Loktantra Khabar National Weekly
Ad

चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पक्ष बिचको राजनीतिक द्वन्द्वका कारण शिक्षक ,कर्मचारीहरुको तलब तथा सामाजिक सुरक्षा भत्ता रोकियो /घर्नामा बस्न बाध्य

लोकतन्त्र खबर
२२ मंसिर २०८०

मनोज यादव—-
सर्लाही,मंसिर २२

स्थानीय जनप्रतिनिधिहरु बिचको आपसी राजनीतिक द्वन्द्वका कारण सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको अवस्था “साँढेको जुधाइ बाछाको मिचाइ” जस्तो भएको छ। गाउँपालिकाको बहुमत र अल्पमत पक्ष बिच बजेट बिन्योजन र विकास निर्माणका कामहरु लगायतको विषयमा आपसी मत नमिल्दा हालसम्म गाउँसभा हुन सकिरहेको छैन ।

जसले गर्दा विकास निर्माणका कामहरुको साथै चार महिनादेखि कर्मचारीहरुको तलब र सामाजिक सुरक्षा भत्ता रोकिएको छ। सोही तलब भत्ता पाउनुपर्ने माग राखेर गाउँपालिका कार्यालयको मुल गेट अगाडी दस दिनदेखि उनिहरु धर्नामा बसेका छन् ।

गाउँपालिका भित्रका २२ वटै सामुदायिक विद्यालयका शिक्षक तथा पालिकामा कार्यरत कर्मचारीहरु गत मंसिर १२ गतेदेखिनै प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म धर्ना दिइरहेका छन् ।

नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँ समितिका अध्यक्ष सरोज कुमार सिंहका अनुसार आर्थिक वर्ष २०८०/०८१ को श्रावण महिनादेखि हालसम्म साथै दशै,तिहार र छठ जस्तो पर्वमा समेत गाउँपालिकाले तलब भत्ता उपलब्ध गराउन नसकेको तथा विद्यालय संचालनको लागि आवश्यक पर्ने दिवा खाजा लगायतका विभिन्न शिर्षकहरुको रकम निकासा नगराएको र यसका लागि पटकपटक मौखिक छलफल गर्दा पनि हालसम्म कुनै निकासा नगरिएकोले बाध्य भएर धर्मा दिनु परेको हो ।

तलब नपाउँदा घर व्यवहार चलाउन निकै समस्या भइरहेको धर्नामा बसेका शिक्षक तथा कर्मचारीहरुले गुनासो गरेका छन् । यसबाट शिक्षक,कर्मचारी तथा बालबालिकाहरुमा मनोबैज्ञानिक ,आर्थिक तथा शैक्षिक रुपमा प्रतिकुल असर परिरहेको मासिक रुपमा पाउनुपर्ने तलब भत्ता,दिवा खाजा र सामाजिक सुरक्षा वापतको भत्ता लगायतका विभिन्न शिर्षकका रकमहरु अविलम्ब निकासा गर्न उनीहरूले जोडदार माग गरेका छन् ।

तलब भत्ता पाउनुपर्ने साझा माग राखेर समस्या सामाधान नहुन्जेलसम्मको लागि नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँ समिति र स्थानीय तह तदर्थ समिति चन्द्रनगर संयुक्तरूपमा नियमित धर्ना दिइरहेका छन् ।

उता गाउँपालिका अध्यक्ष राजकुमार महतोले कुनै पनि बहानामा गाउँ सभा रोक्न नपाउने नेपालको संविधानमै उल्लेख भएकोले बताएका छन् । असाढ महिनादेखिनै आफुले गाउँसभा गराउन विभिन्न तरिकाले पहल गर्दै आइरहेको भएपनि बहुमत पक्ष तयार नभइसकेको बताए ।

उनीहरू गाउँपालिकाको हरहिसाब देखाएमा मात्र गाउँसभा गर्न दिने भने ,हरहिसाब पनि देखाए तरपनि उहाँहरु गाउँसभा गर्न तयार हुनु भएन जसले गर्दा अहिलेसम्म तलब,भत्तादेखि विकास निर्माण लगायतका कामहरु रोकिएको गाउँपालिका अध्यक्ष महतोले बताए ।

सबैभन्दा जरुरी कर्मचारी र शिक्षकहरुको तलब,बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्ता वितरणको काम रहेकोले ती कामहरु गरिसके पछि असहमति भएको विषयमा छलफल गरी सहमति जुटाएर विकास निर्माणका कामहरु गर्दा सबैको लागि राम्रो हुने गाउँपालिका अध्यक्ष महतोको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्: