Loktantra Khabar National Weekly
Ad

इन्जिनियरिङ शिक्षाको शुल्क व्यवस्थापनबारे अन्योल कायमै

लोकतन्त्र खबर
२६ भाद्र २०८०

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क व्यवस्थापनबारे अन्योल कायमै रहेको छ । स्नातक तहको शुल्क वृद्धि गर्ने संस्थानको निर्णयपछि त्रिभुवन विश्वविद्यालय र संस्थानले विद्यार्थीहरूसँग छुट्टा छुट्टै सहमति गरेका थिए ।

नेविसंघ, अखिल क्रान्तिकारी लगायतका ५ विद्यार्थी सङ्गठनहरूसँग शुल्क व्यवस्थापनबारे अध्ययन गर्न समिति बनाउने सहमति गरेको थियो । यसैगरी अनेरास्ववियु, स्ववियु लगायतसँग गरिएको सहमतिमा शुल्क वृद्धि फिर्ता लिने भन्ने थियो । शुल्क वृद्धि विवादबारे फरक फरक सङ्गठनहरूसँग फरक फरक खालको सहमति गरेको थियो ।

उक्त सहमतिप्रति विद्यार्थी संगठनका तल्ला कमिटीहरूले आपत्ति जनाउँदै आएका छन् । पुल्चोक इन्जिनियरिङ कलेजमा क्रियाशील विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शुल्क व्यवस्थापनबारे अन्यौलता अन्त्य गर्न माग गरेका छन् ।

संस्थानले केही दिन अगाडि शुल्क व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिलाई सात दिने अल्टिमेटम दिइएको थियो । तर, समिति बनेको एक साता बित्न लाग्दा समेत छलफल हुन सकेको छैन ।

विषम परिस्थितिमा सम्पूर्ण विद्यार्थीहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देशका साथ संस्थान अन्तर्गत अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा सरिक रहेको बताएका छन् । तर, बाहिरी हस्तक्षेप र त्रिवि उपकुलपति कार्यालयसँग भएको फरक फरक सहमतिपछि शुल्क वृद्धि विरुद्धको आन्दोलनमा फरक तरङ्ग पैदा भएको उनीहरूको भनाइ छ । आन्दोलनको औचित्य र माग एउटै हुँदा हुँदै विद्यार्थीहरूलाई एक अर्कासँग लडाएर विभाजन गरिएको विद्यार्थीहरूको आरोप छ ।

विद्यार्थीहरूलाई विभाजित गराएर पुन सोही शुल्क लागु गर्ने कार्य आफूहरूको लागि मान्य नहुने पुल्चोक स्ववियु सभापति बिराज अर्यालले बताए ।

उपकुलपति कार्यालय र संस्थानका सहायक डिनको उपस्थितमा भएको सहमतिमा शुल्क वृद्धि फिर्ता लिने सहमति हुँदा हुँदै डिन कार्यालयले नाटक मञ्चन गरिरहेको बताए । सहमति पत्रमा हस्ताक्षर पश्चात् सहमति कार्यान्वयन नहुँदा नैतिकताका आधारमा स्वतः राजीनामा दिनुपर्ने बताए ।

सम्पूर्ण आङ्गिक क्याम्पसहरूको खर्च र आम्दानीको विवरण माग्दा समेत नदिएको उनको भनाई छ । शुल्क वृद्धिको ठोस र वैज्ञानिक आधार कुनै पनि क्याम्पस तथा स्वयं डिन कार्यालयले दिन नसकेको बताए ।

१० हजार विद्यार्थीले प्रवेश परीक्षाको फारम भरी परीक्षाको मिति कुरेर बसेका छन् । तर, डीन कार्यालयले हालसम्म परीक्षाबारे निर्णय गर्न सकेको छैन । पुरानै शुल्कमा प्रवेश परीक्षा र भर्ना लिन तथा समयमै प्रवेश परीक्षा सञ्चालन गर्न पुल्चोकमा क्रियाशील स्ववियुसहित ६ वटा संगठनहरूले माग गरेका छन् ।  रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: