Loktantra Khabar National Weekly
Ad

‘घनश्यामजीले गलत ठाउँमा खुट्टा टेक्नुभयो, विश्लेषण एउटा र निर्णय अर्को गर्नुभयो’

लोकतन्त्र खबर
२३ मंसिर २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराई पार्टीभित्र१० बुँदे पक्षधरनेता भनेर चिनिन्छन् त्यसबेला १० बुँदे पक्षधर भनिएका भीम रावल, घनश्याम भुसालहरु एमालेबाट कर्नरमा परेका बेला भट्टराई भने हालै सम्पन्न निर्वाचनमा ताप्लेजुङबाट टिकट पाउन सफलमात्रै भएनन्, गठबन्धनका उम्मेदवारलाई हराएर निर्वाचित नै भए

भट्टराई निर्वाचित भए पनि एमालेका धेरै नेता पराजित हुन परेको यो निर्वाचनलाई एमालेले कसरी विश्लेषण गरेको ? भट्टराईको जवाफ हारजित भन्दा पनि एमालेले यो पटक आफूलाई बचाएको

प्रस्तुत , निर्वाचन नतिजापछि भइरहेको सरकार निर्माणको जोड घटाउमा एमालेको भूमिका, वामपन्थीबीच भइरहेको एकता प्रयासको प्रगति आगामी राजनीतिक कोर्सबारे सचिव भट्टराईसँग रातोपाटीका रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :

 

अबको वर्ष एमाले सरकारमा जाँदैन ?

हामीले सरकार बनाउने कुरा पहिलो प्राथमिकतामा राखेका छैनौं । किनभने अलग अलग पार्टी भए पनि गठबन्धन बनाएर चुनाव लडेकाले गठबन्धनतिरै सरकारको मुख फर्कियो ।

भर्खरै सम्पन्न निर्वाचनमा तपाईलाई गोल गर्न हम्मे परेको देखियो नि ? तपाईले चाहिँ कस्तो अनुभव गर्नुभएको ?

स्वाभाविक हो । किनभने राजनीति पनि एउटा ‘टीमवर्क’ हो । कुनै एउटा व्यक्तिको चमत्कारिक प्रयत्नबाट मात्रै हुँदैन । त्यसमा पनि हाम्रोजस्तो मुलुक, जहाँ सामाजिक संरचना एक खालको छ । त्यो संरचनामा नेतृत्वको जन्म र विघटन पनि आफ्नै खालको छ यहाँ ।

अर्को भनेको, हाम्रो देशको धेरै ठुलो पंक्ति पार्टीसँग कुनै न कुनै रुपमा आबद्ध छ । जसले मानिसहरुले कता मत हाल्छन् भन्ने पूर्वानुमान देखिन्छ । यसपटक एमालेविरुद्ध जबरजस्त अर्को गठबन्धन थियो । त्यो गठबन्धन यति ‘टाइट’ भयो कि त्यस हिसाबले एउटा दलले अर्काे दललाई भोट ट्रान्सफर गर्छ भन्ने धेरै कम मान्छेले मात्रै सोचेका हुन्छन् । एमालेको आतंक खडा गरेर कांग्रेसले माओवादीलाई सहज भोट ट्रान्सफर गरेको देखियो । माओवादी र समाजवादीको त प्रमुख दुश्मन एमाले थियो । यसले गर्दा कांग्रेसलाई उहाँहरूले सजिलै भोट ट्रान्सफर गरिदिनुभयो, जसले हामीलाई जित निकाल्न कठिन नै थियो ।

ताप्लेजुङको हकमा गएको स्थानीय चुनावमा हाम्रोभन्दा गठबन्धनको मत करिब ३ हजार बढी थियो । अहिले समानुपातिक मत हेर्दा पनि गठबन्धन हामीभन्दा झण्डै ३ हजार मतले नै अगाडि देखिएको छ । यो सबै परिस्थितिमा पनि जित निकाल्ने कुरा कठिन थियो । तर पनि हाम्रो जिल्लाका मतदाताले जिल्लाबाट प्रतिनिधित्व गर्ने हाम्रो जनप्रतिनिधिले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सकोस्, भूमिका खेल्न सकोस् र नाम चलोस् ताप्लेजुङको भन्ने सोच्नुभयो भन्ने लागेको छ ।

पार्टीलाई आउने मत भन्दा तपाईँलाई आउने मत बढी देखियो, यसको कारण के हुनसक्छ ?

हो, १९ हजार ९ सय नेकपा एमालेको समानुपातिक मत छ तर मैले २१ हजार ९ सय जति ल्याएँ । झण्डै २ हजार बढी मत देखिन्छ । यसको मतलव एकाध भोट हाम्रै मान्छे भनिएकाहरुले पनि नातागोता आदिका कारण अर्को उम्मेदवारलाई हाल्छन् नै । हालिराखेको पनि देखिन्छ । यो हिसावले हेर्दा गठबन्धनको झण्डै २ हजार मत मैले नतान्दा जित्न सक्ने अवस्था थिएन ।

तर, तपाईहरु जस्तो केही उम्मेदवारलाई पार्टीभित्रैबाट पनि हराउने खतरा थियो भनिन्थ्यो नि !

त्यो भनाइमात्र हो । अहिले दुईचार प्रतिशत भोट आफ्नै पार्टीको पनि आउँदैन भन्ने माइण्ड मेकअप गरेर चुनाव लड्नुपर्छ । त्यो एमालेको हकमा मात्र होइन, जुनसुकै पार्टीको हकमा पनि लागु हुन्छ । किनभने कति मानिस व्यक्तिगत कारणले पनि रिसाइरहेका हुन सक्छन् । यति सानो कुरामा पनि रिसाएका हुन्छन् कि कहिले नमस्कार फर्काएन भनेर, कहिले फोन त उठाउँदैन, के भोट हाल्नु समेत भन्छन् । ठुलो डिमान्ड नभए पनि मान्छे केमा व्यस्त हुन्छ भन्ने उसले सोच्दैन ।

धेरै ठाउँमा संस्थागत अन्तरघात भयो भनिन्छ, तपाईको हकमा भयो कि भएन ?

भएन । एकाध साथीहरुले मलाई मन नपराएको हुनसक्छ । म सबैको निम्ति योग्य र मन पराउने व्यक्ति होइन । म त्यो ठान्दिनँ पनि । म औसत मान्छे भएकाले मलाई समर्थन गर्ने पनि छन् र विरोध गर्ने पनि छन् ।

निर्वाचनपछि पहिलो पटक केन्द्रीय कार्यालयको बैठक बस्यो, निर्वाचनको कस्तो समीक्षा गरियो ?

केन्द्रीय कार्यालयको बैठकले मुलतः अन्य पार्टी कमिटीमा छलफल गर्ने एजेण्डा तय गर्ने हो । त्यसका साथै निर्वाचनको सामान्य समीक्षा गर्ने काम त हुने नै भयो । त्यसपछि नेकपा एमालेको आगामी बाटो के हो त भन्ने विषयमा लामो छलफल पनि गर्‍यौँ । त्यसमा सामान्य समझदारी के बनायौँ भने एमाले कस्तो परिस्थितिमा चुनाव लड्दै थियो ? पहिला परिस्थिति हेर्नुपर्‍यो । त्यसरी हेर्दा एमाले निकै प्रतिकुल परिस्थितिमा थियो । किनभने हाम्रोजस्तो मुलुकमा कसको सरकार छ भन्नेले पनि अर्थ राख्छ । सरकारका संयन्त्रहरु कसले चलाएको छ भन्ने कुराले निर्वाचनमा प्रभाव पार्छ ।

यसरी हेर्दा एमालेका विरुद्ध राज्यसंयन्त्र वा सरकार थियो । सुरक्षा, कर्मचारीमात्रै होइन, कतिपय स्थानमा त न्याय क्षेत्र पनि हाम्रो विरुद्धमै थियो ।

अर्को, नेपालमा दुईवटा प्रमुख प्रतिस्पर्धी पार्टी एमाले र कांग्रेसको बीचमा २०४८ सालदेखि आजसम्म भोटको अन्तर डेढ दुई लाख, डेढ दुई लाखको अन्तर छ । बढीमा ३ लाखभन्दा बढी कहिल्यै पनि गएको छैन । त्यसैले यी मुख्य प्रतिद्वन्द्वी दल हुन् । यी प्रतिस्पर्धी दलमा अरु तेस्रो, चौथो दल कता मिल्छ ? त्यसले सामान्यतया पल्ला भारी हुन्छ ।

जस्तै, २०७४ सालमा हामी र माओवादी भएपछि हाम्रो पल्ला भारी भयो र हामी धेरै माथि गयौँ । अहिले कांग्रेससँग त्यो पोल मिलेकाले स्वाभाविक रुपमा उहाँहरुको पल्ला भारी हुन्छ, त्यो हाम्रा निम्ति प्रतिकुल अवस्था आज थियो । यो प्रतिकुल अवस्थाका बीच एमालेले जुन परिणाम ल्यायौँ, यो कमजोर होइन । हामीले थुप्रै मिडिया र सरकारी संयन्त्रको अनुमानित रिपोर्ट हेरेका थियौं । गृहमन्त्रीले क्याविनेटमा पेस गरेको रिपोर्टमा पनि एमालेले २० सिटभन्दा बढी जित्दैन भन्ने थियो । समानुपातिकमा पनि कांग्रेसकै माथि देखाइरहेको थियो । तर आज हामी २० सिट जित्छ भनेर सारा सरकारी, गैरसरकारी, देशी र विदेशीले गरेको रिपोर्टलाई उल्ट्याउँदै ४४ सिटमा पुग्यौँ । त्यस हिसाबले हेर्ने हो भने यो उल्लेख्य बृद्धि हो । हाम्रो आँखाबाट हामीले प्रत्यक्षमा बाहिर भन्दा सय सिट भन्यौँ । त्यो त फेरि एमाले जस्तो एउटा राजनीतिक पार्टीले ५ सिट जित्छ भनेर मुसो तालले त बोल्दैन । एमालेले सिंहकै गर्जन गर्ने हो । त्यसो भएकाले हाम्रो आँखाले हामी ५० देखि ६० भनेका थियौँ । तर त्यो कुरा बाहिर भनेनौं । भन्न आवश्यक पनि थिएन । र कांग्रेस पनि लगभग लगभग त्यही रेन्जमा एक दुई सिट तलमाथि हुन्छ भन्ने आन्तरिक बुझाई थियो । तर हामीले अनुमान गरेका ५–७ सिट गुमायौँ । यी सिट हामीले जित्छौँ भनेर एक नम्बरमै राखेका सिटहरु गुमायौं । कहिलेकाहीँ चुनावमा अप्रत्यासित नतिजा पनि हुन्छ ।

यसको अर्थ ५०/६० सिटको अनुमान गरेका बेला ४४ सिटमा आएपछि हामी धेरै फेल खाएका छैनौँ । अर्को कुरा, हामीले समानुपातिकमा हामी नै फस्ट हुन्छौँ भनेका थियौं, त्यो भयौँ । कांग्रेसभन्दा दुई सिट भए पनि हाम्रै बढी आयो । समानुपातिकमा संघमा १ लाख ३० हजार कांग्रेसभन्दा बढी र प्रदेशमा २ लाख २५/३० बढी छौँ । मधेस प्रदेश बाहेक ६ वटै प्रदेशमा समानुपातिकमा ‘नम्बर वान’ छौँ । भनेपछि एमालेले यी व्यापक प्रतिकुलताका बीचमा पनि आफ्नो स्ट्रेन्थ गुमाएको छैन । बहुमत ल्याएन, जितेन त्यो बेग्लै कुरा हो ।

यसको अर्थ यो निर्वाचनमा एमालेले जित्यो भन्ने नै हो ?

यो निर्वाचनमा एमालेले हारेको जितेको भन्नुभन्दा पनि आफूलाई बचायो । आफूलाई कायम राख्न सफल भयो ।

गठबन्धन, सरकार, सरकारी संयन्त्र प्रतिकुल भयो भन्नुभयो, त्यो एकातिर ठिकै होला अर्कोतिर आफैभित्रको आन्तरिक कमजोरीले केही सिट गुमाइयो भन्ने होइन ?

छ । त्यस्ता केही ठाउँ पनि छन् । केही स्थानमा पार्टीका धेरै पुराना साथीहरु पनि पार्टीविरुद्ध बागी उठ्नुभयो । मलाई दुःख लाग्छ, ती साथीहरू पार्टीमा पचासौं वर्ष लगानी गरे । होला ! उहाँहरुले टिकट पनि पाउनुपर्थ्यो होला । तर पार्टीको निर्णय प्रक्रियाबाट त उहाँहरुले टिकट नपाएपछि बागी उठ्नुभयो । कतिपय स्थानमा बागी नभए पनि असहयोग भएका छन् । यो घटना त स्थानीय चुनावमा पनि थियो । त्यतिबेला हामीले यसलाई बाहिर ल्याएनौँ । किनभने आम चुनावमा जानु थियो ।

अबचाहिँ त्यस्ता मानिसहरूलाई कारबाही हुन्छ ?

अब छुट दिनु हुँदैन भन्ने हाम्रो प्रारम्भिक छलफल भएको छ । उम्मेदवार छनोट प्रक्रियामा गल्ती भएको छ भने रियलाइजेसन गर्छ, गर्नुपर्छ । तपाईको ठाउँमा मलाई टिकट दिएको पनि हुनसक्छ, मभन्दा तपाई लोकप्रिय हुन पनि सक्नुहुन्छ । त्यस हिसाबले एकाध ठाउँमा सही मूल्यांकन नभएको हुनसक्छ । तर पार्टी प्रणालीमा पार्टीले एउटा निकायमा अन्तिम फैसला गर्छ । त्यो फैसलामाथि चित्तबुझे पनि, नबुझे पनि फेरि अर्को मिटिङमा छलफल पो गर्ने हो नि पार्टी सिस्टम भनेको ! त्यसकारण यो कुरामा कहीँ तलमाथि भएको छ भने हामी हेर्छौँ । तर पार्टीको उम्मेदवारका विरुद्ध जानाजानी मानिसहरु मैदानमा निस्केका छन्, ती पार्टीका मानिस हुन सक्दैनन् । उनीहरुमाथि गम्भीर कारबाही हुन्छ, क्षम्य हुँदैन । त्यसले पार्टीलाई नोक्सान पनि हुँदैन ।

चुनावमा बागी उठ्ने असहयोग गर्नेको नाम संकलन भइरहेको ?

अब हुन्छ । तलबाट आउनुपर्छ । रिपोर्ट त तलैबाट आउनुपर्‍यो नि !

भीम रावल घनश्याम भुसालले टिकट नपाएको कुरा पुरानै भए पनि बहस जारी नै तपाईले यसबारेमा मुख खोल्नुभएको छैन नि ?

त्यो बोलिरहनुपर्ने कुरा होइन ।

पार्टीले गल्ती गर्यो भन्ने नेताहरु पनि छन् नि ?

मैले भीम रावलजीलाई चुनावमा टिकट दिनुपर्छ र स्थायी कमिटीमा ल्याउनुपर्छ भनेर पार्टी मिटिङमा बोलेको हो । अध्यक्षलाई पनि बारम्बार भनेको हो । तर एक हातले त ताली बज्दैन । त्यसमा भीम रावल कमरेडको पनि पोजेटिभ रेस्पोन्स हुनुपर्थ्यो, त्यो भएन होला जस्तो लाग्छ मलाई ।

घनश्याम कमरेडलाई उहाँले निर्णय गरेर फेसबुकमा स्ट्याटस लेखेपछि फोन गरेको थिएँ र भनेको थिएँ– तपाईले इतिहासमा ठुलो गल्ती गर्नुभयो, तपाईजस्तो राजनीतिक, वैचारिक नेताको यो घातक निर्णय हो ।

घनश्यामजीले टिकट पाउनुपर्छ भन्ने आम पंक्तिको जनमत छ । त्यो घनश्यामजीको पक्षमा लाग्नेको मात्रै छैन । घनश्यामजीलाई महाधिवेशनमा भोट नहाल्नेहरु र नेता नमान्नेहरुको पनि धारणा उहाँलाई इग्नोर होइन, टिकट दिनुपर्छ भन्ने नै छ । पार्टीभित्र त्यो जनमत छ तर यो कुरा उहाँले बुझ्न सक्नुभएन । राप्रपासँगको तालमेलमा उहाँकै क्षेत्र छोड्नुपर्ने परिस्थिति भयो होला । त्यसलाई उहाँले राजनीतिक सम्झौता गर्नुपर्दथ्यो ।

अथवा आफूलाई मन नपरेको व्यक्तिले टिकट पाउनुपर्ने भयो भने त्यहीँ ठाउँमा अर्को पार्टीसँग तालमेल गरेको पनि देखियो नि ?

ठिकै छ, त्यस्तै भएको छ भने पनि छलफल गर्न त सकिन्छ नि ! तर उहाँले पार्टी छोड्ने निर्णय गर्नुभयो । त्यसमा मैले सार्वजनिक टिप्पणी गर्नु सही हुँदैन । तर कहिलेकाहीँ उहाँले विश्लेषण एउटा र निर्णय अर्को गर्दिनुहुन्छ । जहाँ टेक्नुपर्ने हो, त्यहाँ टेक्नुहुन्न । आज पनि उहाँले गलत ठाउँमा टेक्नुभयो । माधव नेपालकै पार्टीमा जानुपर्ने थियो उहाँ, त्यही बेला गएको भए हुन्थ्यो नि त ! त्यो मौका किन गुमाउनुभयो ?

भेट गरेर फोटो हाल्दैमा गइसकेको भन्न पनि नमिल्ला नि ?

समर्थन त कलम र गठबन्धनको समर्थन लिनुभयो नि ! मैले त उहाँलाई तपाई माओवादीकै समर्थन लिएर चुनाव लड्ने हो भने हिजो माओवादीका बारेमा त्यत्रो ठुलो किताव लेखेको औचित्य के ? भनेर भनेँ पनि । उहाँ लेमेन त होइन, सैद्धान्तिक, वौद्धिक, वैचारिक मान्छे हो ।

भनेपछि उहाँ जहाँ जानुभयो, त्यो गलत गर्नुभयो ?

भयंकर गलत गर्नुभयो । यो प्रसंगमा भनौं– डा. बाबुराम भट्टराईले नयाँ शक्ति नामको पार्टी बनाउनुभयो । त्यो बेला ललितपुरको समिट होटलमा हामी कांग्रेस, एमाले र माओवादीका केही युवाहरुलाई सल्लाह गर्न बोलाउनुभयो । के गर्ने ? म नयाँ शक्ति पार्टी बनाउँदैछु, तपाईहरु पनि आउनुपर्‍यो भनेर । अब कांग्रेस, एमालेले हुँदैन, माओवादी हुँदैन, नयाँ शक्ति नै चाहिन्छ भन्नुभयो । त्यो बेला अरु थुप्रैले ‘हो, नयाँ शक्ति चाहिन्छ’ भनेर उकासे तर मैले तपाई गलत बाटोमा जाँदै हुनुहुन्छ, तपाईको पार्टी बन्दैन, कांग्रेस र एमालेको विकल्पमा अर्को शक्ति खडा गर्न सक्नुहुन्न दाजु भनेँ । यो काम नगर्नुुस्, तपाईलाई होला– प्रचण्ड गुटले उठ्न नदिएको होला, तर तपाई त्यो पार्टीमा एउटा सदस्य भएर बस्नुस् न, तपाईले बनाएको पार्टी हो । आज प्रचण्डलाई हाईहाई गर्नेले भोलि हाम्रो नेतृत्व गरिदिनुपर्‍यो बाबुरामजी भनेर तपाईसँग आउँछन् आउँछन् । तर तपाई निस्कने, वैद्य निस्कने, विप्लव, बादल निस्कने हो भने त प्रचण्डलाई झन् हाईसञ्चो हुनेभो नि भनेको थिएँ । जुन कुरा पछि माधव नेपाल फुट्ने बेलामा पनि उहाँलाई भनेको थिएँ ।

निर्वाचन परिणामबारे तपाईले जस्तो व्याख्या गरे पनि एमाले ८० सिटबाट घटेर आधामा आएको , यसले एमाले हारेको देखिन्छ नि ?

हिजो अर्थात्, २०७४ मा हामी माओवादीसहितको गठबन्धनमा थियौं । त्यसबेला ८० सिट प्रत्यक्षमा जित्यौँ, समानुपातिक गरेर १२१ जित्यौँ । माओवादीसहित साथ लिँदा १७४ जित्यौँ । हाम्रो गठबन्धन जितेको थियो त्यो बेला । आजको गठबन्धनलाई जस्तो निरासाजनक थिएन । १७४ भनेको झण्डै दुई तिहाइ नजिक थियो । आजको गठबन्धन हार्‍यो ।

आजको गठबन्धन चाहिँ हार्यो भन्ने विश्लेषण हो ?

हार्‍यो त । आजको मुख्य शक्ति भनेको कांग्रेस हो गठबन्धनको । आज कांग्रेस हिजोको एमालेको पोजिसनमा गयो त ? गएन । प्रत्यक्ष र समानुपातिक गरेर १२१ पुग्यो त ? उसको एलायन्स जोड्दा १७४ पुग्यो त ? १३६ मात्र पुग्यो । त्यसकारण २०७४ को गठबन्धनलाई जनताले अनुमोदन गरेको हो । यो गठबन्धन मुलुकका लागि आवश्यक छ भनेको हो । टिकाउन नसक्नु अलग्गै पाटो हो । तर जनताले त हामीलाई अनुमोदन गरेको हो नि ! आज कांग्रेस र माओवादीसहितको गठबन्धन बेठिक भनेर जनताले भन्यो । त्यसकारण निर्वाचनमा एमालेले आफूलाई बचायो, सत्ता गठबन्धनलाई पराजित गरायो । यदि जितेको भए, सरकार सजिलै बन्थ्यो, यस्तो दौडधुप गर्नैपर्ने थिएन ।

दौडधुपको कुरा गरिहाल्नुभयो, एमाले पनि सरकार बनाउने दौडधुपमा लागेको ?

हामी सरकार बनाउने दौडधुपमा छैनौँ, धैर्यतापूर्वक हेरिरहेका छौँ ।

अबको वर्ष एमाले सरकारमा जाँदैन ?

हामीले सरकार बनाउने कुरा पहिलो प्राथमिकतामा राखेका छैनौँ । किनभने अलग अलग पार्टी भए पनि गठबन्धन बनाएर चुनाव लडेकाले गठबन्धनतिरै सरकारको मुख फर्कियो संख्यात्मक हिसाबले पनि । १३८ नै नपुगे पनि १३६ पुुर्‍याएर नजिकनजिक त पुग्नुभयो नि । त्यसकारण एकपल्ट हेरौँ न उहाँहरुले पहल गर्नुहोस् भन्ने एमालेको भनाइ हो । यदि उहाँहरुको मिलेन भने एमालेको पालो आउँछ ।

तपाईहरु सुरुमै सरकार बनाउन पहल नगर्ने भनेको साथ दिने पार्टी नै नभएर हो ?

होइन । साथ दिने पार्टी पनि होलान् खोज्ने हो भने । जस्तो रवि लामिछानेजीको पार्टी, नागरिक उन्मुक्ति, सीके राउतको जनमत पार्टी । हामीले हात हाल्यौँ भने माओवादी पनि के हो–के हो हुन्छ । आज हात हालेका छैनौँ । हामीबाट गएको समाजवादी के सग्लै बस्छ त हामीले हात हाल्यौँ भने ?

फुटाइदिनुहुन्छ नेकपा एकीकृत समाजवादी ?

सग्लो बस्ला त ?

भनेको अर्थ माओवादी समाजवादी फुट्छ ?

सग्लो बस्दै बस्दैन । तर अहिले हामी हात हाल्दैनौँ । सकसक छैन त्यसमा । हामी आनन्दले बस्छौँ, केही संगठनहरु बिग्रेका छन्, त्यो बनाउँछौँ । एमालेको सवलीकरण र नवजागरण ‘प्रोजेक्ट नेक्स्ट’ भनिरहेका छौँ । हामीलाई दिएको सिम्पल म्यान्डेट पनि हो त्यो । हामीले पाएको म्याण्डेट तिमीहरुले अलि संगठन बनाउ र अर्को चुनावलाई तयारी गर भन्ने हो ।

तर कांग्रेस एमाले मिलेर पनि सरकार बन्छ कि भन्ने एउटा पाटो भने अर्को मध्यावधि गर्ने शर्तमा कांग्रेसलाई सघाउन सकिन्छ भन्ने चर्चा पनि भएका छन् नि ?

अहिले मध्यावधिको कहाँ कुरा हुन्छ ? भर्खर त चुनाव भएर सबै परिणाम नै आइसकेको छैन । दोस्रो कुरा, एमाले र कांग्रेसको सहकार्य हुनसक्छ । तर कुन अवस्थामा ? यदि यो संविधान खतरामा पर्‍यो, मुलुक र व्यवस्था खतरामा पर्‍यो भने मात्रै समीकरण बन्छ ।

त्यो तपाईहरुबाट खतरा भयो भनेर यो गठबन्धन बनेको होइन ?

त्यो हावा कुरा हो, त्यतातिर जानु आवश्यक छैन । त्यसको लजिक नै छैन । लजिक भएको भए त उहाँहरुको १७४ पुग्थ्यो नि त ! हामी प्रतिगामी भएको भए, संविधान र व्यवस्था खाएको भए त व्यवस्था जोगाउनतिर जान्थ्यो नि १७४ सिट । त्यसकारण नेपालको इतिहास हेर्दा पनि वामपन्थीहरुको मुख्य शक्ति भनेको एमाले हो भने लिवरल डेमोक्रेटिकहरुको मुख्य शक्ति कांग्रेस हो । यो दुईवटाको बिचमा मिलाप हुनसक्छ ? हिजो वीपीले त मिलिँदैन भन्नुभयो, पुष्पलालले मिल्नुपर्छ भन्दा पनि उहाँले मान्नुभएन । तर २०४६ सालमा नेकपा एमालेको चौथो महाधिवेशनबाट नयाँ नीति ल्यायो, त्यो नीतिबाट गणेशमानजी, किसुनजीसँग हामीले छलफल गर्‍यौँ, तब परिस्थिति बदलिएको हो । त्यसपछि कांग्रेस र कम्युनिस्टको सहकार्य सुरु भएको हो । सहकार्य त्यो बेला हुन्छ जतिबेला व्यवस्थाहरु परिवर्तन वा जोगाउनुपर्ने हुन्छ । जस्तो २०४६ मा सहकार्य गर्‍यौँ, २०६२/२०६३ मा गर्‍यौँ र संविधान निर्माणका क्रममा । यी तीन वटा ऐतिहासिक कालखण्डमा कांग्रेस र हाम्रो सहकार्य भयो ।

सरकार बनाउने कुरामा सहकार्यको कुरा गरेको हो मैले ?

यी माइनर कुरा हुन् । अहिले त कांग्रेस र एमाले बीचमा सहकार्य भन्दा पनि प्रतिस्पर्धा हो । प्रतिस्पर्धा गर्ने दुई पार्टी मिलेर कसका विरुद्ध सरकार बनाउने ? किन बनाउने ? त्यो सरकारले के गर्छ ?

देश जनताका लागि काम गर्दा हुँदैन ?

ठिक छ, कांग्रेसले आफ्नो गठबन्धनको बनाओस् । त्यसैले कांग्रेस र एमाले अहिले नै मिलेर सरकार बन्छ बन्दैन म जान्दिँन तर मेरो मान्यता नबनाउँ भन्ने हो । किनभने कांग्रेस र एमाले भएपछि राज्यसंयन्त्र एकलौटी हुन्छ । अनि त्यसले ज्यादती गर्न थाल्छ । त्यसलाई ‘चेक एण्ड ब्यालेन्स’ कसले गर्छ ? माओवादी ३२ सिटले ? गर्दैन । आज त प्रतिपक्ष पनि बलियो हुनुपर्छ । कि हामी सरकार बनाउँछौँ, कांग्रेस प्रतिपक्षमा बसोस्, कांग्रेसको नेतृत्वमा सरकार बने हामी प्रतिपक्षमा बस्छौँ ।

सधैँ र्याईर्याई गर्ने तर नबज्ने वाम एकताको कुरा पनि तपाईहरुले चुनाव अघि वामहरुको मोर्चा बनाएर जानुपर्छ पनि भन्नुभएको थियो, अहिले के अवस्था ?

मारक्र्सवादी कम्युनिस्टहरुले आत्मगत र वस्तुगत अवस्था भन्छौँ । चुनावअघि वामहरुबीच तालमेल गरौँ भन्ने कमजोर आत्मगत अवस्था थियो र बस्तुगत अवस्था पनि प्रतिकुल थियो । आज वामपन्थीहरु एकातिर उभिनुपर्छ भन्ने आत्मगत अवस्था प्रवल भएको छ । र, बस्तुगत अवस्था पनि अलिकति बदलिएको छ । किनकि २०७४ मा वामपन्थीहरुलाई अनुमोदन गर्‍यो भनेपछि यो देशले दुईवटा राजनीतिक पोल नै खोजिरहेको छ । त्यसमा एउटा लेफ्ट डेमोक्रेटहरु, सोसलिस्ट वा कम्युनिस्टहरु, अर्को लिवरल डेमोक्र्याटहरु । जो कांग्रेस हो, त्यसको नेतृत्व । लेफ्टहरुको नेतृत्व एमाले हो । दुई वटा पोल नै खोजिएको छ यहाँ । अहिले त नेपालमा जे भइरहेको छ, नहुनुपर्ने काम भइरहेको छ । माओवादी र कांग्रेसको एलाइन्स भएर देश बन्छ त ? घोषणपत्र हेर्नु त एउटाको के छ, अर्कोको के छ ? भोलि कुन घोषणपत्रको आधारमा बजेट बन्छ ? व्यापारी ल्याएर सेटिङ गर्ने हो भने त घोषणा पत्र नै चाहिएन, त्यसरी जस्तो बजेट बनाए पनि भयो । साँच्चै नीतिका आधारमा मुलुक चलाउने हो भने त अब कांग्रेस र कम्युनिस्ट एजेण्डामा फरक हुने हो । ट्याक्स प्रणाली, सोसल सेक्युरिटी, वैदेशिक ऋणका सम्वन्धमा हो । आत्मनिर्भर अर्थतन्त्रमा हो, शिक्षा, स्वास्थ्य, रोजगारीमा छुट्टिने हो । तर प्रचण्डजी र देउवाजीको सोसल सेक्युरिटी एजेण्डा एउटै हो ? ट्याक्स सिस्टम एउटै हो ? त्यो हो भने पार्टी किन अलग ? प्रचण्डजीले मिसाए भइगो । जुन बेला छुट्टिनुपर्ने हो, त्यो बेला उहाँहरु मिलिरहनुभएको छ ।

वाम एकता हुन्छ त्यसो भए ?

वाम एकता हिजोको मोडलबाट नहुन सक्छ । तर वामपन्थीहरुको पोलमा एमाले बलियो पार्टीका रुपमा खडा हुन्छ । त्यो माओवादी, समाजवादीहरुलाई एकीकरण गरेर हुन्छ कि उनीहरुको भाँडोलाई रित्याएर हुन्छ, त्यो बाटो अलग्गै हुन्छ ।

यसअघि एमालेमा वामपन्थी एकता गरौँ भन्दा पार्टीमा कारबाही हुने अवस्था थियो, अब त्यो अवस्था हट्यो ?

म त्यो तहमा त भन्दिनँ । तर प्रचण्डजी र माधवजी श्रृप व्यक्तिको रुपमा मात्रै पनि रहनसक्नुहुन्छ । हिजो पनि कतिपय वामपन्थी नेताहरु व्यक्तिका रुपमा रहेका छन् नि । एमालेले तान्न जानै परेन । कालिकोट, जुम्ला, दैलेखतिर २०४८ मा नेमकिपा थिएन र ? एमाले तान्न गएको त होइन, स्वतः उहाँहरु एमालेमा आउनुभएको हो । पछि नारायणमान विजुक्छेले यो एमालेले हाम्रा मान्छे सबै लान्छ, अनि यो सँग एकता हुँदैन पनि भन्नुभयो नि ! डिल्ली महत, विनोद शाह तानेपछि उहाँले त्यसै भन्नुभयो ।

यसको मतलब प्रचण्ड माधव नेपाललाई पार्टीमा भित्र्याइँदैन, अरु बाँकीलाई मात्रै ?

त्यो निष्कर्ष पनि होइन मेरो । उहाँहरुसहितको पनि एकता हुनसक्छ । तर उहाँहरुले त्यो तदारुकता देखाउनुभएन भने व्यक्तिमा सीमित भएर एमालेले अर्को बाटो पनि लिनसक्छ ।

स्वतन्त्र रास्वपा लगायतले अहिले ल्याएको भोट हेर्दा अर्को चुनावसम्म कांग्रेस, एमाले, माओवादी लालटिन बालेर खोज्नुपर्ने होइन भन्ने पनि प्रश्न उठ्न थालेको , यसमा तपाईको धारणा ?

कुनै पनि पार्टीको भविष्यको आकलन गरेर ग्यारेन्टी नै त गर्न सकिँदैन । कुनैबेला हामीभन्दा मसाल नै बलियो पनि थियो । आज मसाल १ सिटमा पुगेको छ । तर पनि नयाँ पार्टीबाट उहाँहरु आउनुभएको छ, त्यो लोकतन्त्रको, व्यवस्थाको सुन्दर पक्षकै रुपमा म लिन्छु । तर कसरी आए ? भन्ने हामीले समीक्षा गर्नुपर्छ । त्यो हेर्दा सहरको बौद्धिक समुदाय र मध्यम वर्ग जो राजनीति र जनमतमा निर्णायक हुन्छ, त्यो समुदाय अहिलेका संस्थापन शक्तिसँग सन्तुष्ट छैनन् भन्ने कुराको संकेत हो ।

असन्तुष्टिमात्रै हो ? देशीविदेशी प्रतिक्रियावादी अन्य दायाँबायाँ होइन ?

कहिलेकाहीँ हाम्रोमा दलहरुको उत्पति विदेशी मलले पनि गर्छ, युरिया मल हुन्छ नै, नहुने त होइन । आयातित मल छन् । कतिपय आयातित मलबाट बनेका पार्टीहरू क्रमशः सुक्दै गएका पनि छन् । उनीहरुले विश्वसनीयता गुमाउँदै गएका छन् । नेपाल एउटा प्रयोग गर्ने थलो पनि भइरहेको छ । त्यसकारण अहिले मध्यम वर्गमा जुन छाल उत्पन्न भइरहेको छ, त्यो मध्यम वर्गमा उत्पन्न भइरहेको छालको करेन्ट वा गतिलाई एमाले र कांग्रेसले छाम्न सकेनन् । जसले गर्दा त्यो छाल वा करेन्ट पोखिएर अन्त गइरहेको छ । त्यसैले हरेक दल सच्चिन जरुरी छ । हामी ७० वर्षका भयौँ, पार्टी बनाएको ८० वर्ष भयो, यति वटा भोटा फटायौँ भन्ने आधारमा मात्रै मानिसले स्वीकार्दैनन् ।

प्रतिक्रिया दिनुहोस्: