Loktantra Khabar National Weekly
Ad

‘फुटबलमा जसले धेरै खर्च गर्छ, उसैले जित्छ’

लोकतन्त्र खबर
२० पुष २०८०

काठमाडौं  पुस २०, नेपाल सुपर लिग (एनएसएल) २०२३ को उपाधि ललितपुर सिटी एफसीले जित्दा सर्वाधिक गोलकर्ता बने ललितपुरकै नाइजेरियन इमोह इजेकेल ।

एनएसएलमा ६ गोल गरेका उनको नाम एनएसएलअघि नेपालमा खासै सुनिएको थिएन । तर उनी एनएसएल खेल्ने हाई प्रोफाइल खेलाडीमध्ये एक हुन् ।

नाइजेरियाको राष्ट्रिय टिमका लागि पनि खेलिसकेका उनी सन् २०१६ को रियो ओलम्पिकमा नाइजेरियन यु-२३ टिमले कांस्य पदक जित्दा टिमको सदस्य थिए ।

टिमलाई एनएसएलको उपाधि जिताएका र आफूले गोलकर्ताको अवार्ड हात पारेका इमोह नेपालमा पाएको सफलताले खुशी छन् । ‘मैले नेपालमा रहँदाको मेरो समय पूरा इन्जोय गरेँ’, इमोहले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘सबैभन्दा महत्वपूर्ण भनेको ललितपुर सिटीबाट एनएसएल जित्नु हो । एकदमै राम्रो लागिरहेको छ ।’

लिग चरणमा खेलेका ८ खेलमध्ये उनले वीरगञ्ज युनाइटेडविरुद्ध जम्मा एक गोल गरेका थिए । तर प्लेअफमा ललितपुरले लगातार तीन खेल जित्दा इमोहले सबै खेलमा गोल गरे । प्लेअफको तीन खेलमा उनले पाँच गोल गरे । त्यसमा एलिमिनेटरमा काठमाडौं र फाइनलमा धनगढीविरुद्ध उनले २-२ गोल गरेका थिए भने क्वालिफायर टु मा पोखराविरुद्ध १ गोल गरेका थिए ।

‘म कहिले पनि धेरै गोल गर्नेबारे सोच्दिँन । म राम्रो फुटबल खेल्न चाहन्छु र जित्ने प्रयास गर्छु’, इमोहले भने, ‘मैले टिमको उपलब्धि हासिल गर्नका लागि गोल गर्न प्रयास गर्ने हो ।’

सुरुमा यहाँको वातावरण बुझ्न समय लागेकाले गोल नभएको उनले बताए । ‘पहिलो ८ खेलमा म यहाँको कल्चर र मानिसको बारेमा बुझ्ने प्रयासमा थिएँ । टिमले कसरी खेल्छ भन्ने बुझेँ’, इमोहले भने, ‘नकआउटमा म केही अभ्यस्त भइसकेको थिएँ र मैले किक गरेँ, गोल भयो ।’

 फाइनलको त्यो दुई गोल

धनगढी एफसी विरुध फाइनलमा ललितपुरले ३-२ को जित हात पार्दा इमोहले दुई महत्वपूर्ण गोल गरेका थिए । एक गोल भने दिनेश हेम्जनले गरेका थिए ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा नाइजेरियाकै ओलावाले आफिजले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए ।

तर ललितपुरका लागि इमोहले नै बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी टाइमको अन्तिमसमयमा ललितपुरले फ्रिकिक पाएको थियो र त्यही फ्रिकिकमा इमोहले बराबरी गोल फर्काए । उनकै गोलबाट ललितपुर खेलमा फर्किएको थियो । ‘त्यो फ्रीकिकले हामीलाई खेलमा फर्कायो र दोस्रो हाफमा हामीले खेलमा पकडमा राख्यौं’, उनले दशरथ रंगशालाको प्रतिस्पर्धात्मक फाइनल सम्झे ।

फाइनलमा रंगशालाभरि दर्शकको अगाडि गोल गर्दा रमाइलो भएको इमोह बताउँछन् । ‘फाइनल खेल अनि फुल स्टेडियममा जब तपाईँ एक्रोब्याटिङ गोल गर्नुहुन्छ त्यो सधैं रमाइलो हुन्छ । धेरै रमाइलो लाग्यो र मैले त्यसमा इन्जोय गरेँ’, उनले भने ।

नेपाल आएर खेल्न पाउनु आफ्ना लागि पनि रमाइलो भएको र अब यो इतिहास भइसकेको उनले बताए । ‘मेरो लागि पनि यो महत्वपूर्ण हो । नेपाल आएर खेलें, टप स्कोरर भएँ र हामी च्याम्पियन भयौं । यो मेरो इतिहासको पार्ट भइसक्यो ।’

लाखे कल्चर मन पर्‍यो

एनएसएल टिम ललितपुर सिटीको लोगोमै लाखे छ । त्यसैले ललितपुरको खेला हुँदा टिमले दशरथ रंगशालमा लाखे नचाउने र धिमे बाजा बजाउने गरेको थियो । जुन नेपाली खेलाडीका लागि नयाँ नभए पनि विदेशी खेलाडीहरुका लागि भने अनौठो थियो ।

पहिलो पटक यस्तो माहोल देखेका इमोहले यसलाई आफूले कल्चरको रुपमा बुझेको बताए । ‘मैले मेरो लाइफमा यस्तो लाखे पहिले देखेको थिइनँ । यो एउटा कल्चर जस्तै हो’, उनले भने, ‘उनीहरुको फ्यान बेस एउटा कल्चर जस्तै थियो । लाखेआयो, लाखे जस्ता कुरा र  यस्तो फ्यान देखेको थिइनँ ।’

ललितपुरका समर्थकले खेलाडीको निक्कै हौसला बढाएको उनले सुनाए । ‘ललितपुरका फ्यानले हामीलाई धेरै हौसला बढाए । जुन धेरै राम्रो हो ।’

नेपालको खेल र संस्कृतिले मन जितेको बताउने उनी नेपाल आएर खेल्न आफू सधैं तयार रहेको बताउँछन् ।

ललितपुरको जित सुत्र : राम्रो म्यानेजमेन्ट

यस पटक ललितपुरमा कप्तान अनन्त तामाङसहित नेपाली राष्ट्रिय टिमका चार खेलाडी थिए । इमोहसहित नाइजेरायका दुई, फ्रान्सका दुई र भारतका एक गरी पाँच विदेशी खेलाडी थिए ।

समग्रमा ललितपुरले अक्सनदेखि विदेशी खेलाडीसम्म राम्रो अनुबन्ध गरेर सन्तुलित टिम बनाएको थियो र पेपरमा पनि सुरुमै बलियो देखिएको थियो ।

टिम म्यानेजमेन्टले राम्रो काम गरेकोले नै टिम राम्रो बनेको इमोहले बताए । ‘यो सबैको क्रेडिट ललितपुर टिम म्यानेजमेन्टलाई जान्छ । उनीहरुले फ्यान्टास्टिक काम गरे’, उनले भने, ‘यी सबै खेलाडीलाई एकजुट बनाएर सँगै खेलाउन सके । टाइमसँगै बितायौं र म्यानेमेनटले राम्रो काम गर्‍यो ।’

इमोहले अन्तर्राष्ट्रिय फुटबलको उदाहरण दिँदै फुटबलमा धेरै खर्च गर्नेले नै जित्ने गरेको बताए । ‘म्यानचेस्टर सिटीले खेलाडी किन्नमा धेरै खर्च गर्‍यो र उसले च्याम्पियन्स लिग जित्यो, प्रिमियर लिग जित्यो,’ उनले भने, ‘जसले राम्रो खेलाडीमा खर्च गर्छ उसले रिजल्ट ल्याउँछ र जित्छ । ललितपुरले पनि त्यही गरेको हो ।’

तर इमोहले ललितपुरले आफूलाई दिएको रकमबारे केही खुलाएनन् । एनएसएलमा एउटा फ्रेन्चाइजले करिब २ करोड रुपैयाँसम्म लगानी गरेको आकलन रहे पनि आधिकारिक रुपमा कुनै पनि टिमले आम्दानी र खर्चको सार्वजनिक गरेका छैनन् ।

राष्ट्रिय टिमबाट खेल्नु सधैं विशेष

३० वर्षीय इमोहले नाइजेरियाको राष्ट्रिय टिमबाट जम्मा एक खेल खेले । तर पनि राष्ट्रिय टिमबाट खेल्नु आफ्नो लागि सधैं विशेष हुने उनी बताउँछन् ।

‘नेशनल टिमको लागि खेल्नु सधैं राम्रो अनुभव हुन्छ । विशेषगरी नाइजेरियन नेशनल टिमबाट । किनभने त्यो देशमा २० करोड जनसंख्या छ र त्यसमा २३ जना फुटबल टिम भित्र म एकजना पर्छु भने गर्वको विषय हो । धेरै ठूलो ठूलो उपलब्धि हो ।’ उनले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा कांस्य पदक जितेका थिए । जसलाई उनी ठूलो उपलब्धि मान्छन् ।

२०१४ मा नाइजेरियाको टिमबाट मेक्सिको विरुद्धको खेल खेलेका थिए । त्यसमा उनले भिक्टोर मोसेसलाई रिप्लेस गर्दै डेब्यु गरेका थिए । ‘मैले १६ मिनेट राष्ट्रिय टिमको लागि खेलेँ र त्यो मेरो लागि विशेष क्षण हो ।’

राष्ट्रिय टिममा अवसर पाउनुअघि उनले बेल्जियन क्लब स्ट्यानडर्ड लिगबाट राम्रो खेलिरहेका थिए । त्यतिबेला जम्मा २० वर्षका उनले लिगमा ९ गोल गरेका थिए । जसले गर्दा नाइजेरियन प्रशिक्षक स्टेफेन केसीको नजर उनमा परेको थियो ।

राष्ट्रिय टिमबाट डेब्यु गरेपछि ब्राजिलमै भएको २०१४ को विश्वकप खेल्ने उनको धोको थियो । तर उनले फेरि नाइजेरियाको लागि खेल्न पाएनन् । ‘त्यो बेला विश्वकप खेल्ने टिममा पर्छु भन्ने आशा थियो, तर दुर्भाग्य परिनँ, म निक्कै रिसाएको थिएँ ।’

अहिले आफू ३० वर्षको भएको र  त्यो कुरा बिर्सिसकेको भन्दै उनले अब चिन्ता नभएको बताए । केही वर्ष फुटबलमै बिताउने लक्ष्य राखेका उनी राष्ट्रिय टिमबाट खेल्न फेरि प्रस्ताव आउँला भन्ने आशामा छन् ।

टोटनहमविरुद्ध गोल गर्नु उत्कृष्ट क्षण

इमोहले नाइजेरियाको ३६ लायन्सबाट युथ करियर सुरु गरेका थिए । तर त्यसपछि भने उनको फुटबल करिअरको धेरै समय युरोपमै बित्यो । उनले बेल्जियमको महारथी एन्डरलेक्ट र स्ट्यानडर्ड लिगबाट खेले ।

स्पेनको लस पालमस, टर्कीको कोन्यासपोजरबाट पनि खेले । पछिल्लो समय उनले यूएईका क्लबहरु अल-जजिरा र अल घार्फाबाट पनि खेले ।

इमोहले २०१५-१६ को सिजन एन्डरलेक्टमा लोनमा बिताउँदा युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग समेत खेलेका थिए । यो उनको क्लब फुटबलकै उच्च स्तरको खेल थियो ।

त्यसबेला समूह चरणमा इंग्लिस क्लब टोटनहम विरुद्ध खेल्दै इमोहले गोल गरेका थिए । त्यस खेलमा टोटनहम २-१ ले विजयी भएको थियो । र त्यसमा एन्डरलेक्टका लागि बराबरी गोल उनै इमोहले गरेका थिए । त्यसलाई उनी उत्कृष्ट क्षण मान्छन् । ‘युरोपा लिग ठूलो प्रतियोगिता हो । धेरै राम्रो अनुभव रह्यो । धेरै राम्रो अनुभव भयो । टोटनहम विरुद्ध युरोपा लिगमा खेल्नु फ्यान्टास्टिक थियो । त्यो खेलमा बराबरी गोल गरेको थिएँ । राम्रो भयो ।’

एन्डरलेक्ट, लस पालमस जस्ता क्लबबाट खेल्दा धेरै कुरा सिक्ने अवसर पाएको उनले बताए । ‘जब तपाईंले एन्डरलेक्ट जस्तो टिमबाट खेल्नुहुन्छ भने त्यहाँ कसैले जोक गर्दैन । तपाईं तयार हुनुभएन टिमबाट बाहिरिनुहुन्छ’, उनले भने, ‘मैले त्यहाँ धेरै कुराहरु सिकें ।’

नाइजेरियाबाट युरोप हुँदै कतार, यूएईबाट खेल्न नेपाल आएका उनी फुटबलमा त्यस्तो धेरै फरक नरहेको बताउँछन् । तर फुटबलमा आएको आधुनिक शैली भने फरक रहेको उनी बताउँछन् ।

‘फुटबल जहाँ पनि उस्तै हो । खासै फरक छैन । त्यही बल नै खेल्ने हो । तर बाहिर देशमा आधुनिक छ’, उनले भने, ‘बाहिर विदेशका धेरै खेलाडीले खेल्छन् । तर नेपालमा थोरै विदेशी खेल्छन् । अन्य देशमा धेरै विदेशी हुँदा राम्रो खेल हुन्छ । भारतमा पनि धेरै विदेशीले खेल्छन् ।’ अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: