Loktantra Khabar National Weekly
Ad

एक ‘खलनायक’ को कथा

लोकतन्त्र खबर
४ आश्विन २०८०

कलाकार अंकित खड्काले आफ्नी आमालाई पहिलोपटक सिनेमा हल लगेका थिए। हलमा चलिरहेको थियो फिल्म ‘घामपानी’।

जीवनमै पहिलोचोटि हल पुगेर फिल्म हेर्दा आमालाई कस्तो अनुभव होला, अंकितलाई खुलदुली थियो। योभन्दा बढी बेचैनी आमाले पर्दामा आफूलाई हेरेर के भन्लिन् भन्ने थियो।

अंकित फिल्म घामपानीमा भिलेन (खलनायक) को भूमिकामा थिए।

‘पर्दामा आफ्नो छोरा अनेक तरिकाले देखिनु मेरी आमाका लागि निकै अनौठो कुरा थियो। म भिलेन बनेर खेलेको उहाँलाई थाहा थिएन। नराम्रो मान्नुहुन्छ कि जस्तो पनि लागेको थियो,’ अंकितले भने, ‘तर खुसी हुनुभयो। स्याबासी दिनुभयो।’

आमा खुसी भएको देखेर उनलाई संसार जितेजस्तै भयो। फिल्मले पनि उनलाई सफलता दियो। घामपानीबाटै उनी चर्चित भए।

अहिले सिनेमा हलमा चलिरहेको ‘नांगो गाउँ’ मा पनि उनी खलपात्र छन्। नांगो गाउँ र आफ्नो भूमिका रहेको अर्को फिल्म ‘किया’ पनि उनी आमालाई देखाउन चाहन्थे। तर यो समय नआउँदै आमा भौतिक संसारबाट सधैंका लागि बिदा भइन्।

अंकितको विशेषता नै खलनायिकी भूमिका हो। निर्देशकहरूले पनि उनलाई यही भूमिकामा छनौट गर्छन्। फिल्म क्षेत्रका सहकर्मीहरूले मात्र होइन, दर्शकले पनि उनको खलनायिकी अभिनय कला मनपराएका छन्।

अनि धेरैले भनी पनि रहेका छन् — किन भिलेन मात्रै खेल्छौ, अब हिरो भएर पनि खेल न!

भर्खरै उनका एक आफन्तले पनि फिल्म हेरेर यही भनेछन्।

तर उनलाई लाग्छ — हिरोलाई खास हिरो बनाउनमा भिलेनको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। सशक्त भिलेन भएको फिल्ममा हिरो पनि सशक्त हुन्छ। अनि दर्शकका नजरमा हिरो बनेर चर्चित हुन्छ।

‘फिल्म क्षेत्रमा मेरो उन्नति होस् भनेरै मलाई धेरैले हिरो बन भन्नुभएको भन्ने थाहा छ। तर भिलेनको मेहनत हिरोको भन्दा कम हुँदैन,’ अंकितले भने, ‘भिलेनले मानवता नभएको, अपराधीजस्तो अभिनय गर्नुपर्छ। यो सजिलो काम होइन। फिल्ममा भिलेन हुने भएर नै हिरो हुने हो।’

यसै पनि अभिनय सजिलो काम होइन। त्यसमाथि समाजले दोषी ठान्ने नकारात्मक भूमिका झनै कठिन काम हो। आफूले कहिल्यै नगरेको र भविष्यमा पनि नगर्ने काम फिल्ममा गर्नुपर्छ।

उनले महिलालाई दुर्व्यवहार गरेको, रक्सी खाएको, कुटपिट गरेको, मान्छेलाई दुःख दिएको, ठगी गरेको, बहुविवाह गरेको जस्ता अनेक अभिनय गरेका छन्।

‘अभिनय नै भए पनि आफूले जीवनमा कहिल्यै नगरेको काम साँच्चै गरेको जस्तो देखाउन सजिलो छैन। कहिले त मानसिक रूपमा पनि समस्या हुन्छ,’ उनले भने।

भिलेन हुनु हिरो हुनुभन्दा कम होइन तर चर्चा त हिरोकै बढी हुन्छ। फिल्म पनि हिरोकै नाममा चिनिन्छ। त्यसैले उनलाई कहिलेकाहीँ आफूले हिरोको भूमिका पाए गज्जबै गर्न सक्छु जस्तो पनि लाग्छ।

‘कहिलेकाहीँ त हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाए पनि हुने जस्तो लाग्छ,’ उनले भने, ‘अभिनय त यसरी पनि गर्दा हुने हो तर त्यसो गर्ने चलन छैन।’

तर समाजमा नायक मात्रै हुँदैन, खलनायक पनि हुन्छ। दर्शकहरूले फिल्ममा समाजका सबै किसिमका चरित्रहरू खोजी गर्छन्। यसो भएपछि भिलेन बनेर अभिनयकला देखाउनुमा के असन्तुष्टि!

उनले आफ्नो फिल्मी कलाकारितालाई यसरी बुझेका छन्।

‘समाजमा सबै किसिमको चरित्र छ नि। खलनायक भएर समाजको असामाजिक चरित्र देखाउनु सजिलो काम होइन रहेछ भन्ने बुझेको छु,’ उनले भने।

सिन्धुपाल्चोकका स्थायी बासिन्दा अंकित सिनेमा संसारको फराकिलो सपना बोकेर गाउँबाट काठमाडौं छिरेका थिए। उनी लगातार १५ वर्षदेखि फिल्ममा छन् तर पूरा हुन बाँकी सपनाहरू धेरै छन्।

उकालो–ओरालो हिँड्दै यात्रा गर्दागर्दै छोडेर आएको गाउँमा पिचबाटो बन्यो, मोटर पुग्यो। उनी पढेको स्कुल कक्षाहरू थपिएर ठूलो भयो। खानेपानी लिन निकै परको कुवामा पुग्नु पर्थ्यो, अहिले आँगनमै धारो छ।

उनको जीवन भने फिल्मको कलाकार भएँ भन्नेबाहेक सबै उस्तै छ। फिल्ममा अनेक भूमिकामा देखिए, तर उनको स्वभाव त्यस्तै छ, जस्तो गाउँमा हुँदा थियो।

फिल्मी अभिनयमा अंकित आज जहाँ छन् त्यो स्थान सहजै प्राप्त भएको होइन। काठमाडौं आएर फिल्ममा अभिनय गर्न पाउनु सजिलो काम थिएन। अंकितले कोरस नृत्यबाट अभिनय यात्रा सुरू गरे।

उनका अनुसार त्यो बेला कोरस नाच्ने कलाकारको खासै महत्त्व हुँदैन थियो। एकपटक उनले राजेश हमाल नायक रहेको फिल्ममा कोरस नृत्य गर्न पाए। नाच सकिएपछि राजेशसँग फोटो खिचे। त्यो उनका लागि ठूलो खुसीको क्षण थियो, अविस्मरणीय छ।

‘मेरो नाच काम चलाउ मात्रै थियो। राजेश हमालसँग फोटो खिचाउन चाहन्थेँ, त्यो नै मेरा लागि ठूलो कुरा भयो,’ उनले भने।

राजेशसँग खिचाएको त्यो फोटो अंकितले अझै सुरक्षित राखेका छन्।

समयले यति फड्को मारिसक्दा, अहिलेसम्म कोरसका कलाकारले खासै महत्त्व नपाएकोमा भने उनलाई दुःख लाग्छ। फिल्म तयार हुन भूमिका लामो होओस् कि छोटो, सानो होओस् कि ठूलो, प्रत्येक कलाकारको योगदान हुन्छ। सबैको समग्रताले मात्रै फिल्म तयार हुन्छ।

‘तर यसरी सोचेको देख्दिनँ। कलाकारहरूमा विभेद भएको देख्छु,’ अंकित भन्छन्।

कोरस नाच्दा नाच्दै उनले नाटक ‘जार’ मा ‘रूद्रमान’ पात्रको भूमिकामा अभिनय गर्ने अवसर पाए। रूद्रमान नाटकमा मुख्य पात्र थियो। नाटक मञ्चन भएपछि अंकितको अभिनयको धेरैले प्रशंसा गरे।

पहिलो नाटकमा पाएको बधाइले उनमा हौसला थप्यो। उनी अभिनयमा भिज्दै र गहिरिँदै गए। अभिनयमा निखार ल्याउने अभ्यासमा लागे।

‘अभिनय गर्छु भनेर मात्र हुँदैन, गरेर मात्र पनि हुँदैन,’ उनी भन्छन्, ‘अभिनयकलामा पोख्त हुनुपर्छ, पात्रअनुसार अभिनय गर्न सक्नुपर्छ।’

नाटकसँगै उनले फिल्ममा पनि अवसर पाए। हालसम्ममा एक दर्जन नाटक र नौ वटा फिल्ममा विभिन्न भूमिकामा अभिनय गरिसकेका छन्। उनले नाटक र फिल्ममा अभिनय गर्नुको भिन्नता पनि थाहा पाएका छन्।

नाटकमा दर्शकहरूका सामुन्ने प्रत्यक्ष अभिनय गर्नुपर्छ। संवादहरू कण्ठस्थ हुनुपर्छ। यसले अभिनय क्षमता र आत्मविश्वास बढाउँछ। फिल्ममा क्यामराको अगाडि अभिनय गर्नुपर्छ। क्यामरालाई नै दर्शक मान्नुपर्छ। मिलेन भने सुधार गर्ने अवसर हुन्छ। नाटकमा यस्तो अवसर हुँदैन।

‘नाटकले स्क्रिप्टमा भएको संवाद मुखाग्र बोल्न सिकायो। फिल्ममा त्यस्तो हुँदैन, नमिलेको कुरा काटकुट गरेर दर्शकमा पुर्‍याइन्छ,’ अंकितले भने, ‘नाटकमा अभिनयका दृश्यहरू एकपछि अर्को प्रस्ट हुन्छन्। अनि कोरस पात्रहरूलाई नाटकले राम्रो ध्यान दिन्छ। सबै पात्रहरूको बराबर महत्त्व हुन्छ।’

उनको अनुभवमा नाटकजसरी फिल्म बग्न पाउँदैन, अभिनयमा नाटकमा जस्तो भावको निरन्तरता हुँदैन। फिल्मी कलाकारका लागि भावको निरन्तरता निकै चुनौतीपूर्ण हुन्छ।

‘फिल्ममा निर्देशक र कलाकारबीच नजिकको सम्बन्ध हुनुपर्छ। निर्देशकले कलाकारको भावना बुझ्नुपर्छ। यसो भयो भने कलाकारले आत्मविश्वासका साथ काम गर्न सक्छ। अभिनयको भाव कायम राख्न सक्छ,’ उनले भने।

अभिनयमा भिज्दै र गहिरिँदै गएपछि उनले हिरोको भूमिका पाउनु मात्रै ठूलो कुरा होइन भन्ने महसुस गरे। पात्र र कथाको मर्मअनुसार अभिनय गर्न सके कलाकार फिल्मको हिरो नभए पनि कलाको हिरो हुन्छ भन्ने थाहा पाएका छन्।

नाटकले उनलाई दिएको मुख्य शिक्षा यही हो। त्यसैले उनी आफूलाई फिल्मको हिरो वा भिलेनका रूपमा होइन, एक कलाकारका रूपमा चिनाउँछन्। उनको विचारमा कला मुख्य हो, भूमिका त जे पनि हुन सक्छ!

संघर्ष, अभिनयकलामा बाँच्न र जीवनको यथार्थ बुझ्न भने उनलाई काठमाडौं सहरले सिकाएको हो।

आफ्नो अभिनय यात्राको संघर्षलाई नै प्रेरणा मान्छन् अंकित।

भन्छन्, ‘म आफ्नो सपना पूरा गर्न गाउँघर छाडेर सहर पसेँ। सहरले धेरै थोक सिकायो। अनेक ठक्कर भोगेकै कारण म आजको स्थानमा छु। ती भोगाइ सम्झिँदा आफैंबाट प्रेरित हुन्छु। सबभन्दा ठूलो कुरा फिल्ममा भिलेन भए पनि वास्तविक जीवनमा हिरो बन्न सिकेँ।’ सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: