लोकतन्त्र समाचारदाता–
सर्लाही, साउन १८ । उखु किसानहरुले आफूले पाउनुपर्ने अनुदान रकम तत्काल उपलब्ध गराउन माग गर्दै उखु उत्पादक संघ सर्लाहीका पदाहधिकारी सहित जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंह र सर्लाहीका ३ वटा पालिकाका मेयर गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा र रामनगर गाँउपालिकाका अध्यक्ष राजाबाबु यादवको नेतृत्वमा आइतवार मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, काठमाण्डौलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल उखु उत्पादक महासंघको साउन १२ गते हरिवनमा सम्पन्न बैठकले लिएको निर्णय अनुसार संघले उक्त ज्ञापन पत्र बुझाएको हो ।
संघका अनुसार आर्थिक वर्ष २०८१÷८२ को उखुको प्रति क्विन्टल ७० रुपैयाँका दरले हुने करिब १ अर्ब ६० करोड रुपैयाँ अनुदान रकम सरकारले हालसम्म नदिएको र आगामी बजेटमा पनि यसलाई सम्बोधन नगरेको गुनासो गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार उखु औद्योगिक बाली भएकाले लागत बढी र भुक्तानी पाउन ढिलो हुने भएकाले किसानहरू आर्थिक संकटमा परेका छन् । सरकारले नै मूल्य तोकेर पनि अनुदानको रकम समयमा नदिँदा किसानमा निराशा र आक्रोश बढेको छ । संघले तत्काल अनुदान रकम उपलब्ध गराउन र आर्थिक वर्ष २०८२÷८३ को उखु मूल्य निर्धारण र त्रिपक्षीय वार्ता (सरकार, उद्योगी र किसान) बाट गर्न आग्रह गरेको जनाएको छ ।
उखु किसानको मागहरू सरकारले समयमै सम्बोधन नगरेको खण्डमा चरणबद्ध संघर्ष कार्यक्रम सञ्चालन गरिने चेतावनी उखु किसान संघले दिएको छ । पहिलो चरणमा साउन २० गते चिनी उद्योगको गेटअगाडि टायर बालेर विरोध प्रदर्शन गर्ने र माग सम्बोधन नभएमा भदौ ८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम उखु किसानहरुले सार्वजनिक गरेको छ ।

