पोखरा मंसिर १३, बुवा हरिबहादुर र आमा ईन्द्रकुमारी कार्कीसँग स्याङ्जा पुतलीबजार नगरपालिका– ५ का प्रितम कार्कीले भनेका थिए, ‘म फेरि अफगानिस्तान फर्किने भएँ, कत्ति दुख नगर्नु, छिट्टै फर्किन्छु ।’
७० वर्षका वुबा र ६२ वर्षकी आमाले बुढ्यौलीको सहारा छोरोलाई आर्शिवाद दिँदै भनेका थिए, ‘हाम्रो त भर छैन, आफ्नो ख्याल गरेस् ।’
नेपाल प्रहरीबाट अवकाश प्राप्त हरिबहादुरका छोरा प्रितम भने नेपाली सेनामा भर्ती भएका थिए । १७ वर्ष काम गरेर अवकाश लिएका उनले महिना पोखराको एक होटलमा सेक्युरिटी गार्डको काम गरे र त्यसपछि अफगानिस्तान पुगे ।
एक वर्षमा अफगानिस्तानमा सेक्युरिटी गार्डको काम गरेर ५ महिना अगाडि घर फर्किएका प्रितम आफू छुट्टीमा आएको र फेरि जाने बताउँथे । दुई महिना घर बसेका बेला उनले बुवाले बनाएको घर मर्मत गरेर पक्की बनाएका थिए । उनले त्यही बेला नयाँ राहदानी पनि निकालेका थिए ।
घरमा अफगानिस्तान फर्किने बताएका प्रितम जब रुस–युक्रेन युद्धमा मारिएको खबर आयो, परिवारका सदस्य छाँगाबाट खसेजस्तो भए । १० मंसिरमा परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष सन्तोष रेग्मीलाई फोन आएको थियो ।
‘कन्सुलर विभागले फोन गरेर रुसी सेनामा कार्यरत प्रितमको मृत्यु भएको खबर गर्यो । विभागले तत्काल शव ल्याउने अवस्था पनि नभएको भन्दै परिवारमा खबर गर्न भन्यो’, रेग्मीले अनलाइनखबरसँग भने, ‘बडो पीडाका साथ परिवारमा सन्देश पुर्याएँ, अहिले परिवारमात्र होइन सिंगो गाउँ नै विक्षिप्त छ ।’ रेग्मीका अनुसार कन्सुलर विभागले कार्कीको मिसाइल आक्रमणमा मृत्यु भएको र शरीर क्षतबिक्षत भएकाले ल्याउन नसकिने जानकारी गराएकाे थियो ।
प्रितम कसरी रुस–युक्रेन युद्धमा सहभागी हुन पुगे भन्ने परिवारले नै थाहा पाउन सकेको छैन । आमा इन्द्रकुमारी अझै अर्धचेत अवस्थामा छिन् । ‘विह्वल अवस्थामा रहेकी प्रितमकी श्रीमतीलाई कसैले सोध्न सकिरहेको छैन कि प्रितमले रुस जान्छु भनेका थियो र भनेर’, प्रितमका काका डोलबहादुर कार्कीले भने, ‘ऊ रुसी सेनामा भर्ती भएको नजिकका अरु कसैलाई जानकारी नै थिएन ।’
प्रितमका १० र ५ वर्षका छोरा छन् । उनीहरुको उज्ज्वल भविष्यकै लागि भनेर प्रितमले निजी विद्यालयमा भर्ना गराएका थिए । ‘छोरो फर्केला र बुढेसकालमा सुख पाइएला भन्ने आशमा बसेका बाबुआमालाई मृत्युको खबर सुनाउनुजत्तिको पीडादायी कुरा के होला ?’ कार्यवाहक वडाध्यक्ष सन्तोषले पीडाको सुस्केरा हाले, ‘अवोध छोराले बाबु गुमाए । श्रीमतीको सिउँदो पुछियो ।’
प्रितमको मृत्युले सिंगो गाउँमै सन्नाटा छाएको नातामा भाइ पर्ने राजेश कार्कीले सुनाए । उनका अनुसार त्यो गाउँबाट अरु कोही रुस गएका छैनन् । प्रितमले अफगानिस्तान हुँदा नै रुसी सेनामा भर्ती हुने प्रक्रिया मिलाएको उनको अनुमान छ ।
‘रुसी सेनामा भर्ती भएर तालिम लिएका नेपालीले बनाएको भिडियो हेरेपछि मलाई त जाउँ जाउँ भएको थियो । अफगानिस्तानबाटै दाइले पनि रुसमा भर्ती हुने योजनासहित नेपाल फर्किएर दुबई हुँदै पुगेका हुन्’, राजेशले भने, ‘नेपालबाट दुबई हुँदै रुसी सेनामा भर्ती भएर दाइले घरमा आत्तिन्छन् भनेर सुनाएनन् ।’
रुसबाट ल्याउन शव ल्याउने अवस्था नभएको खबर पाएपछि कुशको शव बनाएर दाहसंस्कार गरिसकेको काका डोलबहादुरले बताए ।
‘लास पनि ल्याउन नसकिने भएपछि कुशको शव बनाएर दाहसंस्कार गर्यौं । बुढा बा र १० वर्षका छोरा किरिया बसेका छन्’, उनले भने, ‘छोरो छुट्टिमा आएको थियो, फर्कियो भनेर बसेका बाले अहिले रुँदै किरिया गरिरहेका छन् ।’
शव ल्याउन नपाइने, खर्च पनि ठूलो लाग्ने र अस्तु पनि डीएनए टेस्ट गरेरमात्र बल्ल ल्याउनुपर्ने जानकारी परराष्ट्र मन्त्रालयबाट पाएपछि कुशको शव बनाएर हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको राजेशले बताए ।
‘जत्ति नै दुख परे पनि युद्ध चलिरहेको देशको सेनामा जान हुँदैनथ्यो’, राजेशले भने, ‘आफन्त, परिवार र सिंगो गाउँले नै कसैले पनि यस्तो दुख भोग्न नपरोस्, कोही ज्यान बाजी थापेर युद्धमा होमिन नजाऊन् भन्ने कामना गरिरहेका छौं ।’ अनलाइन खबर

