Loktantra Khabar National Weekly
Ad

मुस्ताङ जाँदै गरेका जर्मन नागरिकको दुर्घटनामा मृत्यु

लोकतन्त्र खबर
२४ कार्तिक २०८०

मोटरसाइकल राइडमा उनीसँगै आएका थिए १५ विदेशी नागरिक म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ।

बिहीबार साँझ अन्नपूर्ण गाउँपालिका-३ काभ्रेभीरमा मोटरसाइकल दुर्घटनामा परी जर्मन नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए।

एच पी ६६ ए ३०५९ विदेशी नम्बर प्लेटको मोटरसाइकल ढुंगामा ठोक्किएको थियो। ढुंगामा ठोक्किएर जर्मन नागरिक म्यानफ्रेड ब्रिमर सडकबाट अन्दाजी ५० मिटर तल खसेको डिएसपी कुँवरले बताए।

बिहीबार साँझ ६ बजे दुर्घटना भएको भन्दै प्रहरीलाई खबर भएको थियो। उक्त खबरपाएपछि विपदको टोलीसँगै नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको थियो।

उक्त टोलीले मध्यराति करिब १२ ब्रिमरको उद्धार गरेको थियो। तर उद्धार गर्दा नै उनको मृत्यु भइसकेको डिएसपी कुँवरले बताए।

‘६ बजेतिर खबर पाएपछि घटनास्थलमा पुग्यौं। उद्धार गरिसक्दा उनको मृत्‍यु भइसकेको थियो,’ उनले भने। ब्रिमरको घाँटी फ्र्याक्चर भएको उनले बताए।

उनका अनुसार ब्रिमरसहित १५ जना विदेशीको टोली मोटरसाइकल राइडमा आएका थिए। ११ जना जर्मन र ४ जना स्पेनका नागरिक हुन्।

उनीहरू कहिलेदेखि राइडमा आएका थिए भन्ने खुलिसकेको छैन। तर मुस्ताङ घुम्न जाने क्रममा दुर्घटना भएको डिएसपी कुँवरले जानकारी दिए।

मृतक ब्रिमरको शव बेनी अस्पतालमा राखिएको छ। शव पोष्‍टमर्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।  सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: