समूह ‘एच’को खेलमा डेनमार्कले सानमारिनोलाई ४–० ले हरायो । डेनमार्कका लागि पिएरे एमिल होएवर्गले २६औं, ज्याकिम माहेलेले २८औं, जोनास विन्डले ४०औं र युसुफ पाउलसेनले इन्जुरी टाइममा गोल गरे । ५ खेलबाट १० अंक जोडेको डेनमार्क समूह ‘एच’को दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा स्लोभेनियाले नर्दन आयरल्याण्डलाई ४–२ ले पराजित गरेको छ । ५ खेलबाट १० अंक नै जोडेको स्लोभेनिया तेस्रो स्थानमा छ । फिनल्याण्ड ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।
लेवान्डोस्कीको दुई गोल
रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि समूह ‘ई’ मा पोल्याण्डले फारो आइल्याण्डलाई २–० ले पराजित गरेको छ । लेवान्डोस्कीले ७३औं र ८३औं मिनेटमा गोल गरेका थिए । छनोटमा दोस्रो जित निकालेको पोल्याण्ड चार खेलबाट ६ अंकसहित समूह ‘ई’ मा तेस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा चेक रिपब्लिक र अल्वानियाले १–१ को बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि चेक रिपब्लिक ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमै छ भने समान खेलबाट ७ अंक रहेको अल्वानिया दोस्रो स्थानमा छ ।
हंगेरीको पुनरागमन जित
समूह ‘जी’ अन्तर्गतको खेलमा हंगेरीले एक गोलले पछि परेको अवस्था उल्टाउदै सर्बियामाथि २–१ को पुनरागमन जित निकाल्यो ।
हंगेरीकै अतिला सलाईले १०औं मिनेटमा आत्मघाती गोल गरेपछि सर्वियाले सुरुवाती अग्रता बनाएको थियो तर कायम रख्न सकेन ।
हंगेरीका लागि बर्नाबास भर्गाले ३४औं मिनेटमा बराबरी गोल गरे भने विली ओर्बानले ३६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै हंगेरीले खेल जित्यो ।
जितपछि चार खेलबाट १० अंक जोडेको हंगेरी सर्वियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट ७ अंकसहित सर्विया दोस्रो स्थानमा झरेको छ ।

