Loktantra Khabar National Weekly
Ad

प्रहरीले गायब पारेको बिनु यादवको बलात्कारको जाहेरी

लोकतन्त्र खबर
२४ आश्विन २०८०

बिनु यादव गएको डेढ वर्षदेखि आन्दोलनमा छिन्।

कहिले सर्वोच्च अदालतमा रातो रङ छ्यापेर विरोध प्रदर्शन गर्छिन्, कहिले माइतीघर मण्डलमा आमरण अनसन बस्छिन्। उनले रामेछापको जिल्ला अदालतमै विष सेवनसमेत गरेकी थिइन्।

बिनुलाई न्यायका लागि सडकदेखि अदालतसम्म धाइरहनुपर्ने अवस्थामा पुर्‍याएको नेपाल प्रहरीको गैरजिम्मेवारीले हो।

चार वर्षअघि आफू बलात्कारमा परेको जाहेरी लिएर काठमाडौं प्रहरी परिसरको महिला सेल पुगेकी बिनुलाई प्रहरीले नै आरोपीको परिवारसँग ‘मिलाएर’ पठाएको पाइएको छ।

त्यति बेला प्रहरीले उनको जाहेरी दर्ता मात्र गरेन, उनलाई बलात्कार पीडितका रूपमा सांकेतिक नाम दिनुका साथै स्वास्थ्य परीक्षणका लागि अस्पतालसमेत पठायो। तर त्यसपछि अनुसन्धान अघि बढाउनु त परै जाओस्, प्रहरीले उनको जाहेरी नै ‘गायब’ पारिदियो।

यसरी प्रहरी अधिकारीहरूले कानुनबमोजिम ड्युटी निर्वाह नगर्दाको भुक्तमान बनेकी बिनु यादव चार वर्षपछि पनि उक्त घटनाले उत्पन्न गराएका थप पीडा झेलिरहेकी छन्।

यो सिलसिला सुरू हुन्छ, २०७६ वैशाख ३० गते।

त्यस दिन बिनुले कालिमाटीस्थित काठमाडौं प्रहरी परिसरको महिला सेलमा गएर रामेछापका प्रदीप कठायतले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन्।

उनको जाहेरीपछि उक्त कार्यालयले बिनुलाई सांकेतिक नाम दिएको थियो। तर प्रहरीको मुद्दा दर्तासम्बन्धी अभिलेखमा बिनुको जाहेरीको कुनै रेकर्ड भेटिन्न।

त्यो दिन प्रहरीले जाहेरी दर्ता गरेको नम्बर र बिनुलाई दिएको सांकेतिक नाम सेतोपाटीले फेला पारेको छ।

बिनुको जाहेरी ‘मुद्दा नम्बर २४५४’ भनेर दर्ता भएको थियो। त्यसमा उनको सांकेतिक नाम राखिएको थियो- २६ परिसर ज्ञ (४६) २०७५/०७६। बलात्कारसम्बन्धी मुद्दामा पीडितको परिचय गोप्य राख्न यस्तो सांकेतिक नाम दिइन्छ।

यसरी सांकेतिक नाम दिएपछि काठमाडौं प्रहरी परिसरका तत्कालीन इन्सपेक्टर अनिल अधिकारीले बिनुको स्वास्थ्य परीक्षण निम्ति प्रसुति गृह लैजान अनुमतिमा हस्ताक्षर गरेका थिए।

त्यसपछि बिनुलाई प्रसूति गृह थापाथली लगिएको थियो। प्रसूति गृहले बनाएको रिपोर्ट पनि सेतोपाटीले फेला पारेको छ।

यति प्रक्रिया पूरा गरिसकेपछि प्रहरीले अनुसन्धान अघि बढाउनुपर्ने थियो। तर प्रहरीले आफ्नो काम नगरेको मात्र होइन, बिनुको जाहेरी नै अभिलेखबाट गायब पारेको छ।

बलात्कारमा परेँ भन्दै आएको जाहेरीलाई दर्ता नम्बर र पीडितको संकेतिक नामसमेत दिएपछि दर्ता गरे सरह मानिने महान्यायाधीवक्ता कार्यालयका एक अधिकारी बताउँछन्।

‘दर्ता नम्बर र सांकेतिक नाम दिनु भनेकै दर्ता गर्नु हो। त्यसमाथि स्वास्थ्य परीक्षणसमेत गरिसकेको अवस्थामा जाहेरी दर्तै भएको छैन भन्न मिल्दैन,’ ती अधिकारीले भने, ‘प्रहरीले स्वास्थ्य परीक्षण गर्न त्यसै पठाउन्न। मुद्दा दर्ता भएपछि मात्र स्वास्थ्य परीक्षण गर्ने हो। विधि त्यही हो। त्यत्रो प्रक्रिया पूरा गरिसकेपछि कि त जाहेरी तामेलीमा जानुपर्छ कि सरकारी वकिलकहाँ प्रतिवेदन पुग्नुपर्छ। यति भएको छैन भने त्यो प्रहरीको त्रुटि हो।’

हामीले त्यो बेला कालिमाटीमा कार्यरत तत्कालीन इन्सपेक्टर अनिल अधिकारी र तत्कालीन असई गीता थापालाई बिनुको जाहेरीमा किन अनुसन्धान नबढाएको भनेर सोधेका थियौं। अधिकारी हाल काठमाडौं प्रहरी परिसरमै डिएसपी छन् भने थापा सई भएर सर्वोच्च अदालतको पोस्टिङमा छिन्।

अनिल अधिकारीले त्यो दिन राति आफू नै ड्युटी अफिसर भएकाले स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाने अनुमतिमा हस्ताक्षर मात्र गरिदिएको बताए।

‘त्यो दिन महिला सेल प्रमुख बिदामा हुनुहुन्थ्यो। प्रहरी परिसरको अनुमति चाहिने भएकाले मैले अनुमतिका लागि हस्ताक्षर गरिदिएको हुँ,’ उनले भने, ‘अरू सबै महिला सेलले नै गर्ने हो, त्यसैले उतै सोध्नुहोस्, मलाई थाहा भएन।’

गीता थापाले भने आफूले यसबारे सम्बन्धित निकायलाई जवाफ दिइसकेको र चार वर्षअघिको घटना भएकाले विस्तृतमा केही नसम्झिने बताइन्।

‘यो घटनाबारे सबै कुरा भन्नुपर्ने निकायमा भनिसकेको छु। धेरै कुरा मैले बिर्सिएँ पनि,’ उनले भनिन्, ‘तपाईंसँग भन्नुपर्ने केही छैन।’

उनीहरूले गएको जेठमा काठमाडौं प्रहरी परिसरलाई बिनुको जाहेरीमा अनुसन्धान नबढाउनुको कारणसहित स्पष्टीकरण लेखेर पठाएका थिए।

गीताले आफ्नो स्पष्टीकरणमा बिनुको जाहेरी लिएर स्वास्थ्य परीक्षण गर्न पठाएको स्वीकार गरेकी छन्। स्वास्थ्य परीक्षण गरेको पाँच दिनपछि बिनुले ‘आवेगमा आएर जाहेरी दिएकाले त्यसलाई अघि नबढाउन निवेदन दिएको’ पनि उल्लेख छ।

‘२०७६ वैशाख ३० गते बिनु यादवले प्रदीप कठायतविरूद्ध जबर्जस्ती करणीको मुद्दमा जाहेरी दरखास्त लिई आएपश्चात मैले तत्काल निजलाई स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित प्रसूति गृहमा पठाएको हो। त्यो दिन स्वास्थ्य परीक्षण गर्दैमा समय बितेपछि भोलिपल्ट बोलाएकोमा उपस्थित भइनन्। हामीले पटकपटक फोन गर्दा पनि उनी आइनन्,’  गीताले स्पष्टीकरणमा भनेकी छन्।

उनी अगाडि लेख्छिन्, ‘एकैपटक जेठ ५ गते स्वयं उपस्थित भई निज प्रदीप कठायतले मसँग बिहे नगरेका कारण रिसको आवेगमा आई मैले जबर्जस्ती करणीमा जाहेरी दरखास्त दिएको हुँ। मैले दिएको जाहेरीउपर कारबाही नगरिदिएमा पछि उक्त विषयमा कहीँ पनि उजुरबाजुर गर्ने/गराउने छैन भनी जिल्ला प्रहरी परिसर टेकुबाट तोक लगाइदिएको निवेदनसहित उपस्थित भएकी हुँदा हामीले उक्त जाहेरी दरखास्त यथास्थितिमै राखेको हो।’

अनिल अधिकारीले पनि आफ्नो स्पष्टीकरणमा यस्तै जवाफ दिएका छन्।

पीडितले होस्टाइल निवेदन दिँदैमा मुद्दा अघि नबढाएको भन्ने प्रहरीको भनाइ नै गैरजिम्मेवारपूर्ण देखिएको एक नायब महान्यायाधीवक्ता बताउँछन्।

‘यसमा त सरासर प्रहरीको त्रुटि देखिन्छ। मैले दिएको जाहेरीमा कारबाही नगरिदिनू भन्ने पीडितको निवेदन प्रहरीले लिने कानुन नै हामीकहाँ छैन,’ उनले भने, ‘यस्तो निवेदनका आधारमा अनुसन्धान प्रक्रिया यथास्थितिमा राखेँ भन्नु नै प्रहरीको गैरजिम्मेवारी हो।’

बिनुले भने स्वास्थ्य परीक्षणपछि बाँकी औपचारिकता पूरा गर्न भोलिपल्ट प्रहरी कार्यालय जाँदा प्रदीपका मामा डिएसपी सुरज कार्की आएर आफूलाई धम्क्याएको बताएकी छन्।

तत्कालीन असई गीताले नै प्रदीपका मामा डिएसपी कार्कीसँग कुरा गर्न लगाएको बिनुको भनाइ छ।

‘महिला सेलको उपल्लो तलाको कोठामा लगेर गीता म्याडमले मलाई सुरज कार्कीसँग कुरा गर्न लगाउनुभएको थियो। छलफल गर्नुहोस्, कुरा नमिले जाहेरी दर्ता हुन्छ भन्नुभएको थियो। त्यहीँ मलाई सुरजले मेरो भान्जा हराएको भनेर तिमीविरूद्ध मुद्दा हाल्दिएँ भने तिमी नै पक्राउ पर्छौ भनेर धम्क्याए,’ बिनुले सेतोपाटीसँग भनिन्, ‘तिमीले जाहेरी दियौ भने हामी पनि मुद्दा हाल्छौं। फिर्ता लियौ भने प्रदीप र तिम्रो बिहे गराइदिन्छौं भनेर धम्की र प्रलोभन एकैपटक देखाए।’

सुरज कार्कीले गएको जेठ १४ गते काठमाडौं प्रहरी परिसरलाई जवाफ दिँदै बिनुले झूटो आरोप लगाएको दाबी गरेका छन्।

‘बिनु यादव मेरी भान्जी बुहारी हुन्। तर उनीसँग मेरो भेट, कुराकानी, फोन केही भएको छैन। मैले निज बिनु यादवलाई त्रासमा पारी जाहेरी तथा निवेदन फिर्ता लिन कुनै किसिमको डर-धम्की दिएको छैन। बिनु यादवले उल्लेख गरेको व्यहोरा झूटा, बनावटी र आधारहीन छ। भेटघाट र फोन सम्पर्क नरहेको हुँदा मेराविरूद्ध अन्य काल्पनिक मुद्दा दर्ता गराउन खोज्दा सम्भव नभएपछि चरित्र हत्या गर्ने उद्देश्यले काल्पनिक व्यहोरा रचेर उक्त निवेदन दिएको हुनुपर्छ,’ उनले भनेका छन्।

सेतोपाटीले कार्कीलाई पनि ‘भान्जाविरूद्धको जाहेरी फिर्ता गराउन पीडितलाई तपाईंले धम्की दिनुभएको हो?’ भनेर सोधेको थियो।

‘मैले यसबारे धेरै ठाउँमा जवाफ दिइसकेँ। मेरो भान्जासँग उनको बिहे भएको थियो। मैले उनलाई कुनै दबाब दिएको छैन। चार वर्षअघि मेरो पोस्टिङ त्यहाँ छँदा पनि थिएन, कसरी मैले दबाब दिनु?’ कार्कीले भने, ‘प्रदीपका मामा भएकाले मलाई आरोप लगाएकी हुन्। उनले मेरा भिनाजुलाई पनि र अस्पतालका डाक्टरलाई पनि आरोप लगाएकी छन्। उनले रिस उठेका सबैलाई आरोप लगाएकी छन्, जसको पुष्टि कतैबाट हुन्न।’

यसै क्रममा बिनु यादव गएको जेठमा न्याय पाऊँ भन्दै आमरण अनसन बसेपछि गृह मन्त्रालयले यस विषयमा महान्यायाधीवक्ता कार्यालयको सम्बन्धित निकायले अनुसन्धान गर्ने सहमति गरेको थियो।

त्यही सहमतिअनुसार महान्यायाधीवक्ता कार्यालयको एउटा छानबिन समितिले अनुसन्धान गरिरहेको छ।

छानबिन समितिमा रहेका एक सरकारी वकिलले प्रहरीले जाहेरी लिएपछि अनुसन्धान नबढाएर गल्ती गरेको बताए।

‘यो केसमा जाहेरी दर्तापछि पूरा गर्नुपर्ने प्रक्रियाहरू चलाएका प्रमाण भेटिन्छन्। त्यसैले दर्ता किताबमा चढाएको छैन भन्दैमा दर्ता गरेको छैन भन्न मिल्दैन,’ उनले भने, ‘अर्कातिर फौजदारी मुद्दा परिसकेपछि त्यसमा अनुसन्धान गर्नु राज्यको दायित्व हो। पीडितको काम सूचना दिने हो, त्यसपछि उसको काम सकिन्छ।’

उनले अगाडि भने, ‘पीडित कमजोर हुन्छ भनेरै यस्ता मुद्दा सरकारले लड्छ। त्यसैले पीडितले अनुसन्धान नबढाउनू भनेर दिएको निवेदनको कुनै अर्थ नहुनुपर्ने हो।’

‘फौजदारी मुद्दाको जाहेरी दर्ता प्रक्रियामा गएपछि प्रहरीले फिर्ता गर्नै मिल्दैन,’ ती सरकारी वकिलले भने।

महान्यायाधीवक्ता कार्यालयकै अर्का अधिकारीले भने यो मुद्दाको दर्ता प्रक्रियामा भए पनि दर्ता भइनसकेको अवस्था देखिएको बताए। त्यसमा पीडितले दिएको निवेदनलाई कसरी हेर्ने भन्ने प्रश्न हुने उनको भनाइ छ।

‘प्रहरीले दर्ता किताबमा मुद्दा दर्ता गर्नुअघि नै सांकेतिक नाम दिने र स्वास्थ्य परीक्षण गराउने अभ्यास हुन्छ। जबकि यो प्रक्रिया दर्ता भइसकेपछि मात्र गर्ने हो। त्यसैले दर्ता किताबमा चढाएपछि मात्र त्यसले औपचारिकता ग्रहण गर्छ,’ उनले भने, ‘यो मुद्दा पनि किताबमा दर्ता भएको रहेनछ। तैपनि प्रहरीले प्रक्रिया सुरू गर्‍यो। त्यो प्रक्रियाको बीचैमा बलात्कारको जाहेरी दिएकी पीडितले अनुसन्धान नगर्न निवेदन दिइन्।’

‘पीडित नाबालिग होइन। त्यसैले यसमा केही प्रश्न छन्। हामीले छानबिन त गरिरहेकै छौं। तर यसमा हामीले बोल्न मिल्ने क्षेत्राधिकार छ कि छैन भन्ने पनि हेर्नु छ। पहिला अनुसन्धान सकूँ अनि कुरा गरौंला,’ उनले भने।

बिनुले कारबाही नबढाउन भन्दै दिएको भनिएको निवेदनमा अचम्मको कुरा के छ भने, त्यसमा आरोपी प्रदीप कठायत, उनका काका पवन र मामा सुरेन्द्र कार्की नै रोहवरमा बसेका छन्।

बिनुले जसलाई आरोप लगाएकी हुन्, उनकै नाम रोहवरमा रहनुले उक्त निवेदन करकापमा दिइएको पुष्टि हुने एक सरकारी वकिल बताउँछन्।

‘यति पनि नबुझेर प्रहरीले बिनुको जाहेरी यथास्थितिमा राख्नु भनेको कि त बदनियत हो कि अक्षमता हो,’ उनले भने।

बिनुले भने आफूले अनसन तोडेको यतिका महिना बित्दा पनि गृह मन्त्रालयले बाचा पूरा नगरेको बताइन्।

‘गृह मन्त्रालय गएँ भने महान्यायाधीवक्ताकहाँ पठाउँछन्, त्यहाँ गएँ भने तपाईंको माग अदालतको फैसलापछि पूरा हुन्छ भन्छन्। म त धाउँदा धाउँदा हैरान भइसकेँ,’ उनले भनिन्, ‘घटना बेलाको मेरो घाउ अहिलेसम्म सन्चो भएको छैन। न न्यायको टुंगो छ।’

बलात्कारको जाहेरी दर्ता नभएपछि उसैसँग बिहे र काका ससुराको यौन शोषणमा फसेकी बिनु

बिनुका अनुसार प्रदीप र उनको चिनजान २०७५ को सुरूतिर भएको थियो। उनीहरू कलेज पढ्दै थिए। बिस्तारै सम्बन्ध गाढा हुँदै गयो।

त्यसै वर्ष अन्त्यतिर दुवैको सम्बन्धबाट बिनु गर्भवती भइन्।

प्रदीपले गर्भपतन गराउन भने। तर उनले मानिनन्। उनी प्रदीपसँगै बिहे गरेर परिवार अघि बढाउन चाहन्थिन्।

तीन महिना हुन नपाउँदै बिनुको पेट दुख्न थाल्यो। दुखाइ धेरै भएपछि उनी अस्पताल गइन्।

उनको पाठेघरको नलीमा बच्चा बसेको रहेछ। डाक्टरले बच्चा फाल्नुपर्ने अवस्था आएको बताए। बिनुले प्रदीपलाई बोलाइन्। उनी आए।

चैत १९ गते बिनुको शल्यक्रिया भयो। प्रदीपले चैत २२ गते सिनामंगलस्थित श्री गेस्टहाउसमा बिनुलाई लगेर राखे।

बिनु दुई दिन होटलमा एक्लै बसिन्।

चैत २४ गते बिहान साढे ८ बजे प्रदीप आए। बिनु चल्न सक्ने अवस्थामा थिइनन्। तैपनि प्रदीपले शारीरिक सम्बन्ध राख्न पहल गरे। तर बिनुले मानिनन्।

‘मेरो कुरा सुन्दै नसुनी म अपरेसन गरेको बिरामीलाई जबर्जस्ती गर्‍यो। म प्रतिवाद गर्न सक्ने अवस्थामा थिइनँ। उसले जबर्जस्ती गर्दा म पीडाले बेहोस हुन पुगेछु। जबर्जस्ती करणीले अपरेसन गर्दा पेटमा सिलाएको टाँका चुँडिएर घाउ फुट्यो,’ बिनुले भनिन्।

असह्य पीडा भएपछि उनले रोइकराइ गरिन्। उनलाई तत्कालै ट्याक्सीमा शिक्षण अस्पताल महाराजगन्ज लगियो।

‘अस्पताल लैजाँदा भर्‍याङबाट लडेर टाँका फुस्किएको भन् है भनेर प्रदीपले फकाएको थियो,’ उनले भनिन्, ‘तिमीलाई बिहे गर्छु भनेर पनि भनेको थियो।’

अस्पतालबाट फर्किएपछि प्रदीपले उनलाई जडिबुटीको एउटा होटलमा राखे र आफू बेपत्ता भए।

‘त्यसपछि उसले मेरो फोनै उठाएन। दुई-तीन दिन होटलमा बस्दा पनि नआएपछि म त्यहाँबाट निस्किएँ,’ उनले भनिन्, ‘म त्यो बेला आमा र भाइबहिनीसँग बस्थेँ, तर आमाकहाँ जाने हिम्मत आएन।’

उनी १५ दिनसम्म आफूले काम गर्ने अफिसमै बसिन्। त्यसबीच आफूलाई बलात्कार गरेको भनेर प्रदीपविरूद्ध मुद्दा लड्न बल जुटाइरहेको उनी बताउँछिन्।

यही बलले उनलाई कालिमाटीस्थित काठमाडौं प्रहरी परिसरको महिला सेल पुर्‍यायो।

महिला सेलमा जाहेरी दर्ता गरेको दिन आफूलाई प्रसूति गृह लगेर स्वास्थ्य परीक्षण गरिएको र त्यसको भाोलिपल्ट फेरि डाकिएको उनको भनाइ छ।

‘घटनास्थलको मुचुल्का उठाउन जाने भनेर भोलिपल्ट बोलाइएको थियो। म र मेरी बहिनी गएका थियौं। हामी पुग्न नपाउँदै दुई जना मान्छे कुरा गर्न आए। उनीहरू प्रदीपका मामाहरू सुरेन्द्र कार्की र सुरज कार्की रहेछन्। मैले त चिनेकै थिइनँ। सुरज कार्की त्यति बेला इन्सपेक्टर रहेछन्,’ उनले भनिन्।

‘त्यसपछि म असई गीता थापाकहाँ गएँ,’ उनले अगाडि भनिन्, ‘गीता म्याडमले नै सुरज कार्की, सुरेन्द्र कार्की, म र मसँगै गएकी बहिनी विमला यादवलाई महिला सेलको माथिल्लो कोठामा लिएर जानुभयो।’

माथि पुगेपछि गीता र सुरेन्द्र निस्किए। अनि सुरज कार्कीले बिनुलाई एक्लै राखेर कुरा गरे।

‘गीता म्याडमले यहाँ छलफल गर्नू, कुरा नमिले मुद्दा दर्ता हुन्छ भन्नुभयो,’ बिनुले भनिन्, ‘सुरजले भने मलाई फकाउन र धम्क्याउन सुरू गरे। पहिला तिम्रो अपरेसन खर्चको दोब्बर पैसा दिन्छौं, पैसा लिएर केस मिलाऊ भने। त्यसपछि तिम्रो मुद्दाले कसैलाई कारबाही हुँदैन भनेर धम्क्याए।’

बिनुले सुरजको कुरा मानिनन्।

आफूलाई अलपत्र पार्ने, धोका दिने र बलात्कार गर्नेलाई यत्तिकै छाड्न उनलाई मन भएन।

उनले तल झरेर असई थापालाई भेटिन्।

‘उनलाई मेरो मुद्दा दर्ता गरिदिनू, म यस्तो अन्याय परेको मानिस मिल्न सक्दिनँ भनेर हात समाएर रोएँ,’ बिनुले भनिन्।

हामीले यिनै कुरा गीतालाई सोध्दा उनले आफूलाई सबै याद नभएको बताइन्।

बिनु भने त्यो दिन गीताले मुचुल्का उठाउन नभ्याइने भन्दै आफूलाई फर्काएको बताउँछिन्।

‘उहाँले मुचुल्का उठाउन जान हामीसँग गाडी छैन, एक-दुई दिनमा तिमीलाई फोन गर्छु अनि आफ्नो एक जना मानिस लिएर आउनू भन्नुभएको थियो,’ बिनुले भनिन्, ‘यति भनेपछि हामी फर्कियौं।’

बिनु भोलिपल्ट अफिस गइन्। सुरज उनको अफिस नजिकै आए। फेरि उनलाई फकाए। मुद्दा फिर्ता लिए प्रदीपसँग बिहे गरिदिने कुरा दोहोर्‍याए। तैपनि उनले मानिनन्।

‘दुई दिनपछि बिहान म अफिस जानै लागेकी थिएँ। घरमा आमा मात्र थिइन्। भाइबहिनी पढ्न गएका थिए। अकस्मात् म बस्ने कपनको घरमै सुरज आइपुगे। उनी सिल्भर रङको गाडीमा आएका थिए। उनको साथमा एक जना बडिगार्ड पनि थिए,’ बिनुले भनिन्, ‘उनले आमाकै अगाडि मुद्दा फिर्ता लिन दबाब दिए।’

‘मुद्दा फिर्ता नलिए मेरो भाइलाई लागुऔषध मुद्दामा १० वर्ष जेल पठाइदिन्छु भन्दै धम्क्याउन थाले,’ बिनुले अगाडि भनिन्, ‘मेरो भान्जा पनि गायब छन् भनेर उल्टै अपहरण मुद्दा लगाउँछु भने। उनी म र मेरो आमाको अगाडि उभिएर हातमा पेस्तोल खेलाउँदै बोलेका थिए। हामी खुब डरायौं।’

त्यो दिन मात्र होइन, भोलिपल्ट फेरि सुरज आफ्ना भाइ सुरेन्द्र कार्की, प्रदीप, उनका काका पवन र सुदर्शन थापा बिनुको घर आए।

उनीहरूले बिनु र उनकी बिरामी आमालाई गाडीमा बस्न भने। बाटोमा सुरेन्द्र र पवनले बिनुलाई थर्काए।

‘तिम्रो भाइबहिनीको पछाडि मान्छे लगाएको थाहा पाएकै होला। खुरूक्क महिला सेल गएर चुपचाप मुद्दा फिर्ता लिनू, नभए ठिक हुँदैन भनेर धम्की दिए,’ बिनुले भनिन्, ‘प्रहरीले सोध्यो भने हामी दुई जना बिहे गर्दै छौं, त्यसैले मुद्दा फिर्ता गर्न लागेको भन्नू भनेर सिकाए।’

बिनु बाध्य भएर आमाको साथमा कालिमाटीस्थित महिला सेल पुगिन्। उनीहरूले आमालाई बाहिरै उभिन लगाए।

आमासँग प्रदीपका सानोमामा सुरेन्द्र बसे। प्रदीप, उनका काका पवन र बिनु भित्र गए।

तत्कालीन असई गीता थापासँग भेट भयो। गीताले प्रदीपलाई ‘किन यसरी भागेको’ भनेर सोधेको बिनु सम्झन्छिन्।

‘प्रदीपले नै कागज लेखेर ल्याएका रहेछन्। तयारी कागजमा मलाई सही गर्न लगाए, तर कागजमा के लेखिएको थियो भनेर पढ्न चाहिँ दिएनन्,’ बिनुले भनिन्, ‘त्यसपछि प्रदीप र मलाई अर्को एक जना ठूलो दर्जाको प्रहरीकहाँ लगियो। उनले मलाई राजीखुसीले मुद्दा फिर्ता लिएको हो भनेर सोधे। मैले टाउको हल्लाएँ।’

‘त्यो दिन गीता म्याडम वा अन्य कुनै प्रहरीसँग एक्लै भेट्न पाएको भए मलाई जबर्जस्ती धम्क्याएर यहाँ ल्याइएको हो भन्ने थिएँ र मुद्दा फिर्ताको कागजमा सही गर्दिनथेँ। तर त्यस्तो भएन,’ भनिन्।

त्यसको पन्ध्र दिनपछि प्रदीपका काका पवन उनलाई लिन आए र भने, ‘अब तिमी हाम्रो ठिमीको घरमा बस्ने हो।’

बिनु उनलाई पछ्याउँदै ठिमीको घर गइन् र उनीहरूले जे जे भन्छन् त्यही त्यही मानेर बसिन्।

‘मंसिर २५ गते भद्रकाली मन्दिर लगेर सामान्य तरिकाले हाम्रो बिहे गराइदिए,’ उनले भनिन्, ‘त्यसको भोलिपल्ट हामीलाई रामेछाप घर पुर्‍याए। मन्थलीमा प्रदीप र उनका काकाको होटल रहेछ। त्यहाँ मैले खाना पकाउनेदेखि भाँडा माझ्ने, भुइँ पुछ्ने, ट्वाइलेटहरू सफा गर्ने; सब काम गरेँ।’

यसरी होटलमा काम गर्ने क्रममा प्रदीपका काका पवनले आफूलाई छुने र चलाउने गरेको बिनु बताउँछिन्।

‘नुहाइसकेपछि आफ्ना यौनांगहरू मलाई देखाउने, अश्लील शब्दहरू बोल्ने, मेरो शरीर समात्ने गर्थे,’ बिनुले भनिन्।

बिनुले यो कुरा प्रदीपलाई सुनाइन्, तर उनले वास्ता गरेनन्।

यही क्रममा एकदिन फेरि उनको गर्भ बस्यो। प्रदीप यसपालि पनि बच्चा चाहँदैनथे। परिवारले समेत गर्भ तुहाउन दबाब दियो।

‘मलाई भने बच्चा जन्माए जीवन सहज होला र बाँच्न पाऊँला भन्ने आस थियो। त्यसैले बच्चा नफाल्ने निर्णयमा पुगेँ,’ उनले भनिन्, ‘एक दिन प्रदीपका हजुरबुवाले तँ यो घरमा बस्न पाउँदिनस्, तँलाई अस्तिको उजुरीको (बलात्कार मुद्दाको) हदम्याद कटाउन मात्र बिहेको नाटक गरेको हो, वंश बढाउन होइन भन्दै गाली गरे।’

त्यो दिन आफ्नो हात बाँधेर हजुरबुवा, काका र नन्दले बच्चा तुहिने दबाइ खुवाएको बिनुले बताइन्।

‘काकाले मेरो मुख च्यातेर जबर्जस्ती आँ गराउनुभयो। उहाँकी छोरीले पाँचवटा ट्याबलेट हालिदिइन्। मुखमा पानी पनि हालिदिइन्। पवनले मेरो नाक थिचेर औषधि निल्न बाध्य पारे,’ उनले भनिन्।

त्यसको दुई घन्टापछि उनको तल्लो पेट दुख्न थाल्यो, रगत बग्यो र बच्चा तुहियो।

बच्चा तुहिएपछि लागेको बिमार, घरको काम र रगत बग्न नरोकिएकाले २०७७ वैशाख अन्त्यतिर आफू बेहोस भएको बिनु बताउँछिन्।

‘उनीहरूले मलाई मन्थलीस्थित तामाकोसी अस्पताल लिएर गएका रहेछन्। अस्पतालका डाक्टर केशव धामीले मलाई केही सोध्नुभएन, औषधि मात्र दिएर पठाउनुभयो। पछि हेरेर थाहा पाउँदा त्यो स्लिपिङ ट्याबलेट रहेछ,’ उनले भनिन्।

त्यो औषधि बिहान-बेलुकी ४/४ वटा खानुपर्थ्यो। औषधिको असरले उनी सुतिरहन्थिन्। उनी सुत्ने कोठाको छेउमा अफिस कोठा थियो, जहाँ काका पवन पटकपटक आउने-जाने गर्थे। त्यसै क्रममा एकदिन सुतिरहेकी बिनुलाई पवनले जबर्जस्ती गर्न खोजे।

‘म चिच्याएँ। काकीलाई बोलाएँ। सबै जना जम्मा भएपछि मैले काकाको हर्कत सुनाएँ। तर सबैले मिलेर उल्टो मलाई नै गाली गरे,’ उनले भनिन्, ‘कुटपिट पनि गरे।’

उक्त घटनापछि उनलाई थुनेर राखियो। डाक्टरले पागल भनिदिएको भन्दै सबैले कुटपिट गर्न थाले। उनको फोन खोसियो। कसैसँग सम्पर्क गर्न दिइएन।

२०७६ जेठको एक दिन प्रदीपले फोन चार्जमा राखेका बेला बिनुले जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी वसन्त पाठकलाई सुटुक्क म्यासेज पठाइन्।

‘मैले म बन्धकमा परेँ, सहयोग चाहियो, म अप्ठ्यारोमा छु भनेर म्यासेज पठाएँ र डिलिट गरिदिएँ। भोलिपल्ट बिहान ७ बजे नै वसन्त सर घरमा आएर मैले पठाएको म्यासेज काका पवनलाई देखाइदिए। त्यसपछि त ममाथि झन् हिंसा र कुटपिट बढ्यो। मलाई परिवारका सबै सदस्यले नियमित रूपमा कुटपिट गरे,’ बिनुले भनिन्।

त्यसको केही समयपछि बिनु खुसुक्क निस्केर अस्पताल गइन्। अस्पतालमा आफ्नो जीउज्यानको सुरक्षा हुन्छ कि भन्ने उनलाई आस थियो। डाक्टर धामीलाई भेटेर उनले आफू बन्धकमा परेको बताइन्। तर ती डाक्टरले उनलाई कुनै सहयोग गरेनन्।

उनको पछिपछि प्रदिप गएका रहेछन्, उनीहरूले नै उनलाई  घर फर्काए। उनलाई ज्वरो निको भएन। उठ्न नसक्ने भएपछि साउन ९ गते उनलाई भक्तपुर ल्याइयो। त्यो बेला पनि प्रदीपले आफूलाई जबर्जस्ती गरेको बिनु बताउँछिन्।

त्यसको भोलिपल्ट उनलाई चाबहिलस्थित हेल्पिङ हेन्ड अस्पताल लगियो। त्यहाँबाट प्रदीप फेरि भागे।

बिनु काठमाडौंमै बसेका बेला प्रदीपले रामेछाप जिल्ला अदालतमा मुद्दा हालेछन्। त्यो थाहा पाएर बिनुले पनि मानाचामलको मुद्दा हालिन्।

अदालतले बिनुलाई प्रदीपबाट मासिक नौ हजार रूपैयाँ बराबरको मानाचामल दिलायो। तर उनीहरूले त्यो पैसा कहिल्यै आफूलाई नदिएको बिनुको भनाइ छ।

त्यसपछि २०७८ मंसिरदेखि उनी रामेछाप गएर बस्न थालिन्। मुद्दा त्यहाँ भएकाले पनि उनलाई प्रदीपको घरमै बस्न उचित लाग्यो।

यसबीच जिल्ला अदालतले २०७९ वैशाख ७ गते प्रदीप र बिनुको सम्बन्ध बिच्छेद गरिदियो। आफ्नो हार भएपछि बिनुले इजलासमै विष पिइन्।

खासमा त्यही दिन बिहान आफूलाई काका-ससुरा पवनले बलात्कार प्रयास गरेको बिनु बताउँछिन्।

‘कहिले प्रदीप त कहिले काका-ससुराले जबर्जस्ती गर्ने गरेका थिए। त्यही बिहान मात्र काका-ससुरा म बस्ने छिँडिको कोठामा आएर ममाथि जाई लागे। उनले बलात्कार गर्नै लाग्दा म फुत्किएर भागेकी थिएँ,’ उनले भनिन्, ‘अदालतले अंशसमेत नदिलाई सम्बन्ध विच्छेदको फैसला सुनायो। अन्यायीहरूले जितेपछि मैले बाँच्ने विकल्पै देखिनँ।’

त्यो दिन उनलाई अदालतका कर्मचारीले बचाए।

अलिक निको भएपछि बिनुले काका-ससुरा पवनविरूद्ध बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिइन्। उनी पक्राउ परे, तर पछि जिल्ला अदालतले उनलाई सफाइ दियो।

सरकारी वकिलले त्यसविरूद्ध उच्च अदालत पाटनमा निवेदन दिएको छ। सम्बन्ध विच्छेदको मुद्दा भने उच्च अदालत हुँदै सर्वोच्च अदालतमा विचाराधीन छ।

बिनु यादवले एकपछि अर्को अत्याचार भोग्नुको कारण चार वर्षअघि प्रहरीले उनको जाहेरीमा कारबाही नबढाएर नै हो।

प्रहरीले जाहेरी दर्ता, सांकेतिक नाम र प्रसूति गृहमा स्वास्थ्य परीक्षणपछि बाँकी प्रक्रिया पनि पूरा गरेको भए बिनुले आफूलाई बलात्कार गर्ने प्रदीप कठायतसँग करकापमा मिल्नुपर्ने थिएन। उनैसँग बिहे गर्नुपर्ने पनि थिएन।

प्रहरीले आफ्नो काम इमानदारीपूर्वक गरेको भए बिनुको जाहेरी दर्तालगत्तै प्रदीप पक्राउ पर्थे। त्यसपछि उनीसँग बयान लिने र प्रमाण संकलन गर्ने काम हुन्थ्यो। प्रमाणले बलात्कार पुष्टि नभए उनी छुट्थे। त्यसपछि त बिनुसँग बिहे गरेर हदम्याद कटाउने मेलो खोज्न पनि पर्दैनथ्यो।

बिनुलाई पनि कम्तिमा आफ्नो जाहेरीमा अनुसन्धान भयो भन्ने हुन्थ्यो। उनले न्याय पाइनँ भनेर महसुस गर्नुपर्ने थिएन।

र, सडकदेखि अदालतसम्म धाइरहनुपर्ने थिएन। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: