Loktantra Khabar National Weekly
Ad

नेपालले २० महिनापछि यूएईसँग टी-२० आई खेल्दै

लोकतन्त्र खबर
१ कार्तिक २०८०

काठमाडौं कात्तिक १ ,  नेपाल टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली नेपालले यूएईसँग खेल्दैछ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी-२० सिरिजमा नेपाल र यूएईसहित हङकङ पनि सहभागी छ ।

नेपाल र यूएई २० महिनापछि टी-२० आईमा भिड्न लागेका हुन् ।

यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी-२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो ।

यूएईले भने टी-२० विश्वकपमा स्थान बनाउँदै अष्ट्रेलिया टी-२० विश्वकप खेलेको थियो ।

त्यही टी-२० विश्वकप छनोटको तयारी स्वरुप भएको चारदेशीय टी-२० सिरिजमा पनि नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

पछिल्लो समय लगातार वानडे क्रिकेट खेलिरहेको नेपाली टोली अब टी-२० फर्म्याटमा अभ्यस्त हुने प्रयासमा छ । नेपाल केही समयअघि चीनको हान्झाउमा भएको १९औं एसियाडमा टी-२० फर्म्याटमै खेलेको थियो । जहाँ मंगोलियाविरुद्ध कीर्तिमानको वर्षा गरेको नेपाल क्वाटरफाइनलमा भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै बाहिरिएको थियो ।

टी-२० आईमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेलेको छ । जसमा यूएई तीन खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ ।

नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी-२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २-१ ले जितेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

त्यसै सिरिजमार्फत टी-२०आईमा डेब्यु गरेका अभिनाश बोहरा प्लेअर अफ दि सिरिज बनेका थिए ।

एसियाडबाट नेपाली टिममा फर्केका अभिनाशले पुरानो लय भेट्टाएको बताएका छन् र यस पटक पनि नेपाली टिममा छन् ।

नेपालले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली टी-२० सिरिजका लागि घोषणा गरिसकेको छ । एसियाडको टिममा रहेका स्पीनर सन्दीप लामिछाने व्यक्तिगत कारणले देखाउँदै यस पटक टिममा छैनन् भने लोकश बम, ललित राजवंशी र सूर्य तामाङले टिममा पुनरागमन गरेका छन् ।

विश्वकप छनोटलाई ध्यानमा राख्दै नेपालले यस पटक टोलीमा १८ खेलाडी राखेको हो । विश्वकप छनोटका लागि अभ्यास सिरिज जस्तो रहेकोले प्रशिक्षक मोन्टी देसाइले खेलाडीहरुलाई अवसर दिने सम्भावना छ ।

यूएईले मोहम्मद वासिमको कप्तानीमा खेल्नेछ ।

नेपालका कप्तान रोहित र यूएईका कप्तान वासिमले विश्वकप छनोटअघि हुन लागेको यस सिरिजले धेरै सहयोग पुग्ने बताएका छन् ।

सिरिज डबल राउण्ड रोविनका आधारमा हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

यसै खेलबाट मुलपानी क्रिकेट मैदानले टी-२० आई मा डेब्यु गर्नेछ । यसअघि ओडीआई खेल भइसकेको मुपानीमा पहिलो पटक टी-२० आई खेल हुन लागेको हो ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: