Loktantra Khabar National Weekly
Ad

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु

लोकतन्त्र खबर
१५ मंसिर २०८०

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । बिहीबार राति काठमाडौँ, बाँके र कैलालीमा भएका दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा प्रदेश ३–०१–०० ३ क ६४८८ नम्बरको निशान गाडी र बाग्मती प्रदेश ०२–०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा परेर  मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शंखरापुर नगरपालिका–८ साखु घुमार चोकका ३० वर्षीय सुलभ मोक्तान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै बाँकेमा पनि सवारी दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको  राप्तीसोनारी गाउँपालिका–८ ओबरीस्थित सडकमा महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०२–००१ ख १२४७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४० वर्षीय केशर कुँवरको बिहीबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, कैलालीको लम्कीचुहा नगरपालिका–२ गणेशपुरस्थित सडकमा ना.५ ख ८७०० नम्बरको बसको ठक्करबाट बिहीबार राति एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोहन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्मरबहादुर विष्ट रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: