Loktantra Khabar National Weekly
Ad

रवि लामिछानेको विषयमा दूतावासको पत्र कुर्दै प्रहरी

लोकतन्त्र खबर
३ पुष २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा छानबिन गरिरहेको प्रहरीले अमेरिकी दूतावासबाट जवाफ नआउँदा अनुसन्धानलाई अगाडि बढाउन पाएको छैन । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेको नागरिकता विवादका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

लामिछानेले दोहोरो नागरिकता लिएको, अमेरिकाको नागरिकता प्राप्त गर्दा नेपालको नागरिकता नत्यागेको र अमेरिकी नागरिक रहेकै समयमा समेत नेपाली नागरिकले प्रयोग गर्ने नागरिकता र पासपोर्ट प्रयोग गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो ।

सिन्धुलीका युवराज पौडेलले दिएको उजुरीका आधारमा गृह मन्त्रालयले सो विषयको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त विषयको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर छानबिनका लागि निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुसन्धानका लागि पत्र प्राप्त भए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न निकायमा पत्राचार गर्दै नागरिकतासम्बन्धी कागजात मगाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लामिछानेको नागरिकता विवादका सम्बन्धमा छानबिन गर्न प्रहरीले अमेरिकी दूतावासमा पनि पत्र पठाएको छ । लामिछानेसँग सम्बन्धित विवरण उपलब्ध गराइदिन भन्दै प्रहरीले दूतावासलाई पत्र पठाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार अनुसन्धान गर्न पत्र प्राप्त भएपछि विभिन्न निकायमा पत्राचार गरिएको र त्यसमध्ये दूतावास पनि एक भएको बताए । मैनालीले भने, ‘यो अनुसन्धानकै क्रममा रहेको कारण धेरै केही भन्न सकिँदैन । तर उनले अमेरिकाबाट नागरिकता र पासपोर्ट लिएको हो भने कुन मितिमा लिए र त्याग गरेको हो भने कुन मितिमा त्याग गरे भनेर पत्र पठाएका छौँ । कूटनीतिक नियोग भएकाले कूटनीतिक मार्गबाट पत्र पठाएको कारण जवाफ आइपुगेको छैन । हामी दूतावासको पत्र कुरिरहेका छौँ । यो अनुसन्धानकै क्रममा रहेको छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौँले दूतावासलाई पत्र पठाउँदा लामो बाटो र चेन अफ कमाण्डसमेत पूरा गर्नुपर्ने भएको कारण उक्त पत्र प्राप्त हुन लामो समय लाग्न सक्ने देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सुरुमा उपत्यका प्रहरी कार्यालय, त्यहाँबाट प्रहरी हेडक्वार्टर, प्रहरी हेडक्वार्टरबाट गृह मन्त्रालय र गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा पठाउनुपर्ने हुन्छ । परराष्ट्र मन्त्रालयले मात्रै दूतावासलाई पत्र लेख्न मिल्ने भएकाले यो लामो बाटो भएर पत्रको आदानप्रदान हुने र जवाफ आउँदा पनि सोही मार्ग भएर आउने भएको कारण पत्रको जवाफ आउन लामो समय लाग्न सक्ने देखिएको छ ।

त्यसै गरी प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेखेर लामिछानेले नागरिकता लिएको मिति, विदेशी नागरिकता लिँदा नेपालको नागरिकता त्याग गरेको वा नगरेको, विदेशी नागरिकता लिएर त्याग गरेपछि सो को निस्सा प्रशासनलाई बुझाएको वा नबुझाएको आदिबारेको कागजात मगाएको छ ।

त्यसै गरी जिल्ला प्रहरी परिसर काठमाडौँले परराष्ट्र मन्त्रालयबाट लामिछानेको पासपोर्टको विवरण र अध्यागमन विभागबाट समेत लामिछानेको आवतजावतका सम्बन्धमा आवश्यक विवरण माग गरेको छ । लामिछाने पहिले नेपाली पासपोर्टबाटै अमेरिका गएको र पछि अमेरिकी पासपोर्ट लिएको आरोप छ । साथै विदेशी पासपोर्ट रहेकै समयमा पनि नेपाली पासपोर्ट बोकेर हिँडेको लगायतका आरोपसमेत लागेको छ ।

प्रहरीले नागरिकता विवादका सम्बन्धमा अनुसन्धान गरिरहेको भए पनि अनुसन्धान सकिन समय लाग्ने बताएको छ । प्रहरीले अनुसन्धान पूरा गरेपछि सो को प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बुझाउनेछ ।

प्रहरीबाट प्राप्त प्रतिवेदनका आधारमा नागरिकता विवादमा कैफियत देखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने र कैफियत नभेटिएमा क्लिन चिट दिएर उक्त विषयको छिनोफानो गर्नेछ । केही विवादित विषय आएमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गृह मन्त्रालय स्तरबाट समेत निर्णय गराउन सक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्: