Loktantra Khabar National Weekly
Ad

दुर्गा प्रसाईंबारे प्रधानमन्त्रीसँग कुनै कुरा भएको छैनः एमाले

लोकतन्त्र खबर
१३ कार्तिक २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर विवादित व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न आग्रह नगरेको एमालेले जनाएको छ।

उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा संक्रमणकालीन न्याय टुंगो लगाउने विषय र अरू समसामयिक राजनीतिकबाहेक अरू विषयमा कुरा नभएको बताए।

‘प्रसाईंका विषयमा कुनै कुरै भएको छैन, यो बेकारको कुरा हो,’ अध्यक्ष ओलीको भनाइ उदृत गर्दै ज्ञवालीले भने,‘कर्कलो काट्न बञ्चरो प्रयोग गर्नुपर्छ भन्ने नै छैन, प्रधानमन्त्रीसँग यस्ता विषयमा छलफल गर्ने कुरा नै आउँदैन।’

ज्ञवालीले एमालेविरूद्ध माओवादीले प्रोपोगाण्डा गरेको बताए।

आइतबार बिहान माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग प्रसाईंबारे कुराकानी भएको र ओलीले प्रसाईंलाई पक्राउ गर्नुपर्ने बताएको ब्रिफिङ गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं लामो समयसम्म यी दुबै नेताका निकटस्थ मानिन्थे।

पछि एमालेतिर लागेर प्रसाईं एमालेका केन्द्रीय सदस्यमा मनोनीत समेत भएका थिए। नेकपा विभाजन भएपछि एमालेतिर लागेका प्रसाईंले प्रचण्डलाई बुवा र केपी शर्मा ओलीलाई हजुरबुवा भन्ने गर्थे।

यी नेताहरूकै आडमा उनले विभिन्न बैंकबाट लिएको ऋणको किस्ता तिर्न छोडेपछि बैंकहरूले उनलाई बारम्बार ताकेता गरेका थिए। यसबेला भने ती राजनीतिक साथ र समर्थन नपाएपछि उनले आफैंले हजुरबुवा भन्दै आएका पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरूद्ध अभिव्यक्ति दिन सुरू गरेका थिए।

सामाजिक सञ्जाल र युट्युबहरूमा अध्यक्ष ओलीका विरूद्ध तथानाम बोल्न थालेपछि प्रसाईं एमालेका लागि टाउको दुखाइको विषय बनेका हुन्।

‘तर प्रसाईंको हावादारी कुराहरूमा एमाले गम्भीर बनेर प्रधानमन्त्रीलाई आग्रह गर्नुपर्ने स्थितिमा छैन,’ ज्ञवालीले भने।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: