Loktantra Khabar National Weekly
Ad

ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि

लोकतन्त्र खबर
२३ कार्तिक २०८०

जिल्लामा पछिल्लो समय ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि भएको छ । एउटा ट्रान्सफर्मरको लाखौं मूल्य पर्ने गरेकोले चोरहरु जिल्लामा ट्रान्सफर्मर चोरी गर्न यतिखेर सक्रिय भएका छन् ।

जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरमा दुई साता अघि ट्रान्सफर्मर चोरी गरिएको घटना सेलाउन नपाउँदै मंगलबार राति फेरि मौलापुर नगरपालिका–१ मर्यादपुरमा एक ट्रान्सफर्मर चोरी भएको छ । चोरहरुको समूहले रातिको समयमा मर्यादपुर गाउँमा लगाइएको खानेपानी ट्यांकीको उक्त ट्रान्सफर्मर चोरी गरेको छ । खानेपानी ट्यांकीको ट्रान्सफर्मर चोरी भएपछि खानेपानीको सेवा अवरुद्ध हुँदा स्थानीयहरु खानेपानीको सेवा पाउनबाट वञ्चित भएका छन् ।

केही वर्ष यता जिल्लाको विभिन्न ठाउँमा गरी दर्जनभन्दा बढी ट्रान्सफर्मर चोरी भइसकेको छ । सिंचाई र खानेपानीका लागि खास गरी गाउँ बस्ती भन्दा बाहिर खेतमा जडान गरिएको ट्रान्सफर्मर बढी चोरी हुने गरेको देखिएको छ । गाउँ भन्दा बाहिर लगाइएको ट्रान्सफर्मर चोरी गर्न निकै सहज हुने भएकोले चोरहरु त्यस्ता ट्रान्सफर्मर चोरी गर्न पल्केका छन् ।

गत वर्ष २०७९ सालमा गरुडा नगरपालिका–१ जयनगरबाट एउटा ट्रान्सफर्मर चोरी भएको थियो भने मौलापुर नगरपालिका–७ पथरा बुधरामबाटसमेत एक ट्रान्सफर्मर चोरी भएको थियो । यसै गरी कटहरिया नगरपालिकाबाट पनि एक ट्रान्सफर्मर चोरी भएको थियो । रौतहटमा यसरी लगातार ट्रान्सफर्मर चोरी भइरहँदा यसतर्फ प्रहरी प्रशासनको ध्यान जान सकेको छैन ।

एक वर्ष भित्रमा जिल्लाबाट दर्जनांै ट्रान्सफर्मर चोरी भए पनि प्रहरीले हालसम्म कसैलाई समात्न सकेको छैन भने हालसम्म एउटा पनि ट्रान्सफर्मर पत्तासमेत लगाउन सकेको छैन् । ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि भएपछि धेरै ठाउँमा खेतीपाती तथा बस्तीमा अँध्यारो भएको छ । ट्रान्सफर्मर चोरी हुन थालेपछि कृषिमा सिंचाई गर्न किसानहरुलाई निकै समस्या हुन थालेको गुनासो बढेको छ । जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: