Loktantra Khabar National Weekly
Ad

चन्द्रनगरमा चरम भ्रष्टाचार अध्यक्ष महतोविरुद्ध उपाध्यक्षसहित बहुमत सदस्य

लोकतन्त्र खबर
११ मंसिर २०८०

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो चरम भ्रष्टाचारमा लिप्त हुँदा कार्यालयको कामकाज पूर्ण रुपमा ठप्प रहेको छ ।असार १० गते ल्याउनुपर्ने बजेट अझै पनि ल्याउन सकेको छैन । पालिकाले बजेट ल्याउन नसक्दा विकास निर्माणको काम ठप्प छ भने पाँच महिनादेखि वृद्धवृद्धाले भत्ता पाउन सकेका छैनन् ।

बजेट नआउँदा कर्मचारीले समेत तलब पाउन सकेका छैनन् । चन्द्रनगर गाउँपालिकामा राजनीतिक द्वन्द्वका कारण बजेट आउन सकेको छैन । बहुमत नपुगेकाले बजेट ल्याउन नसकेको पालिका प्रमुख महतोले जानकारी दिए । चन्द्रनगरमा १५ जना जनप्रतिनिधिको कार्यपालिका समिति छ । जसमध्ये ३ जना अध्यक्ष र १२ जना उपाध्यक्ष पक्षधर छन् । उनीहरु एकआपसमा कुरा नमिल्दा बजेट आउन सकेको छैन् । असार १० गते नै गाउँसभा गरेर बजेट ल्याउनुपर्नेमा उपाध्यक्ष गीतादेवी महतोसहितका बहुमत सदस्यको अवरोधका कारण बजेट ल्याउन नसकिएको हो । उनले बजेट नआउँदा समग्र पालिकाको विकास निर्माण ठप्प बनेको जानकारी दिए ।

गाउँपालिकाले बजेट ल्याउन नसक्दा नागरिकले नगरबाट पाउने सेवासुविधासहित सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् । बजेट नआउँदा कर्मचारीलेसमेत तलब बुझ्न सकेका छैनन् । नेपाल शिक्षक महासंघ चन्दनगरका अध्यक्ष सरोजकुमार सिंहले दशैं तथा छठ जस्ता पर्वमा पनि चन्द्रनगर गाउँपालिकाका शिक्षक तथा कर्मचारीले तलब पाउन नसकेको गुनासो गरे । उनले पाँच महिनादेखि तलब नपाउँदा घर खर्च धान्न गा¥हो भएको बताउँदै तलबकै लागि आफूहरु आन्दोलनमा रहेको जानकारी दिए । उनका अनुसार राजनीतिक दलको स्वार्थका कारण शिक्षकसहित सम्पूर्ण कर्मचारी तथा आम नागरिक मारमा परेका छन् ।

अध्यक्ष महतोले गाउँसभा गर्नका लागि आफूले दर्जनौं पटक प्रयास गर्दा पनि उपाध्यक्षसहितको टोलीले अवरोध गर्दै आएको आरोप लगाए । उनले जायज मागका लागि आफू दत्तचित्त रहेको जनाउँदै गाउँसभाका लागि बोलाइएको छलफलमै उपाध्यक्षसहितको बहुमत सदस्य नआउने गरेको जानकारी दिए । उनले आफ्नो सफाइ दिँदा पनि उपाध्यक्ष सहितका कार्यपालिका सदस्यहरुले हरहिसाब दिन र हरहिसाब भइ रहेको बेला त्यहाँ बसेर जवाफ दिन भनेपछि उनी पटक पटक हरहिसाब छाडेर भाग्ने गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष गीतादेवीले अध्यक्ष महतोले गत वर्षको हिसाब नै नदिएका कारण गाउँसभा हुन नदिएको बताइन् । उनले अध्यक्ष महतोले बसेर सबै खर्चको हिसाब दिनुपर्ने तर्क राखिन् । ’हिसाब दिएर मात्र हुँदैन, उहाँ पनि बसेर हरेक हिसाबको बारेमा जानकारी पनि दिनुप¥यो,’ उनले भनिन्,’ अध्यक्ष महतो हिसाब भएको समय एकछिन बस्नु हुन्छ फेरि बाहिर निक्लिनुहन्छ, जसले हाम्रो चित्त बुझेको छैन ।’ उपाध्यक्ष गीतादेवीले आफूहरुको चित्त नबुझेसम्म गाउँसभा हुन नदिने बताइन् ।

अध्यक्ष महतोको भ्रष्टाचार चरममा पुगेको उनले आरोप लगाइन् । इमान्दार हुनु हुन्छ भने हरहिसाबमा किन बस्नु हुन्न भनि उनले प्रश्न गरिन् । चन्द्रनगरमा गाउँपालिका अध्यक्ष भएर आएदेखिनै उनी कर्मचारीलाई केरकार गर्ने, स्थायी कर्मचारीलाई वडामा, कार्यालयमा करारका कर्मचारी राखेर भ्रष्टाचार गर्ने गिरोह नै तयार पारेको उनले आरोप लगाइन् । अधिकांश कार्यपालिका सदस्यहरु अध्यक्ष महतोविरुद्धमा देखिएका छन् । कार्यपालिका सदस्यहरु भन्छन्–‘अध्यक्ष जी एनजीओ सञ्चालन गरेर आउनु भएको छ, उहाँले गाउँपालिका र एनजीओमा फरक बुझ्नु पथ्र्यो, बुझ्न सक्नु भएन् उहाँले गल्ती गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्: