिसाएर केक बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१७ का २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी पक्राउ परेका हुन्।

उनीहरूलाई लागु औषध ब्युरो कोटेश्वरबाट खटिएको टोलीले मंगलबार सोहखुट्टेबाट पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए।

उनीहरूले इन्स्टाग्राम sweetbakery_np नामको अकाउन्ट बनाएर लागु औषध गाँजा प्रयोग गरी केक, कुकिज बनाई बिक्री गर्ने गरेको सूचना व्युरोले प्राप्त गरेको थियो।

उनीहरूले ललितपुर महानगरपालिका-१३ स्थित एकान्त कुनामा घर भाडामा लिई केक, कुकिज बनाउने गरेको पाइएको एसपी जोशीले जानकारी दिए।

उनका अनुसार उक्त कोठाबाट १ केजी एक सय ग्राम गाँजा, डाँठसहित गाँजा १ केजी ५६८ ग्राम, बिक्री गर्न तयारी अवस्थामा राखेको केक १ केजी ९ सय ग्राम, माइक्रोओभन १ थान, तयारी अवस्थामा राखिएको बटर ९ सय ग्राम, चक्लेटको फ्लेभरलगायतका सामान पनि बरामद भएको छ।

उनीहरूले आफूले बनाएका केक र कुकिजहरू अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

उनीहरूलाई इस्टग्राममा ७ सय ८४ जनाले फलो गरेको पाइएको छ। आफूलाई फलो गरेका र विश्वासिलो व्यक्तिहरूलाई मात्र केक, कुकिज अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले जानकारीदिए ।

पुस २२ गते गाँजा मिसावट गरी अवैध रूपमा केक बेचको आरोपमा एक जना पक्राउ परेपछि उनीहरूले custombakery_np नामको पेजलाई परिवर्तन गरी sweetbakery_np पेज बनाई कारोबार गरिरहेको पाइएको उनले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: