सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका थिए । यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।
शनिबार राति सोही विमानमा आएका व्यक्तिलाई शंका लागेपछि निगरानी गर्ने क्रममा पक्राउ गरिएको डीआईजी चन्दले बताए । ‘उनले सुनलाई अर्ध ठोस बनाएर ल्याएका थिए, अघिल्लो घटनामा जस्तै ज्याकेटभित्र राखेर उनले सुन ल्याएका थिए’, चन्दले अनलाइनखबरसँग भने ।
प्रारम्भिक जाँचका क्रममा बरामद सुन भारततर्फ नै लैजाने गरी ल्याएको हुनसक्ने देखिएको छ ।
यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।
केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।
सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले यी प्रकरणका आरोपीहरुको हाल बयान लिइरहेको छ । अनलाइन खबर

