मंसिर ६ गते बोराभित्र शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा बोराभित्र शव थिए । दुवै शव हातखुट्टा क्रस गरेर बाँधेको, मुखमा टेप लगाइदिएको र घाँटीमा सलजस्तो कपडाले कसेको अवस्थामा थिए ।
शव उठाएर भरतपुरको सरकारी अस्पतालमा ल्याएर राखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा ती शव नेपालीकै हुन सक्ने अनुमान प्रहरीले गरेको थियो । तर मृतकका आफन्त कोही पत्ता लागेनन् । त्यसपछि चितवन प्रहरीले सबै प्रहरी युनिटमा मृतकको स्केच सार्वजनिक गरेर पहिचानका लागि सहयोग मागेको थियो ।
त्यसपछि पनि शवको सनाखत भएन । अनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको नेतृत्वमा बागमती प्रदेश प्रहरी कार्यालय र चितवन जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सुक्ष्म अनुसन्धान सुरु गरेको थियो ।
सीसीटीभी फुटेजबाट पत्ता लागेको क्लु
प्रहरीले सीसीटीभी फुटेजबाट अनुसन्धान सुरु गरेको थियो । फुटेजमा सन्जु र ऋषभको डेरा नजिकको सडकबाट मंसिर ३ गते एक व्यक्ति राति १२ बजेर ४५ मिनेट जाँदा साइकलमा बोरा लोड गरेर हिँडेको थियो । सोही व्यक्ति फेरि राति राति १ बजेर १२ मिनेट जाँदा फेरि पनि साइकलमा बोरा लोड गरेर हिँडेको देखियो ।
त्यही फुटेजको आधारमा अनुसन्धान तीव्र पारेको सीआईबीले भारतीय प्रहरीसँग समन्वय गरेको थियो । अन्ततः मृतकको पहिचान पनि भयो र हत्यामा संलग्न व्यक्ति पनि पत्ता लाग्यो ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मंसिर २ गते श्रीमती र भतिजको हत्या गरेका अखिलेश मंसिर १६ गते भारत भागेका थिए ।
प्रहरीका अनुसार अखिलेशमाथि भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता थियो । त्यो उनी पुस १६ गते भारतमै पक्राउ परेका थिए ।
अखिलेश हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा छन् । उनीसँग बयान लिन नेपाल प्रहरीका एकजना डीएसपी नेतृत्वको टोली मोतीहारी नै पुगेर बयान लिएको थियो । वयानको क्रममा उनले श्रीमती र भतिजको हत्या गरेको स्वीकार गरेको सीआईबीका प्रवक्ता अधिकारीले बताए ।
अन्तरदेशीय समन्वय
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, संकलित सूचना समेतको विश्लेषण गरी अनुसन्धानलाई निष्कर्षमा पुर्याएको प्रहरीले जनाएको छ ।
‘भरतपुरमा दिनदहाडै शव भेटिएको घटनाबारे लामो समयसम्म केही कुरा भेट्टाउन नसक्दा निराश जस्तै बनाएको थियो,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘तर भारतीय प्रहरीकोसमेत सहयोग भएर केही क्लू भेट्टाएपछि थप अनुसन्धान गर्न सजिलो भयो र हामी सफल भयौं ।’
हत्या गरिएका र हत्यामा संलग्न व्यक्तिको डेढ महिनापछि पहिचान गर्न सफल भएको नेपाल प्रहरीले यसलाई ठूलो उपलब्धिमध्ये एक भएको रूपमा लिएको छ । ‘अन्तरदेशीय अपराधका घटनाको अनुसन्धानमा पाएको यो सफलतालाई उपलब्धिका रूपमा लिएका छौं,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने । अनलाइन खबर

