
मनोज यादव—
सर्लाही,भाद्र ७
तराई मधेसका जिल्लाहरुमा बाँसका विभिन्न सामाग्रीहरु बनाएर बिक्री गर्दै आएका डोम समुदायको परम्परागत पेसा संकटमा परेको छ। कच्चा पदार्थको अभाव र समाजमा बढ्दो आधुनिकीकरण सँगै घरायसी प्रयोजनका लागि रेडिमेड तथा प्लाष्टिकका सामानहरुको प्रयोग बढ्न थालेपछि उनीहरुको पेशा संकटमा परेको हो ।
प्लास्टिकजन्य सामानको बजारीकरणले गर्दा हातले तयार पारेको सामाग्रीहरु बिक्री हुन छाडेपछि पेसा संकटमा परि छाकटार्न समेत मुस्किल परेको उनीहरूले गुनासो गरेका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका सितापुरका खेलावन मल्लीले कच्चा पदार्थको अभाव र प्लास्टिकजन्य सामानको बजारले गर्दा बाँसबाट तयार पारिएका सामाग्रीहरु लोप हुन लागेको बताए ।घर व्यवहार धान्न बाबु बाजेले सिकाएको सीप कच्चा पदार्थको अभावका कारण विस्तारै लोप हुँदै गइरहेकोले नयाँ पुस्ताका युवाहरु बैकल्पिक रोजगारको खोजीमा लागेका छन् भने अधिकांश युवाहरु भारतको विभिन्न राज्यमा गएर मजदुरी गर्न थालेका छन् । गाउँमै रहेका महिला तथा बृद्धबृद्धाहरुले जसोतसो पेशलाई निरन्तरता दिइरहेका छन् ।
पछिल्लो समय उपभोक्ताहरु बाँसबाट निमार्ण हुने नाङ्ग्लो, छिटी, मौनी, ढकिया लगायतका सामानको सट्टा स्टिल, प्लास्टिक, अल्मुनियम, तामा तथा पित्तलबाट तयार गरिएका सामानहरुको प्रयोग गर्न थालेका छन् । बजारमा पाईने रेडिमेड सामानहरु सस्तो र आकर्षक हुने भएकाले बाँसवाट बनाइएका सामाग्रीहरुको प्रयोग घटेको उनीहरु बताउँछन् ।
पुख्र्यौली पेशालाई निरन्तरता दिनका लागि ब्यवस्थित बजारीकरणका साथै राज्य पक्षबाट प्रोत्साहन दिनुपर्ने उनीहरूको सरकार सँग माग रहेको छ।