Loktantra Khabar National Weekly
Ad

सरकार गठनका लागि रवि लामिछानेको पार्टी बन्न सक्छ निर्णायक कस्तो होला नयाँ संसद्को स्वरूप ?

लोकतन्त्र खबर
९ मंसिर २०७९

आम निर्वाचन २०७९ को मतगणना जारी छ । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये करिब दुई तिहाइ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ पनि धमाधम मतगणना भइरहेको छ । हालसम्म प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दलका रूपमा देखा परेको छ भने समानुपातिकतर्फ एमालेले अग्रता लिएको अवस्था छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अहिलेसम्म ४० सिटमा जित हासिल गरेको छ । यस्तै, १३ सिटमा कांग्रेसले अग्रता लिएको छ । यसैगरी ३२ सिटमा एमालेले जित हासिल गरेको छ भने १४ सिटमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले १२ सिटमा प्रत्यक्षतर्फ जितेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ ।

 

नेकपा एकीकृत समाजवादीले १० सिटमा जित हासिल गरेको छ भने उसको अब कतै पनि अग्रता देखिएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जित हासिल गर्दा एक सिटमा अग्रता लिइरहेको छ ।

राप्रपाले ५ सिटमा जित हासिल गर्दा अन्य दुई सिटमा अग्रता कायम राखेको छ । यता, लोसपाले २ सिट, राष्ट्रिय जनमोर्चा पार्टीले एक सिट, नेमकिपाले एक सिट, जनमत पार्टीले एक सिट, जसपाले दुई सिट जितेका छन् ।

समानुपातिकतर्फ यस्तो अवस्था

हालसम्म समानुपातिकतर्फ कुल ३९ लाख ५४ हजार ७७२ मत गणना भएको छ जसमध्ये सर्वाधिक १० लाख ५५ हजार ७५० मत पाएर एमाले पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसले १० लाख १० हजार ७७१ मत पाएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ९६ हजार ५३५ मत पाएको छ । चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ६६ हजार २२९, पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ०६४ मत पाएको छ भने छैटौं स्थानमा रहेको जसपा नेपालले १ लाख ३१ हजार २२५ मत पाएको छ ।

अहिलेसम्मको गणनाकै आधारमा अन्तिमसम्म मतको रुझान कायम रहने हो भने यिनै ६ दलले मात्र ३ प्रतिशत थ्रेस होल्ड कटाउने देखिन्छ । माथि उल्लेख गरिएको मतका आधारमा समानुपातिक तर्फको ११० सिट बाँडफाँड गर्दा एमालेले सबैभन्दा धेरै र सबैभन्दा कम जसपा नेपालले पाउने देखिन्छ ।

अहिलेकै अनुपात फेरबदल नभएको अवस्थामा एमालेले समानुपातिकबाट ३४ सिट पाउने देखिन्छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले ३२ सिट पाउने देखिन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिट, माओवादी केन्द्रले १५ सिट, राप्रपाले ८ देखि ९ सिट र जसपा नेपालले ४ सिट पाउने देखिन्छ ।

यस्तो हुनेछ संसद्को सम्भावित स्वरूप

प्रत्यक्षतर्फ अहिलेसम्म जितेको र अग्रता लिएको स्थानमा समेत परिणाम आफ्नै पक्षमा आएको अवस्थामा समानुपातिकतर्फको सम्भावित सिटको समेत आधारमा नेपाली कांग्रेस ८५ सिटको हाराहारीमा पुग्दै ठुलो दल बन्ने देखिन्छ ।

यस्तै, एमालेले प्रत्यक्षतर्फ अहिलेसम्म जितेको र अग्रता लिएको स्थानको परिणामसमेत आफ्नो पक्षमा पार्न सकेको खण्डमा समानुपातिकतर्फको सम्भावित सिटको आधारमा संसद्को दोस्रो ठुलो दलका रूपमा ८० सिटको हाराहारीमा उपस्थिति जनाउने देखिन्छ ।

यस्तै माओवादी केन्द्र ३३ सिटको हाराहारीमा रहेर तेस्रो शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी २४ सिटको हाराहारीमा रहेर चौथो शक्तिका रूपमा स्थापित हुने देखिन्छ ।

यसैगरी राप्रपा प्रत्यक्ष र समानुपातिक गरी १५ सिटको हाराहारीमा र जसपाले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएको अवस्थामा कम्तीमा ६ सिटसहितको उपस्थिति जनाउने देखिन्छ । नेकपा एकीकृत समाजवादी भने अहिलेसम्मको मत अनुपातका आधारमा समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन सक्ने अवस्थामा देखिएको छैन । यस्तै लोसपा नेपाल पनि समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन सक्ने अवस्थामा देखिएको छैन ।

यो अवस्थामा अहिले सत्ता गठबन्धनमा रहेका दलहरू सरकार गठनका लागि पनि एकजुट भएको अवस्थामा कांग्रेसको ८५, नेकपा माओवादी केन्द्रको ३३, नेकपा एकीकृत समाजवादीको १०, लोसपाको २ सिट, राष्ट्रिय जनमोर्चा पार्टीको एक सिट गरी जम्मा १३१ सिट मात्र पुग्छ । प्रतिनिधिसभामा प्रस्ट बहुमतका लागि कम्तीमा १३८ सिट आवश्यक हुन्छ । यो अवस्थामा बहुमत जुटाउन कांग्रेस नेतृत्वको गठबन्धनले केही स्वतन्त्रसहित साना दललाई साथ लिनुपर्ने वा रवि लामिछाने नेतृत्वको दलको समर्थन लिनुपर्ने अवस्था आउन सक्छ ।

अर्कोतिर एमालेसँग प्रत्यक्ष र समानुपातिक गरी ८०, एमालेसँगै कतिपय सिटमा तालमेल गरेको राप्रपाको १५, जसपाको ६ देखि ८ सिटसम्म प्राप्त हुँदा पनि १०३ देखि १०३ सिट पुग्ने देखिन्छ ।

एमालेले माओवादी केन्द्र र २४ सिट हाराहारीमा उपस्थिति जनाउने रवि लामिछाने नेतृत्वको पार्टीको साथ लिएमा भने सरकार गठनका लागि दाबी गर्न सक्ने आधार देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: