Loktantra Khabar National Weekly
Ad

निराश निर्भीकताको सल्को

लोकतन्त्र खबर
२० भाद्र २०८०

समसामयिक नेपालमा भीडलाई आश्वस्त तुल्याएर तिनलाई सकारात्मक समूहहरूमा रूपान्तरित गर्नुको साटो सुषुप्त आक्रोशको भुंग्रोमा मट्टीतेल खन्याएर आ–आफ्नो झुन्ड निर्माण गर्ने प्रतिस्पर्धाको जोखिम बेपत्ता बढेर गएको छ ।

सूचनाको तात्कालिक मात्र नभएर प्राथमिक स्रोतसमेत नजर (भ्युज) पछ्याउने अन्तर्जालका अप्रशोधित लेखोट (पोस्ट) हुन पुगेको कालखण्डमा सहजै उपलब्ध हुने जानकारी पत्याउन कठिन हुन्छ । काठमाडौं महानगरपालिकाका ‘महामेयर’ बालेन्द्र शाह आफ्नो कार्यबोझबाट उम्किन केही दिनको बिदा मनाउन क्रिकेटको खेल हेर्ने निहुँ पारेर श्रीलंका गएका हुन सक्छन् । खेलको सिलसिलामा स्वाभाविक लाग्ने विभिन्न किसिमका देशी र विदेशी व्यक्तिहरूसँगको भेटघाट पनि उनको पूरक उद्देश्य थियो होला ।

देश फिरेपछि पनि आफ्नो उद्देश्य स्पष्ट नगरेकाले अड्कल त जे पनि गर्न पाइने हुन्छ । संघीय राजधानीसमेत रहेको महानगरका प्रमुखको हैसियतमा उनले देखाएको मैमत्त बानी–बेहोराले गर्दा, ‘बालेन’ उपमानले ख्याति पाएका तुकबन्दी गायकको नामसँग ‘महामेयर’ उपसर्ग लगाए फरक पर्दैन । व्यक्तिगत विदेश भ्रमणअघि महामेयरले गरेको अराजक टिप्पणीले (अ)सामाजिक सञ्जाललाई उद्विग्न तुल्याएको परिस्थितिलाई यसै अखबारका कार्टुनिस्ट अविनले चिन्तातुर तुल्याउने गरी चित्रित गरेका छन् । आगोको मुस्लोलाई जयजयकार गर्दै स्वागत गरिरहेका निराशावादी एवं तमासावादीहरूसँग उभिएका अतिवादीको हातमा रहेको मट्टीतेलको कनिस्टर समसामयिक नेपालको भयोत्पादक यथार्थ हो ।
आत्ममुग्ध महामेयर ‘बालेन सर’ लाई लाग्दो हो, उनले जे गरे, ठीक गरे । धम्मपदको पद २४४ को भावानुवाद अनुसार, ‘जो पापाचारप्रति निर्लज्ज र कागजस्तै ढिठ छ, परहित विनाशी र आत्मश्लाघी छ, आक्रामक र पतित छ, त्यस्ता व्यक्तिहरूका लागि जीवन सजिलो छ ।’ धेरैजसो व्यक्ति सजिलो जीवन मन पराउँछन् । सुकरातले परीक्षण नगरिएको जीवनलाई बाँच्नयोग्य नरहेको कुरा गरेका थिए । आत्मालोचना एवं परिस्थितिको विवेचना गर्ने आँट आत्मविश्वासले दिन्छ । निराशा व्याप्त हुँदै गएको समाजमा के धनी र के धनहीन, को बलियो र को निर्धो एवं कुन समुदाय अधीनस्थ र कुन वर्चस्वशालीÙ एक–एक गरेर सबैको भरोसा टुट्दै गइरहेको छ । भविष्यप्रति आश्वस्त तुल्याउन सक्ने आवाज मलिन भएपछि आगो ओकल्नेको जनप्रियता आकासिनु स्वाभाविक हो । महामेयर बालेनका असंख्य अन्तर्जाली समर्थकमा देखिएको विवेकहीनता नेपालका विविध समाजबाट सुस्तरी हराउँदै गएको सकारात्मक सामूहिकताको परिचायक पनि हो । व्यक्ति आफैंमा महत्त्वपूर्ण त हो, तर उसले आफ्नो स्वत्व र महत्त्वको अनुभूति समूहमा मात्र गर्दछ ।

मानव सभ्यताको विकासक्रम भनेको परिवार, कबिला, गाउँ, सहर र देश हुँदै विभिन्न किसिमका स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका जटिल समूहहरूको गठन एवं विघटनको इतिहास हो । द्वन्द्वहरूको सुरुआत, तीव्रता एवं निरूपण पनि अस्वाभाविक होइन । कार्ल मार्क्सले त हिंसालाई ‘इतिहासकी सुडेनी’ सम्म भनेका छन् । तर, हिंसा यदि सुडेनी मात्र हो भने समाजमा बढ्दै गएको कुण्ठित आक्रोशलाई ‘नकारात्मक सामूहिकता’ को जननी मान्नुपर्ने हुन्छ । नकारात्मक समूह सुस्तरी विवेकहीन भीडमा परिवर्तित हुन्छ । त्यस्तो भीडले जनोत्तेजक नेतृत्व पाएपछि स्वेच्छाले समूहीकृत झुन्ड आफ्नो दुरुत्साहक (इन्स्टगैटर) द्वारा पहिचान गरिएको वास्तविक वा काल्पनिक ‘शत्रु’ माथि जाइलाग्छ । विवेकले समूह (कलेक्टिभ) निर्माण हुन्छ, आक्रोशबाट भीड (क्राउड) जन्मिन्छ र दुरुत्साहकले झुन्ड (मब) गठनको प्रक्रियालाई गति दिन्छन् ।

कुण्ठित आक्रोशको विस्तार एवं सकारात्मक सामूहिकताको संकुचनका कारणहरू पहिल्याउन सहज छैन । कार्ल मार्क्सले पुँजीवादी समाजमा मजदुरहरूले अनुभव गर्ने शक्ति, नियन्त्रण र आत्मसन्तुष्टिको अभावबाट उत्पन्न हुने छटपटी र अलगाव (ऐलिअनैसन) रोषको स्रोत रहेको तर्क गर्छन् । समाजशास्त्री एमिल दुर्खेम भने पुराना मूल्य र मानता भत्किँदै गरेको र नयाँ बन्न नसकेको संक्रान्तिकालमा महसुस हुने व्यक्तिको विलगाव (एनोमी) समाजमा व्याप्त हुँदै गएको अवसाद, हताशा, निराशा एवं विचलनको कारक तत्त्व हुन सक्ने व्याख्या गर्छन् । धर्माधिकारीहरू ईश्वर र आस्थावान्बीच विश्वासको खाडल गहिरिँदै गएपछि समग्र समाजबाट विच्छेद भएको महसुस गर्ने व्यक्तिहरू आपराधिक प्रवृत्तितर्फ आकर्षित हुन सक्ने एवं शान्ति खलबलिन सक्ने जोखिम औंल्याउँछन् । सकारात्मक सामूहिकताको अभाव अलगाव, विलगाव एवं विचलनको प्रमुख कारण हो भन्ने निष्कर्षमा भने प्रतिस्पर्धी विचारहरूबीच मात्रात्मक एवं गुणात्मक फरक रहे पनि विचारमा समानता छ ।

समूह निर्माण अवरुद्ध भएर भीड वा झुन्डको बोलवाला कायम भयो भने भौतिक अस्तित्व रक्षा एवं मानसिक सन्तुलन कायम राख्ने सबभन्दा सहज उपाय त्यसैमा मिसिनु हो । भीडको तुलनामा झुन्डहरू प्रतिस्पर्धी हुन सक्ने भएकाले कुनै एउटासँग जोडिनुमा लाभ र जोखिम दुवै बढी छ । दोस्रो विकल्प चुपचाप बाहिरिनु हो । बहुसंख्यक नेपाली युवाले बिदेसिनुमै कल्याण देख्नु अनाहक होइन । विपरीत परिस्थितिमा समेत सकारात्मक समूह निर्माणको सपना देख्नेहरू जुनसुकै कालखण्डमा थोरै हुन्छन् । तिनले समर्पण र पलायनको विकल्पका रूपमा संघर्षको अपरिहार्यतालाई स्थापित गर्छन् ।

समसामयिक नेपालमा भीडलाई आश्वस्त तुल्याएर तिनलाई सकारात्मक समूहहरूमा रूपान्तरित गर्नुको साटो सुषुप्त आक्रोशको भुंग्रोमा मट्टीतेल खन्याएर आ–आफ्नो झुन्ड निर्माण गर्ने प्रतिस्पर्धा बढ्ने जोखिम भने बेपत्ता बढेर गएको छ । सबै दोष (अ)सामाजिक सञ्जालको व्यापकतालाई दिएर उम्किन सकिँदैन । प्रविधि औजार हो । केही औजारमा अन्तर्निहित विनाशकारी शक्तिले लाभभन्दा क्षति बढी गर्ने कुरा पनि नयाँ होइन । नयाँ भने अग्रगामी विचार राख्नेहरूको निरीहतामा देख्न सकिन्छ । आस गुमाएकाहरू बरु निर्भीक हुँदै गइरहेका छन् ।

सुकेका धमनी

बाघले मृगको सिकार गर्ने ‘जंगल राज’ मान्यता नेपालमा ‘जसको तरबार, उसको दरबार’ उखानजस्तै आधुनिक कालसम्म कायम थियो । युरोपमा भने सार्वभौम शासक नभएको खण्डमा ‘जीवन एक्लो, निरीह, क्रूर र छोटो’ हुनेछ भन्ने बेलायतका दार्शनिक थोमस हाब्स (सन् १५८८–१६७९) सँगसँगै धर्म र राज्यलाई एकअर्काबाट छुट्ट्याउने एवं संगठित शक्तिलाई समाजिक जागरणमार्फत नियन्त्रण गर्ने प्रयत्नहरू प्रबोधनकाल (सन् १६८५–१८१५) तिरै सुरु भइसकेका थिए । शासनको परम्परागत शैलीलाई सबभन्दा संगठित चुनौती दिएको भने विभिन्न चरण पार गरेको लामो फ्रान्सेली क्रान्ति (सन् १७८९–१८१४) ले हुनुपर्छ ।

स्वतन्त्रता, समानता, बन्धुत्व एवं धर्मानासक्ति (लाइसिते) मन्त्रलाई संस्थागत गरेको फ्रान्सेली क्रान्तिको उपोत्पाद सांस्कृतिक राष्ट्रवाद, राजनीतिक सैन्यवाद र उपनिवेशवादी पुँजीवादसमेत रहेको पनि यथार्थ हो । धर्मानासक्त शब्दले धार्मिक आस्थालाई सार्वजनिक मामिलाहरूबाट टाढा राख्दै व्यक्तिको कुनै धर्म मान्ने वा नमान्ने अधिकारलाई खुला छाड्ने गर्छ । राज्य र धर्मलाई अलग्याउने ‘सेक्यलरिज्म’ भन्दा केही फरक र बहुसंख्यकको धर्मलाई अग्राधिकार प्रदान गर्ने ‘धर्मनिरपेक्षता’ भन्दा धर्मानासक्तिमा धर्मका आधारमा सामूहिकता निर्माणका अधिकारहरू केही सीमित छन् ।

धर्मानासक्त समाजमा सकारात्मक सामूहिकता राजनीतिक, आर्थिक, रचनात्मक एवं प्राज्ञिक आधारमा मात्र हुन सक्छ । सर्वहाराहरूको अधिनायकवाद विचारधारा पछ्याउने साम्यवादी राज्यहरूमा बाहेक लगभग सबै आधुनिक समूह प्रतिस्पर्धात्मक भए पनि कम्तीमा तीन थरी आधारभूत मान्यतामा भने अडिग रहन्छन्— व्यक्ति स्वायत्त भए पनि तिनको शक्ति संगठनमार्फत मात्र प्रभावशाली हुन्छ, बहुलताबेगरको संगठन निरंकुशतातर्फ उन्मुख हुन सक्छ र सबै खाले सत्तामा एकाधिकार चाहने संगठन सर्वसत्तावादी हुने भएकाले त्यस्तो प्रवृत्तिको निरन्तर प्रतिरोध नागरिकका प्राथमिक कर्तव्यहरूमध्ये एक हो । समग्रमा त्यस्ता सबै समूहलाई अग्रगामी भन्न मिल्छ ।

सामूहिक आत्ममुग्धताले ग्रस्त विद्वान्हरूले विगतको विरुदावलीमा कागत कालो पार्न जत्ति नै मसी बगाएका भए पनि नेपालमा अग्रगामी संगठन निर्माणको इतिहास खासै पुरानो छैन । सबभन्दा पुराना ठहर्‍याइएका नेवाः समुदायका अधिकांश गुठी र मण्डल आफ्नो टोलको विविधताभन्दा पनि कुल र मूल आधारित हुने गर्थे । जंगबहादुरले मासिने र नमासिने ठहर्‍याएका जनजातिहरूबीच सामञ्जस्य सहज थिएन । बाहुनवादको व्यापक असरले गर्दा दलितहरूसमेत स्वघोषित ठूला र सानामा विभाजित थिए ।

भारतका गाउँहरू क्रूरता, जातीय पूर्वाग्रह एवं साम्प्रदायिकताको मलकुण्ड (सेस्पुल) रहेको भीमराव अम्बेडकरको खरो टिप्पणी नेपालको हकमा पनि लागू हुन्छ । जनस्तरबाट सर्वजातीय स्कुल वा सार्वजनिक अस्पताल सञ्चालन पनि सन् १९४० को दशकपछि मात्रै सुरु भएको हो । सहमत वा असहमत हुनु बेग्लै कुरा हो, तर नेपालमा सकारात्मक सामूहिकताको जग राजनीतिक दलहरूले हालेका हुन् भनी दाबीका साथ राख्न सकिन्छ । ट्रेड युनियन राजनीतिकर्मीहरूकै अग्रसरतामा खुलेका हुन् । विद्यार्थी संगठनहरू दिशाहीन हुन थालेको यथार्थ हो, तर कुनै बेला तिनले रूपान्तरणको कार्यसूची निर्धारण गर्ने हैसियत राख्थे । शिक्षकहरूले संगठित रूपमा जनजागरणको सन्देश गाउँ–गाउँसम्म पुर्‍याउन सकेकाले नै रणनीतिक रूपमा त्यस मोर्चालाई कब्जा गर्न सफल रहेका वामपन्थी दलहरू आफ्ना सबै कमीकमजोरीहरूका बावजुद नेपाली राजनीतिको निर्णायक तत्त्वका रूपमा विद्यमान छन् । विद्यार्थी संगठन, ट्रेड युनियन, पेसागत समूह वा शिक्षक संगठनमा चल्तापुर्जाहरूको हालीमुहाली कायम रहे पनि ती आधुनिक सामूहिकताका मञ्चहरू हुन् । लगभग त्यस्ता सबै समूहले आफ्नो ओज गुमाएका छन् ।

व्यापक रूपमा ‘कालरात्रि’ भनिने शाही–सैनिक ‘कू’ गरेर लागू गरिएको पञ्चायत व्यवस्थाले सामूहिकताको संस्थाकरणलाई अवरुद्ध गरे पनि समाप्त पार्न सकेको थिएन । सामाजिक सेवा समन्वय परिषद्का नाममा तत्कालीन राजपरिवारले स्वैच्छिक सेवा (भोलन्टिएरिजम) निर्देशित गर्न चाहेको भए पनि अनौपचारिक अग्रसरताका मञ्चहरू नियन्त्रित गर्ने क्षमता नभएकाले टोल–टोलमा विमर्शको चलन कायमै थियो । विद्यार्थीहरूको ‘मण्डल’ निर्माण गरेर राजतन्त्रको रक्षाकवच बनाउने, युवाहरूलाई खेलकुदमार्फत राजभक्तिसँग जोड्ने एवं व्यापारीहरूलाई अञ्चलाधीश लगाएर पञ्चायतको ऊर्जा बनाउने प्रयत्नहरूका बावजुद राज्य संरचनाबाहिरका नागरिक समूहहरू निमिट्यान्न हुन सकेका थिएनन् । सकारात्मक समूह क्रियाशील भए पुग्छ; तिनको औपचारिक कार्यालय, विधि–विधान एवं सञ्चालकको सोपानतन्त्र नै हुनुपर्छ भन्ने छैन ।

सन् १९९० पछि नागरिक अग्रसरताका मञ्चहरू सुस्तरी सेलाउँदै जानुका पछाडि कम्तीमा चार कारण छन् । प्रतिबन्धित राजनीतिक दलहरू खुला प्रतिस्पर्धामा आएपछि सम्बद्ध मात्र नभएर प्रतिबद्ध नागरिक मञ्चहरूको वामपन्थी प्रचलन प्रजातान्त्रिक दलहरूभित्र पनि छिरेको हो । दोस्रो कारण स्वैच्छिक सेवाको तीव्र व्यवसायीकरण हुनुपर्छ । वामपन्थको विस्तारलाई युवाहरूलाई ‘एनजीओ काडर’ भित्र सहवरण गरेर रोक्ने दातृ निकायहरूको रणनीति अन्ततः असफल ठहरिए पनि नागरिक अग्रसरता र राजनीतिक दलबीचको सहयोगी सम्बन्ध भने लेनदेनमा सीमित भयो ।

सामान्य असहमतिसमेत पचाउन नसक्ने राजनीतिक दलका हर्ताकर्ताहरूको दम्भले गर्दा आत्मसम्मान भएका नागरिक अगुवाहरू सुस्तरी आफैं पन्छिँदै गए । सकारात्मक समूह निर्माण प्रक्रियालाई समाप्त पार्ने दुईतर्फी प्रहार भने माओवादी एवं सैन्यवादीले गरेका हुन् । शत्रु र सुराकी सफाया गर्ने त्रास एकातिर एवं आतंककारी र तिनका मतियार सिद्ध्याउने चेतावनी अर्कोतिरबाट आउन थालेपछि सत्ता समीकरणबाट बाहिर रहेका समूहहरूको औचित्य स्वतः समाप्त भयो । मुटुबाट रगत प्रवाह अवरुद्ध भएपछि धमनीहरू सुस्तरी सुक्दै जानु अस्वाभाविक होइन ।

झारफुकको मुहुनी

सबै खाले औपचारिक समूहसँग सम्बद्ध केही मान्यता छन् । धर्म र सम्प्रदाय प्रवर्द्धन गर्ने संस्थाहरू स्वभावतः प्रतिगामी (रिग्रेसिभ) हुन्छन्; त्यो किनभने तिनको सतयुग सकियो, कलयुग चालु छ र ‘धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ विश्वास जीवन जिउने एक मात्र मूल आधार हो । सैन्य र शासकीय संरचना यथास्थितिको संरक्षणका लागि खडा गरिएकाले तिनको चरित्र रूढिवादी (कन्सर्वटिभ) हुने नै भयो ।

नाफा जता देख्यो उतै ढल्किने अवसरवाद (आपर्टुनिजम) धेरैजसो व्यापारिक एवं व्यावसायिक समूहहरूको रणनीति हुने नै भयो । अर्थराजनीतिक तथा सामाजिक र सांस्कृतिक परिवर्तनको कुनै न कुनै विचार बोक्ने भएकाले सबै राजनीतिक दल रूपान्तरकारी शक्ति नै हुने गर्छन् । मात्रात्मक फरक होला, तर प्रतिगामी दलको अवधारणा विपरीतार्थक शब्दहरूको असंगत संयोजन हो; व्यापक हिंसाबेगर एकल धर्मको राज्य सञ्चालन गर्न सम्भव छैन । रूढिवादी दल ढिलो वा छिटो स्थायी सत्ताको अस्त्र बन्न पुग्छ ।

यथास्थितिको संरक्षण नै राजनीतिक दल हुनुको लक्ष्य भयो भने राजनीतिकर्मीहरूले फगत जनपरिचालन गर्ने भूमिकामा आफूलाई सीमित गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ बाटो अवरुद्ध होला र पछाडि हट्ने बाध्यता आइलाग्ला तर परिवर्तनको कार्यसूचीलाई निरन्तर परिष्करण गर्न सकेनन् भने सिंगो राजनीतिक दललाई आत्ममुग्ध व्यक्ति वा गिरोहले आफ्नो मोहपाशमा बाँध्न बेर लाग्दैन । समूह निर्माणका स्वैच्छिक प्रयत्नहरू सुस्त हुँदै गएका बेला राजनीतिक दलहरू पनि आफ्ना आधारभूत मान्यताबाट विचलित हुँदै जानु गहिरिँदै गएको सामाजिक संकटका कारक तत्त्व हुन् । प्रविधिको अनुपयुक्तताजस्तै भूराजनीतिक बाध्यता पनि राजनीतिकर्मीहरूको आ–आफ्नो अक्षमता लुकाउने आवरण बन्न पुगेको छ । रोगको कारण सामूहिक सोचमा रहेकाले निवारणका उपायहरू पनि त्यहीँबाट सुरु हुनुपर्ने थियो । दुर्भाग्यवश, सामाजिक अगुवा एवं राजनीतिक संगठकहरू पनि झारफुक गर्ने धामी र ओझा निम्त्याउनमै व्यस्त छन् ।

धार्मिकता व्यक्तिगत, पारिवारिक, कुल, मूल वा समूहसँग सम्बन्धित नितान्त निजी आस्थाको विषय हो । बलिको रगतबाट ठाडो टीका लगाउने चलनलाई सार्वजनिक प्रदर्शनको विषय बनाउने राजनीतिकर्मीहरू अरू जेसुकै भए पनि धर्मनिरपेक्ष कहलिनलायक छैनन् । सांस्कृतिक चलनमा सहभागिता राजनीतिक अपवाद हो; प्रजातान्त्रिक राजनीतिकर्मीको दैनिकीमा धार्मिकताको सार्वजनिक प्रदर्शनले रूपान्तरणको कार्यसूचीलाई कमजोर तुल्याउँछ । केही दिनयता कम्तीमा तीन हिन्दुत्ववादी प्रचारकहरूले नेपाल भ्रमण गरेका छन् । अपेक्षाकृत कम उमेरमा ‘वागेश्वर बाबा’ कहलाइएका धीरेन्द्रकृष्ण शास्त्री नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा विराट् हनुमान कथा प्रवचन दिन बोलाइएका थिए । कोयम्बटुरमा भव्य आश्रम चलाएर बसेका स्वघोषित सद्गुरु जग्गी वासुदेव बारम्बार नेपाल आइराख्छन्, उनी फेरि आएका छन् ।

गएको हप्तासम्म अपेक्षाकृत कम विवादित गुजरातका मोरारी बापुको रामचरित मानस कथावाचन गोदावरीमा सञ्चालित भएको थियो । हिन्दु धर्मका बाबा, गुरु र वाचक धर्मस्थल नेपाल आउनु स्वाभाविक हो । अस्वाभाविकता भने कम्तीमा तीन थरी गतिविधिमा छ । उल्लिखित स्वनामधन्य व्यक्तित्वहरू हिन्दु धर्मभन्दा पनि हिन्दुत्वको निषेधात्मक राजनीतिसँग जोडिएका नामहरू हुन् । तिनको आवभगतमा लागेका राजनीतिकर्मीहरूले शब्दको नभए पनि संविधानको मर्म र भावनासँग खेलबाड गरेका छन् । र, अल्पसंख्यक समुदायहरूको बाहुल्य रहेको देशमा बहुसंख्यकवादको नग्न प्रदर्शन प्रत्युत्पादक हुँदै प्रतिगामी बाटोतिर मोडिने निश्चित छ ।

सामाजिक समूह र राजनीतिक दल एकसाथ कमजोर हुनु भनेको चटकेहरूका लागि मैदान खाली गरिदिनु हो । राजतन्त्रको इतिहासले धार्मिक अतिवादका लागि मलिलो माटो पहिलेदेखि तयार पारेर राखेको थियो । त्यसमा अल्पसंख्यकप्रति घृणाको बीउ छर्किन अभियन्ताहरू लागिसकेका छन् । राज्यका संस्थाहरूको विश्वसनीयता यति विघ्न खस्किएको छ, तिनको प्रत्याभूतिलाई सम्बद्ध संस्थामा काम गर्नेहरू पनि पत्याउँदैनन् ।

अनि ‘चोर सरकार’ र ‘सिंहदरबारमा आगो लगाउने’ जस्ता अराजक टिप्पणीलाई निराश जमातले आँटका रूपमा अर्थ्याउन थाल्छ । एकातिरबाट धार्मिक अतिवाद र अर्कोतर्फबाट कुण्ठाग्रस्त आत्ममुग्धताको दोहोरो मारलाई राष्ट्रवादको जनोत्तेजक नाराले समेत थेग्न सक्नेछैन । नागरिक अग्रसरता सुस्त र सहयोगी प्रक्रिया हो । राजनीतिक दलहरूले आफ्नै अस्तित्व रक्षाका लागि भए पनि स्वतन्त्रता, समानता, बन्धुत्व एवं धर्मानासक्तिजस्ता मूलभूत मान्यतालाई पुनर्जीवन दिनुको विकल्प छैन ।    कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: