Loktantra Khabar National Weekly
Ad

‘ग्राउन्ड ह्यान्डलिङ’को निर्णयबारे रास्वपाले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

लोकतन्त्र खबर
२८ मंसिर २०८०

नागरिक उड्डयन प्राधिकरणको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय बुझ्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएको हो।

रास्वपाले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नै नेपाल एयरलाइन्सको आम्दानीको महत्त्वपूर्ण स्रोत भएको बताउँदै यसबारे चासो राख्न सरकारलाई ध्यानाकर्षण गराएको छ।

‘वायुसेवा निगमले आर्थिक वर्ष २०७९/८० मा गरेको २२ अर्ब २४ करोड कुल आम्दानीमध्ये ४ अर्ब ६६ करोड ग्राउण्ड स्याण्डलिङबाट आर्जन गरेको थियो। यो कुल आम्दानीको करिब २० प्रतिशत हो। कर्मचारी खर्च, उपकरण तथा सामानको मर्मत सम्भारसहितका खर्च कटाउँदा नेपाल एयरलाइन्सले ग्राउण्ड स्याण्डलिङबाट हुने कुल आम्दानीको २०/२५ प्रतिशत नाफा गर्छ,’ रास्वपाको ध्यानाकर्षण पत्रमा भनिएको छ।

विमानस्थल राष्ट्रिय सुरक्षासँग समेत सम्बन्ध राख्ने क्षेत्र भएकाले सरकारलाई चासो राख्न भनिएको छ।

‘यस्तो संवेदनशील क्षेत्रको व्यवस्थापन (ग्राउण्ड स्याण्डलिङ) खुला प्रतिस्पर्धाको बहानामा निजी (स्वदेशी वा विदेशी) कम्पनीलाई दिने क्यानको योजना राष्ट्रिय सुरक्षासँग समेत जोडिएको विषय हो,’ पत्रमा भनिएको छ, ‘अनुभव, लगानी, आम्दानी र राष्ट्रिय सुरक्षा चारवटै कारणले नेपाल एयरलाइन्सको लागि ग्राउण्ड ह्याण्डलिङ महत्त्वपूर्ण रहँदा रहँदै पनि प्राधिकरणले किन यस्तो निर्णय गरेको हो भन्नेबारे चासो लिएर त्यसको सकारात्मक/नकारात्मक परिणामको आकलनसहित यथार्थ पत्ता लगाउन आग्रह गर्दछौं।’

ध्यानाकर्षण पत्रमा नेपाललाई युरोपियन युनियनले सेफ्टी लिस्टबाट नहटाउनुको खास कारण पत्ता लगाउन पनि सरकारसँग माग गरिएको छ।
यस्तै, नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमबीचको अविश्वास र अघोषित लडाइँले नेपालको हवाई क्षेत्रमा असर पारिरहकोतर्फ सचेत गराइएको छ।

‘एउटै छातामुनि रहेको नियामक (प्राधिकरण) र सेवा प्रदायक (निगम) बीच स्वार्थको द्वन्द्व किन बढिरहेको छ?,’ रास्वपाले प्रश्न गरेको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: