Loktantra Khabar National Weekly
Ad

भारतले प्रक्षेपण गर्‍यो आफ्नो पहिलो सूर्य मिसन

लोकतन्त्र खबर
१७ भाद्र २०८०

केही दिनअघि मात्रै चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गराएर इतिहास रच्न सफल भएको भारतले सूर्यको अनुसन्धानका लागि आफ्नो पहिलो अन्तरिक्षयान प्रक्षेपण गरेको छ ।

शनिबार स्थानीय समय अनुसार ११ बजेर ५० मिनेट जाँदा भारतको श्रीहरीकोटाबाट आदित्य एल वान नामक अन्तरिक्षयान प्रक्षेपण गरिएको हो ।

यो यान पृथ्वीबाट १५ लाख किलोमिटर टाढासम्म पुगेर सूर्यको अध्ययन गर्नेछ । यो भनेको सूर्य र पृथ्वीबीचको कुल दूरीको एक प्रतिशत हो । यो दूरी तय गर्नका लागि आदित्य एल १ लाई चार महिनाको समय लाग्नेछ ।

उक्त अन्तरिक्षयानमा एल वान को अर्थ Lagrange point 1 हो । यो भनेको सूर्य र पृथ्वीको बीचमा रहेको त्यो क्षेत्र हो जहाँ भारतीय अन्तरlक्षयान पुग्नेछ ।

युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार ल्यागरेन्ज विन्दु भनेको त्यस्तो ठाउँ हो जहाँ दुईवटा विशाल पिण्डहरु, जस्तै पृथ्वी र सूर्यको गुरुत्वाकर्षण बलले एक अर्कालाई निस्तेज पार्दछन् र फलस्वरुप त्यहाँ अन्तरीक्षयानहरु तैरिन्छन् ।

आदित्य एल वा उक्त ‘पार्किङ क्षेत्र’ पुगेसँगै पृथ्वीलाई परिक्रमा गर्ने गतिमै सूर्यलाई पनि परिक्रमा गर्न सक्नेछ र त्यसका लागि उक्त यानलाई निकै कम इन्धन आवश्यक पर्नेछ ।

शनिबार भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले गरेको प्रक्षेपणको दृश्य हेर्नका लागि हजारौं मानिसहरु श्रीहरीकोटाको प्रक्षेपण स्थल नजिकै भेला भएका थिए । प्रक्षेपण सफल भएको र यसले सामान्य ढंगमा काम गरिरहेको इसरोका वैज्ञानिकहरुले बताएका छन् ।

इसरोका प्रमुख श्रीधर पानिकेर सोमनाथले भनेका छन्, ‘अब यसले आफ्नो यात्रालाई निरन्तरता दिनेछ । यो १३५ दिनको निकै लामो यात्रा हो । यसलाई शुभकामना दिउँ ।’

आदित्य एल वान आफनो गन्तव्यमा पुगेसँगै यसले भारतलाई मात्र नभई विश्व वैज्ञानिक समुदायलाई फाइदा पुग्ने उक्त परियोजना निर्देशक निगर शाजी बताउँछन् ।

एल वान विन्दुतर्फ हिंड्नु अगाडि यो यानले पृथ्वीलाई धेरैपटक परिक्रमा गर्नेछ । उक्त विन्दुबाट यो यानले सूर्यलाई निरन्तर अवलोकन गर्न सक्नेछ । ग्रहणका बेला यो नदेखिए पनि यसले निरन्तर वैज्ञानिक अध्ययन गरिरहनेछ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यो सूर्य मिसनको लागत तीन अर्ब ७८ करोड भारतीय रुपैयाँ रहेको छ ।

                                                            अनलाइनखबर                                                   बीबीसी

प्रतिक्रिया दिनुहोस्: