Loktantra Khabar National Weekly
Ad

आरती साह मृत्यु प्रकरणमा हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का

लोकतन्त्र खबर
२१ कार्तिक २०८०

आरती साहका परिवारमाथि कुटपिट गरेको आरोप लागेका धनुषाका एसपी विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालय नक्सालले एसपी खड्कालाई हेडक्वार्टर तानेको उपप्रधान एवं गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेराफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाई प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ। यसअघि डिएसपी बेदप्रकाश गौतमलाई पनि प्रधान कार्यालय तानिसकेको थियो।

आरती साहको माइतीपक्ष मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार १ गतेदेखि माइतीघर मण्डलमा अनसन बसेका छन्।

धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो।

समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक नेपालका प्रतिनिधि लगायतसँग जानकारी लिएको छानबिनमा संलग्न रहेका समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

आरतीका आमाबुबासहित आफन्तले घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंस्थित माइतीघर मण्डलामा लामो समयदेखि धर्ना दिँदै आएका थिए। माइती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: