Loktantra Khabar National Weekly
Ad

भीरबाट लडेका वृद्धको उद्धारमा २० घण्टा लागेपछि सांसद बजगाई आक्रोशित

लोकतन्त्र खबर
९ आश्विन २०८०

काठमाडौँ । गोरखाको चुमनुब्रीमा भीरबाट लडेका एक व्यक्तिको २० घण्टापछि उद्धार भएको छ । गोरखाको चीनसँग सीमा जोडिएको क्षेत्रमा निषेधित क्षेत्र कायम गरिएको हुँदा उद्धारमा अप्ठेरो परेको सांसद राजेन्द्र बजगाईँले बताए ।

‘देशले भयानक क्रान्ति पर्खिरहेको आभास भयो,’ । मैले सामाजिक सञ्जालमा पनि लेखेँ बालेनले त्यसै सिंहदरबारमा आगो लगाइदिन्छु भनेको होइन रहेछ,’ उनले भने ।

वृद्ध भत्ता लिन जाँदा गोरखाको चुमनुब्रीका छेवा दोर्जे लामा भीरबाट लडेर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको छ भने शरीरका अन्य स्थानमा पनि चोट लागेको छ ।

चुमनुब्री २ का एक वृद्धलाई हेलिकोप्टरबाट उद्धार गर्न बजगाईँले सोमबार दिनभर प्रयास गरेका थिए ।  ‘चुमनुब्री २ स्योका ८० वर्षका वृद्ध वडा कार्यालयमा वृद्ध भत्ता लिन जाँदा भीरबाट लडेर गम्भीर घाइते हुनुहुन्छ भन्ने मलाई साँढे दुई बजे खबर आयो । गृह मन्त्रालयको कागजात म मिलाउँदै गर्छु, त्यहाँबाट बनाउने सिफारिस बनाइदिनु भनेर एक मिनेट नबित्दै मैले गोरखाका सिडियोसावलाई खबर गरे’, सांसद बजगाईँले  भने ।

उनले अगाडि भने, ‘निजी कम्पनीको हेलिकोप्टरलाई फोन गरेँ । गृहको अनुमति चाहिन्छ भन्यो । गृहमन्त्रीलाई फोन गरेँ, फोन रिसिभ भएन । मन्त्रीजी विराटनगरमा भाषण गर्दै हुनुहुँदो रहेछ । गृह सचिवलाई फोन गरेँ उठेन । साँढे दुई घण्टा प्रयास गरे गृह मन्त्रालयको कागज बनाउन सकिएन । पछि सेनाको हेलिकोप्टरलाई फोन गरेँ । भाडाको स्रोत सुनिश्चित गर्नुपर्छ भन्यो । मैले त्यसको ग्यारेन्टी गरेँ । तैपनि हेलिकोप्टर उडाउन सकिएन ।’

उद्धारका लागि हेलिकोप्टरको प्रयास गर्दा पनि गृहबाट समयमा स्वीकृत नपाएको र निजी हेलिकोप्टरलाई रोक लगाएका कारण उद्धारमा कठिनाइ भएको सांसद बजगाईँको भनाइ छ ।

‘हाम्रो भूगोलमा पश्चिमा सिँधै यात्रा गर्न सक्छन् । हामी घाइतेको उद्धार गर्न जान पनि नपाउने भन्ने हुन्छ ?,” उनको प्रश्न छ । हिजो देखिको प्रयासपछि आज मात्रै नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेर घाइतेलाई काठमाडौँ ल्याइएको उनले बताए ।

गम्भीर घाइतेको ज्यान बचाउन आफैँले पैसा तिरेर हेलिकोप्टर चार्टर गर्न खोज्दा पनि गृह मन्त्रालयले निषेधित क्षेत्रको बहानाबाजी गरेर आजित पारेको उनको आरोप छ ।

‘जनता मार्ने निषेधित क्षेत्र कसका लागि हो ? जनताका लागि हो कि, सरकारका लागि हो कि, चाइनाका लागि ?’, उनले भने, ‘सरकारले न गाउँमा यातायात सेवा पुर्याउन सक्छ, निषेधित क्षेत्र भनेको छ, न लाखौँ खर्च गरेर घाइतेको उद्धार गर्न पाइन्छ, न सुत्केरीको, न बिरामीले समयमै उपचार पाउँछन् । नेपाली जनतालाई अकालमा मार्ने निषेधित क्षेत्र चाहिँदैन भनेर  सबै जनताले विरोध गरिरहेका छन् । फेरि कसका लागि चाहियो यो निषेधित क्षेत्र ?’ रातोपाटी

प्रतिक्रिया दिनुहोस्: