Loktantra Khabar National Weekly
Ad

टी-२० क्रिकेटमा कोशी प्रदेशको सान्त्वना जित

लोकतन्त्र खबर
१३ मंसिर २०८०

पोखरा मंसिर १३ , पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हात पारेको छ ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका टिमबीचको खेलमा कोशीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको निलो टिमलाई ९ विकेटले हराएको हो ।

खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७.४ ओभरमा पूरा गर्‍यो ।

कोशीलाई जिताउन नट आउट रहेका सोनु अन्सारीले ३५ तथा मिनाष थापाले १८ रन बनाए । अंकित सुवेदी १४ रनमा आउट भए ।

यसअघि टस जितेर फिल्डिङ रोजेको आयोजक निलो १७.५ ओभरमा ६७ रनमा अल आउट भयो । उसका लागि अर्जुन रायमाझीले २४ रन बनाए । मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोडे ।

कोशीका सर्वण यादवले ३.५ ओभरमा ८ रन दिएर ३ विकेट हात पारे । कमल खत्री र फिर्दोश अन्सारीले समान २–२ विकेट लिए ।

बिहीबार पोखरा रंगशालामा दुई सेमिफाइनल खेल हुनेछन् । पहिलो खेल विभागीय टोली नेपाल आर्मी र बागमती प्रदेश तथा दोश्रो खेल एपीएफ क्लब र मधेश प्रदेशकाबीच हुनेछ । फाइनल खेल शुक्रबार हुने छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: