Loktantra Khabar National Weekly
Ad

भ्यूटावर उद्घाटन गर्न हतार : सञ्चालनमा ल्याउन उदासीन

लोकतन्त्र खबर
२५ भाद्र २०८०

दाङको बंगलाचुली गाउँपालिकामा मात्रै तीनवटा भ्यूटावर, पर्यटक तान्ने कसरी  ?

बुटवल । दुई वर्ष अगाडि लुम्बिनी प्रदेशमा एक पछि अर्को भ्यूटावर निर्माणको उद्घाटनको होड चल्यो । ती भ्यूटावर उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत दौडादौड गरे ।

रुपन्देहीको तिलोत्तमामा ओली र रोल्पामा प्रचण्डले २०७८ सालमै उद्घाटन गरेपनि अझै त्यहाँका भ्यूटावर पूर्ण रूपमा सञ्चालनमा आएको छैन ।

यस्तै, बाँकेको कोहलपुर नगरपालिकाले बनाएको घण्टाघर सहितको १० तले भ्यूटावर पनि सञ्चालनमा आएको छैन । उता दाङ, कपिलवस्तु र पाल्पामा निर्माण भएको भ्यूटावर सञ्चालन भए पनि अपेक्षा गरेअनुरूप पर्यटक आएका छैनन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) मा १० करोड रुपैयाँको लगानीमा निर्माण गरेको भ्यूटावर  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ चैत २०७८ मा तामझामसहित उद्घाटन गरेका थिए ।

पर्यटक आकर्षित गर्न बहुउद्देश्यीय भनेर निर्मित १० तले भ्यूटावरको निर्माण धरहरा पछिको सबैभन्दा अग्लो र सुविधासम्पन्न भन्दै प्रचार गरिएपनि अझैसम्म सञ्चालनमा ल्याउन सकिएको छैन ।

Kp-oli-Butawal5-768x512

 

शङ्कर नगर वन विहारका अध्यक्ष बेलप्रसाद शर्माका अनुसार भ्यूटावरको उद्घाटन भएको तर अझैसम्म सर्वसाधारण लागि खुला गर्न सकिएको छैन । उनले अहिले भित्रको डेकोरेसन सम्पन्न भएको तर बाह्य काम केही बाँकी रहेको खुलाए ।

बनवाटिकाभित्र पर्ने यो भ्यूटावरको लगानीको ७० प्रतिशत तिलोत्तमा नगरपालिका र ३० प्रतिशत शङ्कर नगर वन विहारका हो ।

उता, बाँकेको कोहलपुर नगरपालिकाले २०७६ सालदेखि नै बनाउन सुरु गरेको घण्टाघर सहितको १० तले भ्यूटावर  निर्माण सम्पन्न भएको छ । ठेकेदार कम्पनीले केही महिना स्थानीय तहलाई सञ्चालन गर्न दिएपनि चलाउन सकस भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि भनेर झन्डै ७ करोड रुपैयाँको लागतमा लिफ्टसहितको भ्यूटावर सञ्चालनका लागि टेन्डर गर्दा टेन्डर पर्न सकेको छैन । यो भ्यू टावर निर्माण गर्दा नै गलत ठाउँमा परेकोले पर्यटक तान्ने सम्भावना कमै छ ।

कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले त्यो बेला भ्यूटावर निर्माण सुरुवात गर्दा गलत  ठाउँमा भएकाले  पर्यटकहरूको चहल पहल  नभएको रातोपाटीलाई बताए । उनले भने, ‘हामीले निजी क्षेत्रलाई ठेक्का दिएर चलाउने खोजेका छौ । तर, पटक पटक टेन्डर निकाल्दा पनि ठेक्का परेको छैन ।’

यसै गरी, रोल्पा नगरपालिकाको झन्डै ६ करोड लगानीमा निर्माण भएको भ्यूटावर परिसरमा जनयुद्ध सङ्ग्रहालय, सहिदको सालिकसमेत रहेको छ । रोल्पा  नगरपालिकाका उपमेयर गीता आचार्यले अहिले सामान्य रूपमा सञ्चालन आएपनि पूर्ण रूपमा सञ्चालन गर्न निजी क्षेत्रलाई दिने योजना रहेको बताइन् ।

उता, दाङका विभिन्न स्थानीय तहमा ६ वटा भ्यूटावर निर्माण भएका छन् । यसै क्रममा बंगलाचुली गाउँपालिकाले मात्रै तीनवटा भ्यूटावर बनाएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाले छिल्लिकोटमा २५ लाखको लागतमा भ्यूटावर बनाएको छ । अर्को व्यक्तिगत लगानीमा समेत भ्यूटावर बनेको छ ।

two

 

यस्तै, लमही नगरपालिकाले पनि लमहीमा भ्यूटावर निर्माण गरिरहेको छ । यसै गरी, पाल्पाको  श्रीनगर र रामपुरमा भ्यूटावर निर्माण भएका छन् । श्रीगरमा केही चहलपहल भए पनि रामपुरमा भने खासै उपयोग भएको देखिन्न ।

सञ्चालनमा  किन सकस  ?

हतारमा लगानी  गर्दा अहिले धरै भ्यूटावर सञ्चालनको लागि सकस देखिएको छ  । यसको उदाहरणको रूपमा कोहलपुर नगरपालिकाले  निर्माण गरेको लिफ्टसहितको भ्यूटावर सञ्चालनका लागि पटक पटक टेन्डर गर्दा पनि नपर्नुलाई लिन सकिन्छ ।

नगरप्रमुख पूर्णप्रसाद आचार्यले मासिक दुई लाख रुपैयाँ  निजी क्षेत्रमा सञ्चालन गर्ने दिने  विज्ञापन दुई पटक खोले पनि कसैले ठेक्का नलगाएको बताउँछन् । अव एकपटक पुनः सूचना निकाल्ने, नभए कार्यपालिको बैठक बसालेर ठेक्का दररेट घटाउने मनसायमा नगरपालिका छ ।

दाङ जिल्लाको लमहीको अजम्बरी सामुदायिक वनमा बनेको भ्यूटावर कमजोर भू–बनोटमा बनेपछि दबेको छ । त्यहाँ दुई करोडभन्दा बढी लगानीमा ८ तले भ्यूटावर बनाउने भनिएपनि जमिन कमजोर भएपछि चार तलामै सीमित भएको छ । केही स्थानीय आएपनि बाह्य पर्यटक खासै नआएको वनका अध्यक्ष पवन रिजालले बताए ।

कपिलवस्तुको जगदीशपुर तालनजिकै लुम्बिनी प्रदेश सरकारको २ करोड लगानीमा बनेको भ्यूटावरमा पनि चहलपहल कम छ।

एता, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गत वर्ष नै ४० लाख रुपैयाँ खर्चेर शंखेटारीमा चारतले भ्यूटावर बनाएको छ । टावर आवश्यक नभएको भन्दै स्थानीयले विरोध गर्दागर्दै नगरपालिकाले निर्माण गरेको थियो ।

भ्यूटावरभन्दा शिक्षा, स्वास्थ्यमा जोड 

कोहलपुर नगरपालिकाका मेयर आचार्य लहडको भरमा टावर बनाउने क्रम बढेकोमा यसलाई रोक्नुपर्ने बताउँछन् ।

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक प्रकाश पौडेल यस्ता अनुत्पादक क्षेत्रमा लगानी गरेर डाँडामा भ्यूटावर बनाउनुभन्दा शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने धारणा राख्छन् ।

लुम्बिनी प्रदेश योजना आयोगका पूर्वसदस्य डा दामोदर भुसालले व्यवस्थित योजनाविनै र सम्भाव्यता अध्ययनसमेत नगरी लहडमा सुरु गरिएको ‘पर्यटन विकास’का नाममा ठाउँ ठाउँमा भ्यूटावर अनावश्यक रहेको जिकिर गर्छन् । उनले पर्यटक तान्न अन्य विधि अपनाउँदा धेरै फाइदा हुने बताए ।  रातोपाटी

 

 

प्रतिक्रिया दिनुहोस्: