यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो ।
यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो ।
एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३३औं स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा पनि नेपाल ३३औं स्थानमा थियो ।
यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन ।
अहिलेसम्मकै ठूलो एसियडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए । उनीहरुले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।
जसमा चीनकी पौडीबाट युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाडको मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए ।
१९औं एसियाडको समापन समारोह आइतबार बेलुका हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा हुनेछ । समापन समारोह स्थानीय समय अनुसार बेलुका ८ बजे सुरु हुनेछ । समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थित हुने कार्यक्रम छ ।
समापन समारोहमा रजत विजेता नेपाली कराते खेलाडी एरिका गुरुङले नेपालको झण्डा बोक्नेछिन् । अनलाइन खबर