अजिता चौधरी
सर्लाही असोज १८ ,
सर्लाहीसहित मधेस प्रदेशभरी आज जितिया पर्व मनाइँदै छ।महिलाहरु द्वारा सन्तान प्राप्ति तथा सन्तानको लामो आयु र पारिवारिक सुख शान्तिका लागि यो पर्व धार्मिक विधि अनुसार मनाइने गरिन्छ ।
नहाय खाय (नुहाएर खानु) विधि गरेर यसको सुरुवात गरिन्छ। व्रत बस्नु अघि बर्तालु महिलाहरु नजिकैको नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमहान र दिवङ्गत पितृलाई चिउरा, दही, अमोठ (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । बर्तालु महिलाहरु जितमहानको कथा सुन्ने गर्दछन्।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको जानकारहरु बताउँछन् । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।
मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ ।फेरी एक पटक असफल भएपछि आजीवन व्रत बस्न नपाउने जानकारहरु बताउँछन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितमहान’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथा छ ।
जीवनमा एक पटक यो पर्व टुटेपछि पुनः गर्न नपाइएने हुँदा महिलाहरु हत्तपत्त यो पर्व अँगाल्दैनन । तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको जानकारहरुले बताएका छन् ।