Loktantra Khabar National Weekly
Ad

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका बस्याल एमालेबाट निष्कासित

लोकतन्त्र खबर
८ पुष २०८०

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका  रामप्रसाद बस्याललाई नेकपा एमाले रुपन्देहीले निष्कासन गरेको छ।

एमालेका स्थानीय नेता रहेका बस्याल गएको स्थानीय तह निर्वाचनमा पार्टीबाट रुपन्देहीको सिद्धार्थ नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेर पराजित भएका थिए।

तिनै बस्याल पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेपछि एमालेले  निष्कासन गरेको हो।

एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै एमाले नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्ण  प्रतिबद्ध रहेको जानकारी गराउँदै त्यस विपरीत हिँडेकाले बस्याललाई पार्टीबाट निष्कासन गरिएको बताएका छन्।

एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीतिविरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार नहुने र यस प्रकारको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै विज्ञप्तिमार्फत बस्याललाई आजकै मितिदेखि लागू हुने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।

पूर्व राजा ज्ञानेन्द्र यही पुस दोश्रो साता भैरहवा आउने तयारी छ। बस्यालले आफूले एमाले छाडि नसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा पार्टीसँग असहमत रहेको बताउँदै आएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: