लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २४
बरहथवा नगरपालिका वडा न-६ का जयशंकर साहको निधनमा सर्लाहीको बरहथवा नगरपालिकाले सोमबार शोक बिदा दिएको थियो ।
नगरप्रमुख प्रमुख कल्पना कुमारी कटुवालद्वारा जारी सूचनामा साहको निधनमा नगरपालिकाले हिजो एक दिनको लागि शोक बिदा दिएको हो।
साहको गत शुक्रवार बरहथवामा अस्पताल स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
स्थानीयहरु साहको शव तीनदिन देखि सडकमै राखेर आन्दोलन गरिराखेका थिए।
आइतवार जिल्ला प्रशासन कार्यालय मलंगवामा दिनभर भएको छलफलबाट बरहथवा घटनामा आन्दोलनरत पक्षको ११ बुँदे माग सम्बोधन हुने सहमति भएपछि साहको शव गएराती(आइतवार) १० बजे प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टम गरि सोमबार बिहान २ बजे परिवारलाई जिम्मा लगाइएको थियो ।
बिहान ९ बजेदेखि बरहथवा बजारमा शव यात्रा निकाली बरहथवा नगरपालिका वडा न-१ स्थित बागमती नदिको खर्साल घाटमा हिन्दु रितीरिवाज अनुसार साहको अन्तिम संस्कार गरिएको छ ।
शव यात्रा तथा अन्तिम संस्कारमा मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह, विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानीय नेता, व्यापारीलगायत स्थानीयहरुको ठूलो सहभागिता रहेको थियो ।

