Loktantra Khabar National Weekly
Ad

आज नेपालबाट पनि देखिने छ वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा, कतिबेला हेर्ने ?

लोकतन्त्र खबर
२८ मंसिर २०८०

काठमाडौं मंसिर २८ , बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।

खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।

अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनकि यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको छ ।

नेपालबाट कति बेला अवलोकन गर्ने ?

नेपालमा स्थानीय समयानुसार बिहीवार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न सकिन्छ । वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिन्छ । यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।

डा. आचार्यले अनलाइनखबरसँग भने, ‘नेपालको जुनसुकै ठाउँबाट पूर्वतिर फर्किएर आकाशमा हेर्ने हो भने राति १२ बजेदेखि बिहान ३–४ बजेसम्म जेमिनिड्स उल्का वर्षा देखिन्छ ।’ यो धेरै संख्यामा स्पष्ट देखिने भएकाले अरु उल्का वर्षाभन्दा विशेष मानिएको उनले बताए ।

वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन बिहीबारलाई लिइएको छ ।

नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटासम्म जेमिनिड्स उल्का वर्षा देख्न सकिने बताइएको छ ।

उल्का वर्षा के हो ?

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा उल्कापात पनि भनिन्छ ।

बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई कुनै असर भने गर्दैन। अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: