Loktantra Khabar National Weekly
Ad

आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स विकास गर्दै एप्पल, नयाँ आइफोनमा उपलब्ध हुने

लोकतन्त्र खबर
२१ कार्तिक २०८०

माइक्रोसफ्ट, गुगलसमेत विश्वका कैयन् ठुला प्रविधि कम्पनीहरुले आफ्नै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स विकास गरिसकेका छन् ।

गुगलले आफ्नो पछिल्लो पिक्सेल ८ सिरिजको फोनमा विभिन्न फिचरहरु राखेको छ । ती फिचरको मद्दतबाट प्रयोगकर्ताहरुले पिक्सेल स्मार्टफोनमा नयाँ अनुभव गर्न पाउनेछन् । यद्यपि एप्पलले भने जेनेरेटिभ एआईको क्षेत्रमा अहिलेसम्म कुनै ठुलो काम गरेको छैन ।

धेरै मानिसहरु एप्पलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कहिले लन्च गर्दछ भन्ने पर्खाइमा छन् । अन्ततः यो प्रश्नको जवाफ एप्पलका सीईओ टिम कुकले दिएका छन् ।

उनका अनुसार एप्पलले जेनेरेटिभ एआईको विकासमा काम गरिरहेको छ । त्यसैले एप्पल प्रयोगकर्ताहरुले निकट भविष्यमै एप्पलको आफ्नै एआई देख्न पाउनेछन् ।

हालै लगानीकर्ताहरुसँगको बैठकका क्रममा टिम कुकले यो विषयमा प्रकाश पारेका छन् ।

गत अगष्टमा कुकले लामो सामयदेखि कम्पनीले जेनेरेटिभ एआईमा काम गरिरहेको बताएका थिए । उनका अनुसार एप्पल एउटा यस्तो आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तयार गर्न चाहन्छ जसलाई लामो समयसम्म प्रयोग गर्न सकियोस् ।

कुकले जेनेरेटिभ एआई प्रविधिको जिम्मेवार विकास तथा एकीकरणमा जोड दिएका छन् । यद्यपि एप्पलको उक्त परियोजनाका विषयमा उनले हालसम्म थप खुलासा भने गरेका छैनन् ।

लगानीकर्ताहरुसँगको बैठकमा कुकले यस क्षेत्रमा एप्पलले निकै धेरै लगानी गर्न लागेको जानकारी दिए । भविष्यमा यो प्रविधि एप्पलका प्रडक्टहरुको हिस्सा बन्ने उनको भनाइ छ ।

एप्पलले बल्लतल्ल एआईको विकासमा काम गरिरहेको कम्पनीका सीईओ कुकले बताइरहँदा प्रतिस्पर्धी कम्पनीहरु गुगल तथा माइक्रोसफ्टले भने एआई विकसित गरी आफ्ना प्रडक्टहरुमा आबद्ध गरिसकेका छन् ।

स्मरण रहोस् एप्पलले हालै आफ्नो आइफोन १५ तथा आइफोन १५ प्रो सिरिज लञ्च गरेको छ । यी दुवै सिरिजका कुल चारवटा फोनको बिक्री पनि सन्तोषजनक रहेको छ ।

आगामी सिरिजका फोनबाट मात्रै एप्पलले आफ्नै एआई प्रविधिलाई पनि समेट्न सक्ने अपेक्षा गरिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: