Loktantra Khabar National Weekly
Ad

मधेशीहरु भ्रष्टाचार, कमिसनखोरी र प्रहरी दमन विरुद्ध आन्दोलन गर्नेछनः अशोक यादव

लोकतन्त्र खबर
१९ श्रावण २०८२

मनोज यादव–
सर्लाही, साउन १८ । जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले मधेसका जनताहरु अब भ्रष्टाचार, कमिसनखोरी, प्रहरी दमन र बेतिथीको बिरुद्धमा अझ सशक्त भएर लाग्ने र आन्दोलन गर्ने बताएका छन् ।

 

उनले आफूमाथि लगाइएका मुद्दाहरु झुठो भएको दाबी गरेका छन् । आइतवार, सर्लाहीको कबिलासी नगरपालिका वडा नं. १०, सलेमपुर स्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भनें, “मधेसका जनताहरुले अब भ्रष्टाचार र कमिसनखोरीको विरुद्धमा अझ बढी आवाज उठाउने छन् ।

 

“ अशोक यादव विरुद्ध सर्लाही प्रहरीले प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्कालाई फोन मार्फत गालीगलौच गरेको आरोप लगाएको छ । उक्त कारण सर्लाही जिल्ला अदालतमा उनी विरुद्ध आपराधिक उपद्रोको मुद्दा दायर भएको हो ।

 

“मैले भ्रष्टाचार र कमिसनखोरीको बिरुद्धमा आवाज उठाउँदा एसपी खडकाले मलाई गाली गरेपछि,त्यस्तो अवस्थामा म बाट पनि केही अपशब्द निस्कन गएको थियो तर एकलौटी रुपमा म माथि मात्र झुठा मुद्दा लगाएर प्रहरीले मलाई डराउन र दबाउन खोजिरहेको नेता यादवले भने ।

 

पत्रकार सम्मेलनमा उनले डिआइजी, एसपी, डिएसपी र इन्पेक्टरहरुको आलोचना गर्दै भने, “यी अधिकारीहरुले आफ्ना निजी घुमुवा राखेर सिमानाकामा तस्करी गर्ने ठूला तस्करहरुलाई कमिसन लिएर संरक्षण गर्ने काम गरिरहेका छन् । जबकि, सर्वसाधारण जनतालाई सानोतिनो घरायसी सरसामान ल्याउँदा पनि दुःख दिने काम भइरहेको छ ।“

 

यादवले यस विषयमा एसपीसँग भएको फोनवार्ताको फरेन्सिक जाँच गर्नुपर्ने माग पनि गरे । उनले पत्रकार सम्मेलनमा थप भने, “मैले फरेन्सिक जाँचको माग गरेको छु, ताकि घटनाको सत्यतथ्य बाहिर आउन सकियोस् ।“

 

सोही पत्रकार सम्मेलन मार्फत उनले पार्टीले साउन २० गते मंगलबार दिउँसो ३ बजे विशाल विरोध रैली, साउन २१ गते बुधवार बेलुका ७ बजे मसाल जुलुस र साउन २२ गते बिहीबार देखि सर्लाही जिल्लाभर अनिश्चितकालीन आम हड्ताल र यातायात बन्दको घोषणा गरेको जानकारी गराएका छन् ।

 

विरोधको सबै कार्यक्रम शान्तिपूर्ण तरिकाले सञ्चालन हुने उनले बताएका छन् । यादवले मधेसका जनताहरुलाई भ्रष्टाचार, कमिसनखोरी, प्रहरी दमन र बेतिथी बिरुद्धको लडाइँमा एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: