Loktantra Khabar National Weekly
Ad

ताप्लेजुङ अनेरास्ववियु सह-संयोजक बानियामाथि खुकुरी प्रहार

लोकतन्त्र खबर
११ मंसिर २०८०

ताप्लेजुङमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला सह-संयोजक विवेक बानियामाथि खुकुरी प्रहार भएको छ।

सोमबार बिहान सवा १० बजे फुङलिङ नगरपालिका-४ पाथीभरा होटल नजिकै विवेक बानियामाथि खुकुरी प्रहार भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी ऋषिराम कंडेलले जानकारी दिए।

बानियामाथि सोही होटल नजिक बस्ने ३२ वर्षीय प्रेमराज लिम्बूले खुकुरी प्रहार गरेको एसपी कंडेलले बताए।

उनका अनुसार लिम्बु र बानियाबीच पुरानो लेनदेनको विषयमा झगडा भएको थियो। त्यसैबीच लिम्बूले खुकुरी प्रहार गरी बानियालाई घाइते बनाएका हुन्।

बानियाको दाहिने घुँडामा चोट लागेको छ। उनको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएको छ। प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्।

प्रेमराज लिम्बू घटनापछि फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईले यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्।

उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै उपचारको व्यवस्‍था मिलाउन पनि माग गरेका हुन्।

‘आज बिहान ताप्लेजुङ बजारमा अनेरास्ववियुका जिल्ला सह-संयोजक कमरेड विवेक बानियामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछु। अपराधीलाई तत्काल कारबाही गर्न र घाइते बानियाको उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनले भनेका छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: