
मनोज यादव
सर्लाही ,असोज ३०
बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारको लागि सर्लाही जिल्ला मै पहिलोपटक पढाइ मेलाको आयोजना गरिएको छ । बालबालिकाको शिक्षण सिकाइ, पाठ्य सामाग्री तथा अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने उदेश्यका साथ जिल्लाको गोडैता नगरपालिका वडा न-५ स्थित श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभुत विद्यालय रामबनमा पहिलो पटक पढाई मेलाको आयोजना गरिएको हो।
विद्यालयमा जस्तै घरमा पनि बालबालिकाहरुलाई पढ्ने वातावरण तयार गर्नका लागि परिवार र समुदायलाई सहयोग पुर्याउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका शिक्षा अधिकृत निरज कुमार मिश्रले जानकारी दिए। यस किसिमको मेलाबाट बालबालिकाहरुमा पढाइको वातारण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निमार्ण प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकलापहरु ब्यवस्थापन तथा संचालन गर्न सहयोग पुर्याउनुका साथै विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक विकास एवं सुधार गर्न मद्दत पुग्ने मिश्रले बताए ।
यसले आधारभूत तहका विधार्थीहरुमा पढाइको साथसाथै लवाइ खुवाइ, व्यक्तिगत सरसफाइ, सिकाई र सिप विकासमा समेत महत्वपुर्ण भूमिका खेल्ने उनले बताए ।
श्रीमति सरस्वतीदेवी कुशवाहा आधारभुत विद्यालयको प्रांगणमा भएको मेलामा विद्यार्थीहरुले नै निर्माण गरेका विभिन्न किसिमका शिक्षण सामाग्रीहरु प्रदर्शनमा राखिएको थियो।यस बाहेक फुड स्टल,कृषि उत्पादन स्टल, खेलकुद सामाग्री स्टल र किशोर किशोरी मैत्री हेल्थ डेक्स राखिएको थियो। मेलामा आएका विद्यार्थी तथा स्थानीयहरुको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताको पनि आयोजना गरिएको थियो। मेला हेर्न पुगेका दर्शकहरुलाई प्रदर्शनीमा राखिएका सामाग्रीहरुको बारेमा समेत जानकारी गराइएको थियो।
यस किसिमको मेलाहरुको आयोजना गर्दा विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै शिक्षकहरुको शिक्षण र विद्यार्थीहरुको सिकाइमा पनि सुधार आउने प्रधानाध्यापक राम प्रकाश महतोको भनाइ छ। पढाइ मेलाले विद्यार्थीहरुको बाहिरी ज्ञान र सिकाइलाई एक अर्कामा आदान प्रदान गर्ने अवसर प्रदान गरेकोले विद्यार्थीहरुको पढाइ प्रति रुचि बढाउन यस्ता मेलाहरु विद्यालय पिच्छे कम्तिमा वर्षको २ पटक आयोजना गर्न उनले आयोजकलाई सुझाव दिए।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाको साझेदारीमा गोडैता नगरपालिकामा संचालित समुन्नति परियोजना अन्तर्गत मेलाकोआयोजना गरिएको केन्द्रका शिक्षा अधिकृत मिश्रले जनाएको छ।मेला अवलोकन गर्न आएका विद्यार्थीहरु मात्र नभइ शिक्षक,अभिभावक र स्थानीयहरु पनि निकै उत्साहित देखिएका थिए।