Loktantra Khabar National Weekly
Ad

सहकारी ठगीमा बिनापूर्वाग्रह, बिनामोलाहिजा अनुसन्धान गर

लोकतन्त्र खबर
२३ पुष २०८०

एउटै समूहले काठमाडौंदेखि पोखरासम्म, वीरगन्जदेखि नेपालगन्जसम्म सहकारी खोलेको सर्वसाधारणको बचत हिनामिना गरेको खबर शृंखलाबद्ध रूपमा आउँदा सरकार भने रमिते बनेको छ । सर्वसाधारण जसले छोराछोरीको शिक्षा–दीक्षा, आफ्नो पेसा, व्यवसाय र परिवारको स्वास्थ्य उपचारका लागि रकम जम्मा गरेका थिए, कुनै निश्चित गिरोहले योजनाबद्ध रूपमा रकम अपचलन गर्दा सरकार मौन बस्नु विडम्बनापूर्ण छ ।

सहकारी सञ्चालकहरू एकै रात पैसा जम्मा गरेर फरार भएका होइनन् । एउटै समूहले आधा दर्जन सहरमा सहकारी दर्ता गरी सञ्चालन गर्दा, सर्वसाधारणबाट अर्बौं रुपैयाँ संकलन गर्दा, कानुनविपरीत आफ्नो निजी कम्पनीमा सार्दा नियमनकारी निकाय कहाँ थिए ? अझ, सर्वसाधारणले संघर्ष समिति गठन गरेर आवाज उठाउँदा पनि सरकारले सुन्दैन भने सरकार कसको संरक्षक हो भनेर प्रश्न उठ्नेछ ।

नियमन कमजोर हुँदा सहकारी सञ्चालकले सर्वसाधारणको बचत कुन हदसम्म अपचलन गर्न सक्छन् भन्ने बलियो दृष्टान्त नै गितेन्द्रबाबु (जीबी) राईको समूहले दिएको छ । यो समूहले काठमाडौंमा स्वर्णलक्ष्मी, पोखरामा सूर्यदर्शन, चितवनमा साहारा चितवन, वीरगन्जमा सानोपाइला, बुटवलमा सुप्रिम र नेपालगन्जमा समानता सहकारी संस्था खोलेको थियो । खासमा उस्तै उस्तै प्रकृतिको काम गर्ने समुदायका सदस्यबीच सहकार्यका लागि सहकारीको अवधारणा विकास भएको छ । तर राईको समूहले जहाँ सहर विकास भएको छ, त्यहीँ पुगेर रकम संकलन गर्ने गैरकानुनी अभियान चलाएको स्पष्ट छ । यसरी एउटै समूहले आधा दर्जन सहरमा सहकारी खोलेर १० वर्षसम्म सञ्चालन गर्दा पनि सरकारी निकायले देखेको नदेख्यै गर्नु अर्को बेथिति हो ।

विभिन्न सहरमा पुगेर सहकारी खोलेको यो समूहले सर्वसाधारणबाट संकलित बचत कानुनविपरीत आफ्ना निजी कम्पनीमा सारिरहेको मात्र थिएन, सहकारीका सदस्य नै नरहेका निकटस्थ व्यक्तिलाई बिनाधितो ऋण प्रवाह गरिएको थियो । । अझ, राईकै नेतृत्वमा गोर्खा मिडिया नेटवर्क स्थापना गरेर ग्यालेक्सी टेलिभिजन सुरु गरिएको थियो । कुनै पनि व्यक्ति वा समूहले वैधानिक कम्पनी खडा गरी व्यवसाय गर्न पाउने विषयमा शंका छैन तर सहकारीको बचत निजी कम्पनीमा रकमान्तर गर्नु दण्डनीय वित्तीय अपराध हो । तर, राईको समूहले पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिम सहकारीबाट कम्तीमा साढे ५२ करोड ल्याएर टेलिभिजनमा लगानी गरेको कागजातबाट पुष्टि भइसकेको छ ।

विडम्बना कस्तो छ भने टेलिभिजन अहिले बन्द छ । राई फरार छन् भने गोर्खा मिडिया नेटवर्कमा १५ प्रतिशत लगानीसहित प्रबन्ध निर्देशक बनेका रवि लामिछानेले यो विषयमा आफ्नो कुनै कानुनी उत्तरदायित्व नहुने दोहोर्‍याइरहेका छन् । हो, अहिले लामिछाने गोर्खा मिडिया नेटवर्कमा छैनन् तर सहकारीका रकम गोर्खा मिडिया नेटवर्कको खातामा धमाधम सारिँदाको अवधिमा लामिछाने कम्पनीको प्रबन्ध निर्देशक थिए । अझ, पोखराको सूर्यदर्शन सहकारीमा लामिछानेको नाममा कृत्रिम पुलेसो खाता खोली एक करोडको कारोबार भएको पोखरा महानगरपालिकाले गरेको अध्ययनले पुष्टि गरेको छ । त्यस्तै बुटवलको सुप्रिम सहकारीबाट पनि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कमा एक करोड रुपैयाँ रकमान्तर गरिएको भौचर पनि सहकारीको कार्यालयबाटै प्राप्त भएको छ । तर, यी विषयमा अनुसन्धान गर्न स्थानीय सरकार, सहकारी विभाग, प्रहरी प्रशासन र समग्र सरकारले गरेको ढिलाइ आपत्तिजनक छ । यो देशको स्थापित कानुनमाथिको खेलबाड हो भने सहकारीमा रकम जम्मा गर्ने सर्वसाधारणको अधिकारमाथि उपेक्षा पनि हो ।

जीबी राई, रवि लामिछाने वा अन्य कुनै पनि व्यक्ति वा समूहमाथि पूर्वाग्रह साध्नुपर्ने कारण र अधिकार सरकारसँग छैन । तर, राजनीतिमा सक्रिय भएकै कारण मोलाहिजा गर्ने सुविधा पनि सरकारमा छैन । एकातिर ३५ हजारभन्दा बढी सर्वसाधारणको बचत सुरक्षणको संवेदनशील विषय छ तर सरकारलाई त्योभन्दा बढी चिन्ता एउटा राजनीतिक शक्तिका रूपमा उदाएका लामिछानेसँगको सम्बन्ध कसरी सन्तुलित राख्ने भन्नेमा केन्द्रित भएको देखिन्छ । हिजो नागरिकका मुद्दालाई यस्तै राजनीतिक दाउपेचको बन्धन बनाएकाले पुराना दल असान्दर्भिक हुँदै गएका हुन् । अब नयाँ–पुराना मिलेर त्यही प्रवृत्तिलाई मलजल गर्ने हो भने नयाँ–पुरानाबीचको भेद त समाप्त नै हुनेछ, वैकल्पिक राजनीतिप्रति नागरिकको अपेक्षामाथि झन् ठूलो धोका हुनेछ । काठमाडौं, पोखरा, वीरगन्ज, चितवन, बुटवल र नेपालगन्जका सर्वसाधारणले रहरले संघर्ष समिति गठन गरेका होइनन् । यति ठूलो वेदना र आवाज उठेपछि कागजातमा नाम जोडिएका जीबी राई र रवि लामिछानेसहितका व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ र तथ्य र प्रचलित कानुनका आधारमा कारबाही गर्नुपर्छ । तर, सर्वसाधारणको बचतको चाङमा उभिएर आन्तरिक खुसामद गरी सफाइ लेनदेन गर्ने अधिकार कसैलाई पनि छैन ।

सहकारीको रकम अपचलनमा जोडिएका रवि पहिलो राजनीतिकर्मी होइनन् । विगतमा विभिन्न दलका नेताहरू विभिन्न स्तरको अपचलनमा मुछिएका छन् । जीबीको यही समूहमा पनि माओवादीनिकट अखिल क्रान्तिकारीका नेता दीपेश पुन पनि मुछिएका छन् । बुटवलको सुप्रिम सहकारी जहाँबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ७४ लाख सारिएको थियो, सो सहकारीमा पुन सचिव पदमा कार्यरत थिए । तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका उनले बाबु र पार्टीका नाममा सहकारी र अन्य ठाउँमा गरेका गैरकानुनी कामको अनुसन्धान भएन भने त्यो सत्ताको प्रभाव हो भन्नेमा शंका रहने छैन । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: