Loktantra Khabar National Weekly
Ad

इजरायलको संगीत महोत्सवमा जब हमास लडाकुको बन्दुक चल्यो

लोकतन्त्र खबर
२२ आश्विन २०८०

काठमाडौं । दक्षिणी इजरायलको मरुभूमिमा हप्ता दिनसम्म चल्ने संगीत महोत्सव ‘सुपरनोभा’को लागि संगीतप्रेमी उत्साहका साथ पर्खिरहेका थिए । ‘सबै परिवार एक हुने समय आयो’ महोत्सव सुरु हुनुअघि आयोजकले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो निकै रमाइलो हुन गइरहेको छ ।’

स्टाटस लेखेको केही घण्टामै अब उनीहरुका सोसल मिडियाका पृष्ठ प्रियजन खोज्न हतास मानिसले भरिएका छन् । हमासका लडाकुले जब संगीत महोत्सवमा फायरिङ गरे र इजरायलमाथि आकस्मिक आक्रमण गरे, तब उत्साहको यो लय भताभुंग भयो ।

उद्धार एजेन्सी जाकाका अनुसार महोत्सव स्थलबाट २६० भन्दा बढी शव फेला परेको बताइएको छ । ओर्टेल नामको एक संगीतप्रेमीले भनिन्, ‘बिहानैदेखि वरपर चेतावनीपूर्ण साइरन बजिरहेका थिए । त्यसपछि तुरुन्तै गोली चल्न थाल्यो । उनीहरुले बिजुली बन्द गरे र चारैतिरबाट गोली चलाउँदै अचानक कतैबाट बन्दुक लिएर भित्र पसे ।’

उनले अगाडि भनिन्, ‘सैनिक पोशाक लगाएर ५० आतंककारी भ्यानमा आइपुगे । मानिस घटनास्थलबाट भाग्ने प्रयास गरे । बालुवा भएको जमिन पार गरेर भाग्न कारमा चढे । तर पार्टीमा जानेले चाहिं त्यहाँ बन्दुकधारीले भरिएका भ्यान भएको बताएका थिए । त्यहाँ पुग्दा उनीहरुले कारमा गोली हाने । उनीहरूले गोली चलाए, र हामी एउटा ठाउँमा पुग्यौं जहाँ सबैले आ–आफ्ना सवारी रोके र दौडिन थाले ।

झाडीजस्तै देखिने एउटा रुखमा पुगें म । त्यसपछि उनीहरुले हामीतिर बन्दुक सोझ्याउन थाले । मैले घाइते मानिस वरपर फ्याँकिएको देखें । म रुख पछाडि थिएँ । अनि के भइरहेको छ भनेर बुझ्ने कोसिस गरें ।’

महोत्सव स्थल किबुट्ज रेइम नजिकैको नेगेभ मरुभूमिमा थियो । बार र फुडसहितका तीन मञ्च थिए । यो ठाउँ गाजाबाट त्यति टाढा छैन, जहाँबाट हमास लडाकुहरु एकाबिहानै इजरायल छिरेका थिए ।

ओर्टेलजस्ता संगीत महोत्सवमा पुग्ने धेरैले सेनाले उद्धार गर्ने आशामा घण्टौंसम्म झाडी र फलफूल बगैंचामा लुकेर ज्यान जोगाए । ‘मैले फोनलाई म्युट मोडमा राखें, र त्यसपछि सुन्तलाको बगैंचा हुँदै घिस्रिएर भाग्न खोजें,’ ओर्टेलले भनिन्, ‘बलिरहेको आगो आवाज निकाल्दै मेरो माथिबाट उडिरहेको थियो ।’

अर्को प्रत्यक्षदर्शीले च्यानल १२ सँग भने, ‘यो कुनै डरलाग्दो चलचित्रको चार-पाँच घण्टाजस्तै थियो । हामी पागलजस्तै दौडियौं । अवस्था कुन पागलपनजस्तै थियो ।’

‘यो एक नरसंहार थियो’ उक्त संगीत पार्टीमा बोलाइएका आपतकालीन चिकित्सक यानिभले भने । उनले सार्वजनिक प्रसारक कान न्युजसँग भने, ‘मैले मेरो जीवनमा यस्तो कहिल्यै देखेको थिइनँ । यो एक योजनाबद्ध एम्बुस थियो । जब मानिस आपतकालीन ढोकाबाट बाहिर निस्किए, आतंकवादीको समूह उनीहरुलाई पर्खिरहेका थिए । त्यसपछि उनीहरुलाई उठाउन थाले ।’

उक्त महोत्सवमा तीन हजार मानिस सहभागी भएको सीएनएनले जनाएको छ । यो महोत्सवबारे हमास लडाकु पनि जानकार भएको जनाइएको छ । बेपत्ता प्रियजनका साथी र परिवारका सदस्य अब उनीहरूलाई भेट्टाउने आशामा छन् ।

स्थानीय सञ्चारमाध्यमको पछिल्लो तथ्यांकअनुसार आक्रमण सुरु भएदेखि कम्तीमा ६०० इजरायली मारिएका छन् । इजरायली सेना र प्यालेस्टिनी लडाकुबीचको लडाइँ जारी छ, र इजरायलले गाजामा हवाई आक्रमणको लहर सुरु गरेको छ । प्यालेस्टिनी अधिकारीले भनेका छन्, आक्रमणमा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: