Loktantra Khabar National Weekly
Ad

६० किलो सुन प्रकरण : हुण्डीको शैलीमा हुन्थ्यो सुनको डेलिभरी

लोकतन्त्र खबर
२७ भाद्र २०८०

काठमाडौं  भदौ २७ , हुण्डी कारोबारमा संलग्नहरुले भुक्तानी लिन आउनेको पहिचानका लागि पहिल्यै एउटा नोटको फोटो माग्छन् । त्योसँग मिल्दो नम्बर भएको नोट लिएर पुग्नेलाई भुक्तानी दिन्छन् ।

६० किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको गिरोहले पनि यही शैली प्रयोग गरेर सुनको बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा चिनियाँ गिरोहको नाइकेले ह्वाट्स एपमार्फत नेपाली रुपैयाँको नोट पठाउने गरेको पाइएको हो । त्यो नोट लिएर जाने व्यक्तिलाई सुन पठाउने गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाले बताए ।

‘ह्वाट्स एपमा १० रुपैयाँको नोट पठाएको पाइएको छ, त्यो नोट लिएर जाने व्यक्तिले सुन पाउने देखिएको छ’, उनले भने, ‘नोट सुन लिन पाउने मान्छेको भेरिफिकेसनका लागि प्रयोग गर्ने गरेको देखिएको छ ।’

सुन गाल्न टोखा र लाजिम्पाटमा भएको फ्याक्ट्रीमा काम गर्ने समूहले चिनियाँ नाइके लिन र लीले पठाएको १० रुपैयाँको नोटको तस्वीर ह्वाट्स एपमार्फत पाउने गरेको देखिएको छ । र, त्यो नोट लिएर जानेलाई सुन दिने गरेको पाइएको छ । त्यसरी लिएको सुन चिनियाँ नागरिक एलेक्समार्फत टोखाका सुमन खरेल हुँदै अन्य व्यक्तिसम्म पुग्ने गरेको पाइएको देखिएको छ ।

‘खरेलबाट सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफले पनि सुन किन्ने गरेको पाइएको छ, सुन लिने अर्का एक नेपाली र दुई भारतीय नागरिक फरार छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फरारहरुको खोजी जारी रहन्छ ।’

२ साउनमा राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानका लागि फाइल सीआईबीलाई बुझाएको थियो ।

त्यसक्रममा हालसम्म ३२ जना पक्राउ परेका छन् भने १८ जना अझै फरार छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, ३ कार्गो एजेन्ट, ट्याक्सी चालक, भाषा अनुवादक, कम्पनी खोल्ने २ जना, सामान व्यवस्थापक दुई र सुन कारोबारमा संलग्न ११ जना छन् ।

पक्राउ परेकाहरुविरुद्ध भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिताको एकीकृत कसुर, नागरिक ऐन, राहदानी ऐन र अध्यागमन ऐन विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता गर्न सीआईबीले मागदाबी गर्दैछ ।

सीआईबी प्रमुख बज्राचार्यका अनुसार आरोपीविरुद्ध २ अर्ब ५० करोडको मागदाबी गरिनेछ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: